साधना पन्त, बागलुङ, २०७६ जेठ १९ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले बागलुङ बजारमा सञ्चालन गरेको ५ दिने आधारभूत उद्घोषण तथा पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ ।
युवाहरुलाई सूचना र सञ्चारसंगै आर्थिक विकास र सामाजिक रुपान्तरणमा क्रियाशिल गराउने उदेश्यका साथ आयोजित तालिमका सहभागीहरुले तालिमले जीवनको यात्रालाई नयाँ गन्तव्यमा लैजान प्रेरित गरेको बताएका छन् ।
तालिममा सिकेका कुरा र सहजकर्ताहरुको उत्प्रेरणाले पत्रकारिता क्षेत्रमा क्रियाशिल हुने प्रेरित गरेको तालिमका सहभागी सिर्जना केसीले बताईन् । सानै देखि सूचना र सञ्चार क्षेत्रमा काम गर्ने रहर थियो, तर कहाँ गएर को संग सम्पर्क गर्ने वा कसरी अगाडि बढ्ने भन्ने अन्यौल भएको समयमा आदर्शले सञ्चालन गरेको तालिमले आफ्नो जीवनको यात्रा मोडिने अवस्था आएको केसीको भनाइ छ ।
तालिमका अर्का सहभागी हरिकृष्ण सुनारले तालिम अवधीमा प्राप्त ज्ञान र उर्जाले समाज रुपान्तरणका लागि अति महत्वपूर्ण माध्यमका रुपमा रहेको सञ्चार क्षेत्रमा काम गर्ने रहर जागेको बताए ।
तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, सचिव राम थापा अविरल, सञ्चारिका समुह गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष जमुना शर्मा वर्षा, संस्थाका सम्पादक रामबहादुर जिसीले तालिमलाई केवल तालिमका रुपमा नलिई यसलाई जीवन परिवर्तनको माध्यमका रुपमा ग्रहण गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
समापन कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता र संस्थाका सहसम्पादक सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, सचिव राम थापा अविरल, सञ्चारिका समुह गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष जमुना शर्मा वर्षा, संस्थाका सम्पादक रामबहादुर जिसी, सहसम्पादक सिर्जना पन्तले सहजीकरण गरेका थिए ।
सूचना र सञ्चार, वित्तीय कारोबार लगायत आर्थिक, सामाजिक रुपान्तरणका विभिन्न क्षेत्रमा क्रियाशिल रहदै आएको आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको छ । संस्थामा हाल १ हजार ३ सय २० जना शेयर सदस्य, ३ करोड शेयर रकम, १४ करोड निक्षेप १५ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।