बागलुङ २०७६ जेठ ६ । जिल्ला प्रशासन कार्यालय बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा लुकबहादुर क्षेत्रीले पद बहाली गरेपछी जिल्ला स्थित कार्यालय प्रमुख एवं सूचना अधिकारीहरुको पहिलो बैठक हिँजो जेठ ५ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा सम्पन्न भएको छ । प्रत्यक महिनाको ५ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कार्यालय प्रमुख, सूचना अधिकारीहरुको बैठक बस्ने प्रचलन रहँदै आएको छ । हिँजोको बेठक अघिल्ला बैठकहरु भन्दा फरक बान्कीको रहेको श्रोतले बताएको छ । प्रत्यक बैठकमा कार्यालय प्रमुख, सूचना अधिकारीहरु र पत्रकारहरु वीच अन्तरकृयात्मक कार्यक्रम हुने र विभिन्न कार्यालयहरुबाट सेवाग्राहीहरुलाई प्रदान गरिएको छिटो छरितो सेवा प्रवाह बारे जानकारी दिईने प्रचलनले भने निरन्तरता नपाएको श्रोतले बतायो । पत्रकार सहितको अन्तरकृयात्मक कार्यक्रम अबोप्रान्त तीन तीन महिनामा गरिेन निधो भएको बुझिएको छ ।
मध्यपहाडी लोकमार्गको कार्यालय पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार रहेको छ ।
हिँजो सम्पन्न कार्यालय प्रमुखहरुको बैठकमा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख सिडीई आशिष थापा मगर नदारत रहे । उनको अनुपस्थितिले सबैको ध्यानाकर्षण गरायो । मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम बागलुङ बजार देखी काठेखोला गाउपालिका बिहुँ घोँडाबाँधे सम्मको सडक निर्माण अलपत्र अवस्थामा रहेको छ । यस खण्डका ठेकदार र कामदार बेपत्ता छन् । प्रशासनले प्रहरी परिचालन गरेर उनिहरुलाई खोज्दा पनि भेट्टाउन नसकिएको समाचार गत बैशाख १७ गते सार्वजनिक भएको थियो ।
लोकमार्गको शुभारम्भ देखिनै चर्चामा रहेको बागलुङ घोँडाबाँधे खण्डको निर्माण कार्यमा ठेकदारहरुको चरम लापर्वाहीका कारण बर्षौँ देखी कछुवा गतिमा रहेको छ । मध्यपहाडी लोकमार्गको यस खण्डको निर्माण कार्यमा लापर्बाही, ढिला सुस्ती हुनुमा ठेकदार त जिम्मेवार थिएनै पछिल्लो समय यस यस खण्डका नवागत आयोजना प्रमुख थापा मगरको ठेकेदार मोहले निर्माण कार्यले तिब्रता पाउने संभावना न को बराबर रहेको छ । मध्यपहाडी लोकमार्ग निर्माणमा देखिएको ढीलासुस्ती, लापर्बाही, भ्रष्टाचार, गैरजिम्मेवाराना हरकत आदिका कारण आयोजना प्रमुख सबका नजरमा परेका छन् ।
बागलुङ सदरमुकाम देखी बिहुँ घोँडाबाँधे सम्मको ३३ किलोमिटर सडक लथालिंग भताभूंग अवस्थामा छ । मौसमी या बेमौसमी सानो वर्षाले पनि बागलुङ बजार देखी बिहुँ सम्मको सडकको विभिन्न खण्डमा पहिरो खस्ने हुनाले यात्रुहरुलाई महासास्तीको सामना गर्नुपर्ने र कुनैपनि भीषण दुर्घटनाको सामना गर्नुपर्ने अवस्था छ। यस खण्डको निर्माण कार्यको जिम्मा लिने ठेकेदारहरु निर्माणस्थलमा छैनन् ।
यसै सन्दर्भमा ईबागलुङले आयोजना प्रमुख थापा मगरलाई गत २०७६ साल बैशाख १७ गते निर्माण कार्यमा भएको ढिलाई र लापर्बाहीका बारेमा केहि जिज्ञासा राखेको थियो, उनले निर्माण कार्य अली ढीला भएको मात्र हो, काम जारी रहेको बताए । निर्माणको जिम्मा लिने ठेकदारहरु काम छोडेर भागेको र कामदारहरु पनि ज्याला नपाएर काम छोडेर गएको चर्चा छनि ? भन्ने हाम्रो प्रश्नमा आयोजना प्रमुख थापा मगरले ‘कसरी भाग्न सक्छन ठेकेदार ? कहाँ भाग्ने ? कामदार भने काम छोडेर जान सक्छन भन्ने जवाफ दिएर भगुवा ठेकेदारहरुका पक्षमा वकालत गरेका थिए ।
यहि २०७६ बैशाख १४ गते तत्कालीन प्रजिअ बेदप्रसाद खरेलको नेतृत्वको टोली मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निरीक्षण अवलोकन गर्न गएको सन्दर्भमा हामीले सोधेका थियौँ, ‘लोकमार्गको निर्माण अवस्था कस्तो पाउनु भयो ?’ प्रजिअ खरेलले बागलुङ सदरमुकामको खण्डको जिम्मा लिएका ठेकदार दिलिप शाही र पुष्पा शाही निर्माणस्थलमा खोजी गर्दा समेत निजहरु नभेट्टिएको ईबागलुङलाई बताएका थिए ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी खरेलले यस खण्डको निर्माणको जिम्मा लिएका ठेकदारहरुलाई प्रहरी लगाएर खोज्दापनि नभेट्टिएको जानकारी दिँदै मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुखलाई समेत बोलाएर आगामी जेठ ५ गतेको कार्यालय प्रमुखहरुको बैठकमा मध्यपहाडी लोकमार्गको विस्तृत प्रगति विवरण प्रस्तुत गर्न निर्देशन दिएको बताएका थिए ।
तर बिडम्वना आयोजना प्रमुख थापामगर ने हिँजोको बैठकमा अनुपस्थित रहेर के सन्देश दिन खोजेका हुन ? भन्ने गम्भीर प्रश्न उठेको छ भने आयोजना प्रमुख थापामगरको अनुशासनहीनता अहिले जिल्लामा चर्चाको विषय बनेको छ । प्रशासन श्रोतले भन्यो, ‘फोन गरेर’नि बोलाएको हो, तर ईन्जिनियर साहेब आउनु भएन ।’
यो लिंकपनि पढौं
कसरी भाग्न सक्छन, ठेकदार ? काम ढिला भएको मात्र हो : भगुवा ठेकेदारहरुको पक्षमा आयोजना प्रमुख