सुमन सुनार, बुर्तिबाङ २०७६ जेठ २ । ढोरपाटन नगरपालिकामा चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ९ ओटै वडामा १ करोड ६० लाख २४ हजार ४ सय रुपैयाँ दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयका सह–लेखापाल नवराज खड्काका अनुसार वडा नं. १ मा ३ लाख ८ सय रुपैयाँ, वडा नं. २ मा १५ लाख ४९ हजार २ सय रुपैयाँ, वडा नं. ३ मा १७ लाख ८८ हजार ४ सय रुपैयाँ, वडा नं. ४ मा २७ लाख १५ हजार २ सय, वडा नं. ५ मा १८ लाख ९४ हजार २ सय रुपैयाँ वितरण गरिएको छ ।
त्यसैगरी वडा नं. ६ मा २० लाख २७ हजार २ सय रुपैयाँ, वडा नं. ७ मा १४ लाख ४१ हजार ६ सय रुपैयाँ, वडा नं. ८ मा २५ लाख ७७ हजार २ सय रुपैयाँ र वडा नं. ९ मा १२ लाख ७३ हजार २ सय रुपैयाँ वितरण गरिएको सह–लेखापाल खड्काले बताए ।
ज्येष्ठ नागरिक अन्यलाई मासिक रु. २ हजार, जेष्ठ नागरिक दलितलाई मासिक रु. १ हजार, ७० वर्ष नाघेका जेष्ठ नागरिक दलितलाई मासिक रु. २ हजार, एकल महिलालाई मासिक रु १ हजार, अति अशक्त अपाङ्गता भएका नागरिकलाई मासिक रु. ६ सय, पूर्ण अशक्त अपाङ्गता भएका नागरिकलाई मासिक रु २ हजार, विधुवालाई मासिक रु. १ हजार र ५ वर्ष मुनिका दलित बालबालिकालाई मासिक रु ४ सयका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सह–लेखापाल खड्काको भनाई छ ।
सामाजिक सुरक्षा भत्ता वडा नं. ४ र ८ मा वडा सचिव विराज विश्वकर्मा, वडा नं. ५, ६, ७ र ९ मा वडा सचिव थम प्रकाश घर्ति मगरले गाउँ–गाउँमा पुगेर वितरण गर्नुभएको थियो । यस्तै वडा नं. १, २ र ३ मा ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयका कार्यालय सहायक चुडामणी भुषालले वितरण गरेका थिए ।
ढोरपाटन नगरपालिका अन्तर्गत वडा नं. १ मा २ सय ६ जना, वडा नं. २ मा ३ सय ३१ जना , वडा नं. ३ मा ४ सय ४२ जना, वडा नं. ४ मा ७ सय जना, वडा नं. ५ मा ४ सय ७० जना, वडा नं. ६ मा ५ सय ५६ जना, वडा नं. ७ मा ३ सय १३ जना, वडा नं. ८ मा ९ सय ५३ जना र वडा नं. ९ मा ३ सय ७९ जना गरी ४ हजार ३ सय ५० जना यस आर्थिक वर्षको दोस्रो चौमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु रहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।