Sorry, that menu does not exist.
 

ढोरबराह मन्दिर निर्माण तथा तटबन्धन निर्माणमा लाखौँ भ्रष्टाचारको आरोप !
राष्ट्रिय जनमोर्चाव्दारा ढोरपाटन नगरपालिकामा भएको अनियमितता बारे २७ बुँदे आलोचना !

बुर्तिबाङ २०७६ जेठ ५ । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर कमिटिव्दारा आज एक विज्ञप्ति जारी गर्दै, ढोरपाटन नगरपालिका, स्थानीय सरकार सञ्चालन ऐन, नियम विपरीत कामहरु गर्दै, आर्थिक अनियमितता गरेको आरोप लगाएको छ ।

नेपालको नयाँ संविधान अनुसार गठन भएको स्थानीय तह, ढोरपाटन नगरपालिकाले स्थानीय तह सञ्चालन ऐन, नियम विपरीत क्षेत्राधिकार मिचेर, नगर कार्यापालिका र नगर प्रमुखले आफुखुसी नियम विपरीतका कामहरु सञ्चालन गर्दै आएको प्रति जनतालाई सूसुचित गर्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको पत्रकार भेटघाट कार्यक्रममा बताएको हो ।

विज्ञप्तिमा, स्थानीय सरकार गठनपछि ढोरपाटन नगरवासीले स्थानीय विकास र जनताको गास, बास, कपास र जनजीविकाको पक्षमा निकै धेरै आशा र अपेक्षा गरेका थिए । तर ढोरपाटन नगरपालिका विधिको शासनमा नचली एकलौटी, मनोमानी तथा विधि र कानुन विपरीत चलिरहँदा, आज चरम अनियमितता र भ्रष्टाचार बढिरहेको उल्लेख गरेको छ । नगरपालिकाका गलत काम र गतिविधिका विरुद्धमा राष्ट्रिय जनमोर्चाले विगतदेखि नै आवाज उठाउँदै आएको तथा, गतवर्ष पनि नगरपालिकाका गलत गतिविधि र क्रियाकलाप विरुद्ध प्रेस विज्ञप्ती जारी गरि विरोध गरेको भन्दै, प्रेस विज्ञप्ति मार्फत विधिको शासन स्थापना गरी सच्चिनको लागि अनुरोध गरेको उल्लेख छ ।

विभिन्न २७ बुँदामा नगरपालिकाले गरेका गलत कामहरु र त्यसबाट भए गरेका अनियमितताका विषयमा विरोध स्वरुप राष्ट्रिय जनमोर्चाका सचिव तुल्सीराम खरेलव्दारा हस्ताक्षरित विज्ञप्ति पत्रकारहरुका बीच सार्वजनिक गरिएको छ ।

विज्ञप्तिमा, नगरपालिका स्थानीय सरकार संचालन ऐन २०७४ तथा प्रचलित ऐन, कानुन र नीति नियम विपरित नगरपालिका भित्र वडाअध्यक्षको अधिकारलाई समेत हस्तक्षेप गर्ने गरेको, नगर प्रमुखले आफूखुसी आफू निकट राजनीतिक दलका व्यक्ति र आसेपासेहरुलाई समेटी एकलौटी ढंगबाट तोक आदेशमा विभिन्न विकास निमार्ण योजनामा उपभोक्ता समिति गठन गर्दै आएको, नगरपालिका अन्तरगतका विकास निमार्णका कार्यहरु अलपत्र पारि नगरकार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले आफूखुसी विभिन्न मेला, महोत्सव , उत्सव र अन्य कार्यक्रमहरुमा नगरपालिकाको रकम अनियमित रुपमा प्रचलित कानुन विपरीत खर्च गर्ने गरेको, बुर्तिबाङमा बसपार्कको लागि जग्गा खरिद गर्दा जग्गाधनीलाई भुक्तानी गरेको जग्गाको वास्तविक मूल्यभन्दा १ करोडबढी मूल्यको कागजपत्र मिलान गरी अनियमितता गरेको आरोप लगाइएको छ ।

यस्तै, ढोरपाटन नगरपालिका वडा नं. ९ को ढोरबराह मन्दिर निमार्ण तथा तटबन्धका लागि बिनियोजित ९० लाखमा उक्त बजेट अनुसार काम नगरी ५० लाख भन्दा बढी रकम काम सम्पन्न भएको भनी कागजपत्र मिलाई गरेको, गत वर्ष बर्षायाममा आएको अविरल वर्षाका कारण बुर्तिबाङ बजारको बतासेखोलाले पुराएको बाढीमा देब चोकदेखि हस्पिटल लाइनसम्म डोजर लगाएको भनी २२ लाखको विल नगरपालिकामा आएपछि नगरपालिका भित्रै उक्त कार्यको आलोचना भएपछि उक्त २२ लाखको विललाई अन्य ठाउँमा पनि बाटो सफा गरेको विल बनाई नियम विपरीत रकम भुक्तानी गरिएको । साथै सोही बतासेखोलाको तटबन्धको नाममा कच्ची ग्याबिन लगाएको मात्र ६५ लाख रुपैयाँ रकम हिनामिना भएको विज्ञप्ति मार्फत विारेध जनाइएको छ ।

यसैबीच नगरपालिकाले शिक्षा ऐन र प्रचालित कानुन विपरीत नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको अधिकारलाई समेत ठाडो हस्तक्षेप गरेको, उत्तर गंगा मा.वि.मा परेको राष्ट्रिय पुनरनिर्माण प्राधिकरणको ४ कोठे भवन निर्माण योजनामा नियमानुसार टेण्डर गरी विधिवत रुपमा निर्माण समिति, सामग्री खरिद समिति, अनुगमन समिति गठन गरी योजनाले तोकेको मापदण्ड अनुसार निमार्ण कार्य गरिनु पर्नेमा त्यो नगरि नियमविपरित निर्माण कार्यमा प्रभाव पर्ने गरि कागजी प्रक्रिया मिलान गर्न नगरपालिका स्वयं संलग्न भएको, उत्तरगंगा मा.वि.मै बन्ने भनिएको मिनी कवड हल निर्माणका लागि जिल्ला खेलकुद विकास समिति बागलुङ मार्फत प्रदेश सरकारबाट विनियोजित २० लाख रुपैयाँ योजनाको शीर्षक परिवर्तन गरि नगर प्रमुखबाट आफू र आफ्नो पार्टी निकटका व्यक्तिलाई ठेक्कापट्टा गराई रकमको दुरुपयोग गरेको आरोप समेत लगाइएको छ ।

यस्तै नगरपालिकाबाट वितरण हुने दैवी प्रकोप तथा विपद् व्यवस्थापन कोषको वजेट आवश्यक मापदण्ड बनाई विपद् व्यवस्थापन कोषबाट राहत रकम वितरण गर्नुपर्नेमा नगर प्रमुखले सस्तो लोकप्रियताका लागि आफूखुसी आफ्नै आदेशमा रकम वितरण गरेको, नगर प्रमुखले सस्तो लोकप्रियताका लागि ६५ ओटा विद्यालयमा आफ्नो निजी खर्चबाट शिक्षक नियुक्ति गरिदिएको र ४५० दलित घरधुरीमा टिनको छानोले घर छाईदिएको भनी आफू निकट संचार माध्यमबाट निराधार समाचार प्रसारण गरि प्रचारबाजी गर्नु निराधार कुरा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा, नगरपालिकाको टिम विभिन्न कार्यक्रममा जाँदा र अन्य निजी कामकाजमा भएका खर्चको समेत विल भर्पाई मिलान गरि नगरपालिकाको रकम चरम दुरुपयोग भएको, नगर प्रमुखले राज्यको सेवा सुविधा नलिने प्रचारबाजी गर्दे गर्दा, आफैले निजी अंग रक्षक, नगरप्रहरी र अन्य कर्मचारीहरु आफू खुसी नियुक्ति गरी नगरपालिकाको मासिक लाखौं रकम दुरुपयोग भएको उल्लेख छ ।

यता यस क्षेत्रकै एकमात्र उच्च शिक्षा प्रदान गर्ने निसीभुजी जनता क्याम्पसको आर्थिक अवस्था लथालिङ्ग भई शैक्षिक व्यवस्थापनमा समस्या पर्दा समेत, स्थानीय सरकारले यसको उचित व्यवस्थापनमा कुनै चासो नदिएको तथा सांसद् क्षेत्र विकास कोषबाट क्याम्पसको लागि विनियोजित बजेट ४० लाख रुपैयाँ खानेपानी योजनामा रकमान्तर गरी पहिलाको बजेटबाट सम्पन्न भएको खानेपानीको कामलाई यसै रकमबाट सम्पन्न भएको भनी संझौता भएको पन्ध्र दिन नबित्दै ९० प्रतिशत काम सम्पन्न भयो भन्नु आफैमा अनियमितताको उदाहरण पेश गरेको भन्दै उक्त कार्यत्रको विज्ञप्ति मार्फत, विरोध गरिएको छ ।

यस्तै विज्ञप्तिमा नयाँ शहर विकास आयोजना अन्तरगत बुर्तिबाङलाई नमुना शहर बनाउनका लागि संचालित बुर्तिबाङ नगर विकास समितिका काम, कर्तव्य र अधिकारमाथि नगरपालिकाले ठाडो हस्तक्षेप गरी योजना अलपत्र पारेको तथा चालु आर्थिक वर्षको ११ करोडभन्दा बढी रकम फ्रिज गराई योजनाहरु अलपत्र पारेको आरोप छ ।

नगरपालिका स्थापना भएको दुई वर्ष विति सक्दा समेत, स्थानीय सरकार संस्थागत हुन नसक्नु, विद्युत, खानेपानीको चरम समस्या आदि हुँदा समेत नगरपालिकाले ध्यान दिन नसकेको नगरसभामा वडा स्तरबाट आएर प्रमाणिकरण भएका योजनाहरु समेत, नगर प्रमुखले ठाडो आदेशमा आफूखुसी हटाउने, कतिपय नभएका योजनाहरु एकलौटिढंगले अघि बढाउने गरेको, योजना अनुगमन, निरीक्षण नै नगरी वजेट दिने गरेको, जनतालाई सूचनाको हकबाट बञ्चितिकरण गर्ने गरेको, पारदर्सिता, शुसासन कायम राख्न जनताकाबीच गरिने प्रत्येक चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा समेत नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले गलत कामको विरोध तथा राम्रा कामको समर्थन गर्ने भन्दै विज्ञप्ति मार्फत सर्वसाधारण जनतालाई जानाकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्नु परेको नगर कमिटि अध्यक्ष दीपक थापाले पत्रकार सम्मेलनमा जानाकारी गराए ।

यस्तै विज्ञप्तिमा आएका विभिन्न बुँदामा पत्रकारहरुले राखेका जिज्ञासा उपर जवाफ दिंदै विज्ञप्तिमा आएका सबै कुराहरुको प्रमाण पेश गर्न सक्ने दावी गर्दै नगर कमिटि अध्यक्ष थापाले, यो सचेतिकरणका लागि गरिएको पहिलो कदम भएको र अझैपनि गलत काम गर्न नगरपालिका उद्धत भएका चरणवद्ध रुपमा अन्य आन्दोलनका कार्यक्रम मार्फत ध्यानाकर्षण गर्न गराउन राष्ट्रिय जनमार्चा तयार रहेको बताए।

आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका बागलुङ जिल्ला सदस्य लोकेन्द्र सुनार, रेडियो परिवर्तनका स्टेश्न म्यानेजर राम सुवेदी, ढोरपाटन एफएमका स्टेशन म्यानेजर छविलाल पाण्डे तथा रेडियो बुर्तिबाङका योगेन्द्र सिर्पालीको उपस्थिति रहेको थियो भने राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर कमिटिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply