Sorry, that menu does not exist.
 

बडीगाडको सुरकुँडेमा उपचारको अभावमा सुत्केरी आमा छोरीको दु:खद मृत्यु, गाउँ नै शोकाकुल !

कमल पौडेल, बडीगाड २०७६ जेठ २४ । बडीगाड गाउँपालिका वडा नं. ६, सुरकुँडेकी २३ वर्षिया जिसु वुढाको उपचारको अभावमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको घटनाले गाउँनै शाकाकुल बनेको छ । जेठ २० गते दिउसो ३ वजे घरमै सुत्केरी भएकी जिसुकी छोरीको २ घण्टा पछि मृत्यू भएको थियो । सोहि घटनाले विक्षिप्त भएकी जिसुलाई वल्ल स्वास्थ्य चौकी लैजाने तयारी गरिएको थियो । भौगोलिक रुपमा विकट रहेको सुरकुडेवाट बेलुका ८ वजे मात्रै स्थानियले जिसुलाई खार वजारमा रहेको बडीगाड पोलिक्लिनीकमा पुर्याएका थिए । अत्याधिक रक्तश्राव भएका भन्दै पोलिक्लनीकले करिव एक घण्टाको उपचार पछि पाल्पा पठाएको थियो । २१ गते विहान ४ वजे पाल्पा पुर्याइएकी जिसुलाई ४ पोका रगत चढाइएको थियो । त्यसपछि सामान्य अवस्थामा फर्किएकी जिसु २१ गते साँझ तिर पुन विरामी परेपछि आइसीयुमा राखिएको थियो । रातको २ वजे उनलाई वचाउन नसकिएको भनेर डाक्टरले भनेको मृतककी सासु लालमाया वुढाले बताईन् । १७ वर्षको उमेरमा विहे गरेकी जिसुले १९ वर्षमा पहिलो वच्चा (छोरा) जन्माएकी थिइन् । मातृशिशु मृत्यूदर अत्यन्त न्यून भैरहेको सन्दर्भमा आमा र वच्चाकै ज्यान जानेगरि भएको यस दुखद घटनार्ले गम्भिररुपमा सोँच्नु पर्ने अवस्था सिर्जना गरेको छ ।

जिसुको गत भदौको २८ गते महिनावारी रोकिएको र असारको ५ को वरपर सुत्केरी हुन सक्ने मितिको रेकर्ड स्वास्थ्य चौकीमा भेटिएको छ । बडीगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवका अनुसार बडीगाड गाउँपालिका वडा नं. ५ को दाँगको क्लिनिकमा उनको गर्भजाँच भैरहेको थियो । यहि जेठ १२÷१३ गते तिर उनलाई झाडापखला लाग्यो, मासी समेत परेको भन्दै स्थानिय स्वास्थ्यकर्मी नारायण संगवाट औषधि लगेको र झाडापखला निको भएको उनका श्रीमान् रवि वुढाले जानकारी दिए । रविका अनुसार ४ पटक गर्भको जाँच पनि गरिएको थियो । २० गते विहान १० वजे तिरबाट जिसुलाई सुत्केरी व्यथा लागेको थियो । दोश्रो वच्चा भएकोले परिवारका सदस्यहरुले पनि स्वास्थ्य चौकी जाने वारे नसोचेको र दिउसो ३ वजे साधारण तरिकालेनै घरमै वच्चा जन्मिएको जिसुकी सासुआमा लालमाया वुढाले बताईन । वच्चा जन्मिएपछि जिसु संगै परिवारका सवै सदस्य खुसी भए । तर वच्चाले अफ्ठेरो गरि सास फेरेको देख्दा उनिहरु चिन्तित भए, स्वास्थ्य चौकी लैजाने चर्चा पनि चल्यो तर नजिक स्वास्थ्य चौकी नभएको तत्कालै साधन वोलाउन पनि सम्भव नभएकोले उनिहरु त्यतिकै वसिरहे उता विसुको रगत वगिरहेको थियो त्यो सामान्य होला भन्ने सोंचे परिवारका सदस्यहरुले । सुत्केरी भएको २ घण्टामै साथको वच्चाले साथ छोड्यो, त्यो घटनाले निकै विक्षिप्त भइन् जिसु, उनको पेट निकै दुखिरहेको थियो त्यसै समयमा श्रीमान्लाई वोलाएर भनिन्, ‘अव म वाँच्दिन होला, बच्चालाई राम्रो सँग पाल्नु है ।’ अहिले पनि रविले झल्झली त्यहि वाक्य सम्झिरहेका छन् ।

अव परिवारका सदस्यलाई पनि जिसुलाई अस्पताल पुर्याउनु पर्छ भन्ने लाग्यो, छिमेकीको समेत सल्लाहमा पिकअप जिपमा राखेर जिसुलाई खार वजारमा रहेको बडीगाड पोलिक्लिनिकमा पुर्याइयो त्यहाँ उनको परीक्षण भयो, रगत वगिरहेको थियो, वच्चा जन्मिएको ठूलो घाउ थियो । घाउमा टाँका लगाइयो, पहिले त टाँका लगाउन मानेकी थिइनन् जिसुले तर आफुहरुले सम्झाएर टाँका लगाइदिएको अहेव दिपक छन्त्यालले वताए । साँझ झण्डै ८ वजे पोलिक्लिनीकमा ल्याइएको त्यहाँ ल्याउँदा अक्सिजन कमि भएर सास फेर्न गाह्रो भएकोले अक्सिजन लगाएको, सलाइन चढाएको अहेव छन्त्यालले बताए । जिसुको रगत ल्यावमा जाँच गर्दा रगतको मात्रा ३.२७ मात्रै भएपछि रक्त अल्पताको डर भएकोले तत्कालै पाल्पा लैजान सल्लाह दिइएको छन्त्यालले वताए । हिँड्ने बेलासम्म रक्तचाप सामान्य भएको किल्निकले जनाएकोछ । सोहि रातको झण्डै १० बजे एम्बुलेन्समा जिसुलाई पाल्पा पठाइयो, उनि सँगै सासु आमा सहितको टोली गयो । पैसाको जोहो गरि २१ गते पाल्पा जान श्रीमान घरमै बसे । २१ गते विहान ४ वजे पाल्पा प्रवासको लुम्बिनी मेडिकल कलेजमा विसुलाई भर्ना गरियो । चारपोका रगत पनि चढाइयो, औषधिको प्रभावले दिउसो जिसुलाई धेरै निको भयो। जिसुले सासुआमालाई घर फर्किने प्रस्ताव गरिन् तर सासु लालमायाले ठाउँमा आएको वेला पुरै निको भएर जानुपर्ने बताईन तर साँझ तिर जिसुलाई फेरी विसन्चो भयो, ७ वजे तिर आइसियुमा राखियो, तर रातको २ वजे तिर डाक्टरले भने हामी जिसुलाई वचाउँन निकै कठिन छ । लालमाया भावविह्वल भइन्, अहिले पनि आँखा ओभाएका छैनन्, बुहारी वँचाएर घरल्याउन गएकी सासु लालमाया वुहारीको शव लिएर फर्कनु प-यो । बच्चा राम्रो संग पाल्नु भनेर गएकी जिसु मुर्दा वनेर फर्किएपछि रवि विछिप्त छन् । उनी झण्डै आधा घण्टा जिसूको शवलाई झम्टिएर रोए तर जिसु फर्किनन्, घर माईती दुबै पक्षका रोए, नरुने कोहि भएन, २०७० सालमा १७ वर्षको कलिलो उमेरमा संगै जुनीकाट्ने कसम खाई हातमा हात साथमा साथ दिन पुगेकी जिसु रविलाई एक्लै छोडेर गइन्, संसार छोड्ने जिसुलाई भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल रवि उनको ४ वर्षिय छोरा कपिल सहित सवै परिवार प्रति गहिरो समबेदना ।

सुविधा सम्पन्न अस्पतालमा पुगेर पनि किन बचेन जिसुको ज्यान ? यो निकै गम्भिर प्रश्न हो, यद्यपी यसको उत्तर खोज्न त्यति सहज छैन । के के कारणले ज्यान जान सक्छ अरु कसरी सचेत हुन सकिन्छ भन्ने प्रश्नमा बडीगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवले दुई कारण हुन सक्ने औल्याए । यादवका अनुसार पाठेघर च्यातिएको कारण अत्याधिक दुखाइ र रक्तश्राव भएको पछि वाहिरी घाउमा टाँका लगाएर रगत रोक्दा भित्र (इन्टरनल टियर) रगत जमेको अवस्थामा सुत्केरी आमाको ज्यान जाने खतरा हुन सक्ने र वेडबाट भर्खर उठेको सुत्केरी आमालाई खाना खुवायो भने खाना अड्कीने (चोकिङ) भएर पनि ज्यान जानसक्ने हुन्छ । त्यसैले हरेक आमाहरुलाई यो कुराको जानकारी दिन जरुरी छ ।

यो घटना सामान्य हुनै सक्दैन, राज्य मातृशिसु मृत्यूदर शुन्यमा पुर्याउने अभियानमा लागीरहेको वेला आमा र बच्चाकै ज्यानै जाने घटना सामान्य केश हुन सक्दैन, घटनाको अनेकपाटा हुन सक्छन्, कम उमेरमा हुने विवाह, घरमा गराइने असुरक्षित प्रसुति, नियमित जाँच हुन नसक्नु, चेतना अभाव आदि आदि तर राज्यले मातृशिसु मृत्यूदर अन्त्य गर्न भनि चालेका कदम र खर्च के ग्रामिण वस्तिसम्म पुगेका छन् ? आम सर्वसाधरणले चेतना र सुचनाको पहुँच प्राप्त गरेका छन् ? स्थानिय सरकारका प्राथमिकतामा स्वास्थ्य, शिक्षा, पोषण, चेतनाका विषयहरुले प्राथमिकता पाएका छन ? या त गाउँको ठेक्का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई निशुल्क रुपमा थोपरेर सिंगो संयन्त्र पानिमाथिको ओभानो भैरहेको छ ? पीडितको आँसु संगै लेखकको आँखा टिलपिल गर्दै कानमा धेरै प्रश्न गुञ्जिरहेको छ। आशा छ, राज्य जिम्मेबार वन्ने छ र घटनावाट पाठ सिक्दै थप घटना नहुने वातावरण सिर्जना गर्नेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply