शव्द/चित्र : बसन्त घर्तीमगर
तमान २०७६ जेठ ६ । तमानका किसानहरुलाई रबिबाली (जौँ गहुँ) थन्काई नसक्दै मकै छर्ने चटारोले छोएको छ । अति सुन्दर तमानको उव्जाउ भूमिमा अहिले स्थानीय किसानहरु मकै छर्ने माचोमा छन् । एकातिर जौँ गहुँ बाली स्याहार्ने चटारो अर्कोतिर मकै छर्ने हतार यस्तै हो हाम्रो किसानी जीवन, आराम त हराम हो हाम्रा लागी…. किसानी जीवनको उत्तरार्धमा रहेका एक किसान भन्छन् काम नगरी माम खानु छैन, अल्छी मान्नेत कुरै भएन । खेती किसानीबाटै हामीलाई दानपानी मिलेको छ, यसैबाट शारीरिकरुपमा तन्दुरुस्त रहन सहयोग पुगेको छ । यहि उव्जाउ भूमिमा लडीबुडी खेल्दै हाम्रा पुर्खा रमाए, हामी चलायमान छौँ भावी सन्तती प्रतिक्षामा छ । डाँडेगरो मात्र होईन, पारीको पाखामा किन यसपाली बाली सप्रिएन भन्ने पिरलोले उत्पादन बृद्धिका लागी थप प्रयास गर्न घच्घच्याई रहेको हुन्छ ।
तमान गाउँको बिचोबिच भएर कलकल बग्ने तमान खोलामा दुवालो थुनेर माछा मार्न नपाईने बन्देज मुखिया प्रथाले लगाएको छ । यो प्रयास पनि उव्जाउ भूमिको माटो खेर नजावस भनेरै हो । दुवालो थुन्दा खोला किनारमा रहेका उव्जाउ खेतहरुबाट माटोले दुवालो थुन्दा पानीले माटो बगाएर लैजानेहुँदो दुवालो थुन्न बन्देज लगाएको सहजै अनुमान गर्न सकिन्छ । अर्थात स्थानीय किसानहरुको मुख्य पेशा कृषि रहेकोले यसको संरक्षणका लागी स्थानीयहरु हरदम सजग रहदै आएका छन् ।
स्थानीयरुपमा साना तिना उद्योगधन्दा सन्चालन गर्न तिर सरोकारवालाहरुले ध्यान दिए हुन्थ्यो भन्ने युवाहरु प्रशस्तै देखिन थालेका छने । विभिन्न क्लबहरु सन्चालन गरेर युवापीढी खेलकुद एवं साँस्कृतिक क्षेत्रमा फड्को मार्दैछ । फाटफुट युवाहरु बैदेशिक रोजगारीमा गएको अवस्था छ । परम्परागत खेती किसानी पेशामा मात्र आस्रित रहँदा अन्य प्रगति अवरुद्ध हुने हो कि ? भन्ने चिन्तापनि स्थानीयमा देखिएको छ ।
पर्यटकीय दृष्टिकोणले आकर्षक रहेको अति सुन्दर तमानलाई सोलेको धुरी हुँदै धौलागिरी पदयात्रामा लैजान सके यस क्षेत्रको पर्यटकीय विकासमा उल्लेख्य योगदान पुग्नुका साथै स्थानीयको आर्थिक अवस्थामा राम्रो सुधार आउने विश्वास गर्न सकिन्छ ।