योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७६ जेठ २७ । तमानखोला गाउँपालिकाको वडा नम्बर १ रिक्लाङमा निर्मित सामुदायिक भवनकोे ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीले उद्घाटन गरेका ५न् । उद्घाटन पछि बोल्दै नगरप्रमूख नेपालीले ग्रामिण क्षेत्रको विकासका लागि सम्बन्धित क्षेत्रका जनता जागरुक हुन आवश्यक रहेको बताए । विकासका लागि सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने तर त्यसमा राजनितिक स्वार्थ जोड्न नहुने उहाँको भनाइ छ । रिक्लाङमा दलित समुदायको बाहुल्यता रहेको हुदा अब दलित समुदाय सचेत र जागरुक हुन आवश्यक रहेको बताउदै आफ्ना अधिकार प्रयोग गर्न सक्नुपर्नेमा सचेत गराए ।
यस्तै नगरप्रमुख नेपालीले नवनिर्मित सामुदायिक भवनमा बालशिक्षा कक्षा सञ्चालन गर्न सुझाव दिए । त्यहाँ बालशिक्षा कक्षा सञ्चालनका लागि मासिक ६ हजार रुपैयाँ तलब भत्ता आफुले व्यक्तिगत रुपमै भुक्तानी गरिदिने गरी एक जना सहजकर्ता राखिदिेने उद्घोष साथै १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उक्त रकमबाट आउने व्याजबाट बालविकास कक्षा व्यवस्थापन तथा अन्य विभिन्न सार्वजनिक हितका कार्यमा खर्च गर्न उनले सुझाएका थिए ।
कार्यक्रम भवन निर्माण समिति अध्यक्ष नरकुमार गोतामेको अध्यक्षता, देव बहादुर पुनको स्वागत मन्तव्य र बाबुराम त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले मन्तव्य दिएका थिए ।
उक्त सामुदायिक भवन कुल ६ लाख ७० हजार ३५ लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष गोतामेले बताए । तमानखोला गाउँपालिकाले आर्थिक वर्ष ०७५।०७६ मा विनियोजन गरेको ४ लाख ८० हजार रुपैया ६५ हजार ७ सय रुपैयाँ चन्दा संकलन र जनश्रमदानमा भवन निर्माण गरिएको हो । जसमा अझै ७६ हजार ३ सय ३५ रुपैया ऋण रहेको निर्माण समितिले जनाएको छ ।