पूर्ण भद्र निउरे,ताराखोला २०७६ जेठ २० । ताराखोला गाउँपालिकामा रोजगार कार्यक्रमको आज देखि सुभारम्भ गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमको आज उदघाटन गरिएको हो ।गाउँपालिकाको कार्यालयमा गरिएको एक औपचारिक कार्यक्रम पछि श्रमिकहरु सहित ताराखोला( २ को अर्गलमा सडक मर्मतको कार्य क्षेत्रमा पुगेर कार्यक्रमको उदघाटन गरिएको हो ।
कार्यक्रम उदघाटन पछि बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले अल्पकालीन रुपमा भए पनि संचालित यस कार्यक्रमले बेरोजगारहरुलाइ आय आर्जनमा सहयोग संगै बिकास निर्माण कार्यमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने बताए । तोकिएको समय भित्र बेरोजगारको सुचीमा सुचिकृत रहेका ९५ जना पहिलो चरणमा आज देखि रोजगारीमा खटिएको ताराखोला गाउँपालिकाका रोजगार संयोजक शलोनी थापाले जानकारी दिइन ।
पहिलो चरणमा रोजगारमा खटिने श्रमिकहरुले भोलि देखि स्थानीयस्तरका टोल टोलमा टोली प्रमुखको नेतृत्वमा २२ दिन सम्म सडक मर्मतको काम गर्ने गाउँपालिकाले जनाएको छ ।
यसरी काममा खटिएका श्रमिकले दैनिक रु ७ सयका दरले पारिश्रमिक पाउने गरिएको रोजगार संयोजक सलोनी थापाले बताइन
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन रोका , प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता, रोजगार संयोजक शलोनी थापाको संचालन र वडा न १ का वडा अध्यक्ष याम बहादुर श्रीसको स्वागतमा सम्पन्न भएको थियो ।