निर्मल घिमिरे
भनिन्छ, अभाव नै दुष्कर्मको एक द्योतक हो । बाँच्न र आफ्ना लालाबालालाई बचाउन एक आमाले के सम्म गर्दिनन होला भन्ने कुरा को तीतो उदाहरण केहि अघी मात्र लेखक सँग एक निरीह आमाको भेट भएको प्रसँग उजागर गर्न गइरहेको छु । गोपनियताको हिसाबले पीडिताको परिचय गोप्य राखेर आलेखको सुरुवात गर्दै छु ।
जिल्लाबाट आएर काठमाडौंको सुकुम्बासी बस्तीमा बसोबास गर्ने ३० वर्षिया एक महिलाका कुरा सुन्दा आङ्गै सिरिङ्ग भयो । उनका अनुसार एकजना चिनजानकी दिदी काठमाडौको एक नाम चलेको अस्पतालमा पियनको रुपमा काम गर्थिन् । उनीहरूका दुरावस्थाको बारेमा ती दिदी परिचित थिइन रे । उनले नै एक दिन सोही अस्पतालको डाक्टरसँग भेट गराइ दिइन् । सो अस्पतालमा एक विदेशी दम्पत्ती चेकजाँचको लागि आउने रहेछन् । तर उनीहरूका सन्तान रहेनछन् ।
डाक्टरले उनीहरूका लागि सन्तान जन्माइदिने भए ५ लाख नगद र एक वर्षसम्मको लागि खाने बस्ने व्यवस्था पनि मिलाइदिने र सोको लागि एकलाख पचास हजार समेत गरी जम्मा ६ लाख पचास हजार दिने बताइन् ।
श्रीमान श्रीमती छलफल गरी प्रस्ताव उपयुक्त ठहर्याई राजी भए । डाक्टरको सल्लाह बमोजिम एक वर्षका लागि शहर छोडी जानुपर्ने भयो र उनीहरूकै व्यवस्थापनमा धरानमा एक कोठा लिई त्यहाँ गई बसिन् । समय समयमा डाक्टर र ती विदेशी धरानमा आइरहन्थे र एक क्लिनिकमा चेकअप समेत गराइरहन्थे ।
शिशु जन्मेको एक महिनापछि ती विदेशीले सबै पैसा बुझाई शिशु लिएर गए । भोलिपल्ट हामी पनि काठमाडौ सर्ने तरखर गर्दै थियौं । ती विदेशी महिलाले चाहिँ फोन गरेर खुसी हुँदै धन्यवाद प्रकट गरिन् र यो गुन कदापी भुल्न नसक्ने बताइन् । साथै यो बीस लाखले तपाईको भविष्य राम्रो हुनेछ र बालबच्चाको पढाई राम्रो हुनेछ भनेर बताइन् ।
यो सुन्दा उनी छाँगाबाट झरे जस्तै भइन् । किनकी बीस लाख रकम दिएका रहेछन् उनीहरूले । तर पाइन उनले केवल छ लाख पचास हजार मात्रै । बाँकी रकम उनै दिदी भनाउदी र डाक्टर मिलेर खाएछन् । कोखमा पनि दलाल लागेको चाल पाएपछि उनी आक्रोशित हुन्छिन् । तर कसैलाई भन्ने र उजुरी गर्ने हिम्मत नभएकोले उनले आफ्नो पीडा सहेर बसिरहेकी छिन् । कहिलेकाहिँ भक्कानिन्छिन्, धिक्कार्छिन ती मानव कोखका दलालहरूलाई । तर कसैले चाल पाए मात्र पनि बेइज्जत हुने डरले मनमनै मुर्मुरिएर बस्नु सिवाय उनीसँग कुनै विकल्प छैन । सन्तान नहुनेलाई सन्तान दान गरेको र त्यो पुण्य कर्म गरेको भनेर मन बुझाउनु सिवाय अरु कुनै विकल्प नभएको गुनासो गर्छिन् ।
उनका हरेक शब्दमा लुकेको मर्मस्पर्शी भाव एकपटक गम्भीर भएर सोच्ने हो भने सजिलै बुझ्न सकिन्छ कि हाम्रो समाजको अभाव तथा आर्थिक विपन्नता जस्ता कमजोरीलाई समाएर फाइदा लुट्नेहरू बर्गेल्ती भेटिन्छन् ।
अंश, वंश र शरीरमाथिको अधिकारलाई संविधानमा नै सुनिश्चित गरिनुपर्छ भन्ने आम महिलाहरूको आवाज रहेको छ । नयाँ संविधानमा अंशको कुरा छोरा र छोरीमा सुनिश्चित छ ।
तर वंशको हकमा भने विशेष परिस्थितिमा बाहेक अन्य अवस्थामा सम्पूर्ण अधिकार पुरुष केन्द्रित छ । यद्यपि कार्यान्वयनमा विभिन्न तत्वहरू भने चुनौतीका रुपमा खडा भएको देखिन्छ ।
यतिबेला नेपालमा केही समयदेखि गुपचुप रुपमा चलिरहेको सरोगेसी सेवा बारे बहस शुरु भएको छ । सेरोगेसी अर्थात भाडाको कोख सम्बन्धी कानून बनाउन दश महिनाअघि बनेको निर्देशिकाको फाइल यतिबेला स्वास्थ्य मन्त्रालयबाटै गायब भएको कुरा संचार माध्यमबाट बाहिर आएको छ ।
यो सँगै कसरी नेपालमा गोप्य रुपमा आमाको कोखको बिक्री भैरहेको छ भन्ने कुरा पनि बाहिर आएको छ । समाचारमा आए अनुसार अहिलेसम्म नेपालका केही ठूला अस्पतालमा पैसामा आमाको कोख बिक्री भैरहेका छन् ।
सरोगेसी एकातिरबाट हेर्ने हो भने सेवा होला, तर अर्कोतिरबाट हेर्दा यस्तो विकृत व्यापार हो, जसले पैसाको लोभमा महिलाको शोषण गरिरहेको हुन्छ, त्यो पनि उनीहरूको शरीरको ।
सरोगेसीले सम्बन्धित महिलालाई के कति फाइदा पुर्याउला, त्यो बहसको विषय होइन । यहाँ बहसको विषय हो, कोखको व्यापार । कति जायज छ त यो व्यापार ? कानुन बन्ने तरखरमा रहेको यो व्यापार गुपचुप रुपमा नेपालमा मौलाउनुको मुख्य कारण सन् २०१४ मा थाइल्याण्डमा र २०१५ मा भारतभमा यो सेवामाथि प्रतिबन्ध लाग्नु हो ।
भन्नमा सेवा भनिए तापनि यसबाट अनेक विकृति जन्मिएपछि ती देशमा सरोगेसीमा प्रतिबन्ध लाग्यो ।
सन् २००२ देखि भारतमा व्यवसायिक रुपमा सरोगेसी शुरु भएको देखिन्छ । युरोपेली र अमेरिकी देशका निःसन्तान दम्पत्ती, सन्तान जन्माउन नचाहने जोडी तथा समलिङ्गीहरूले आफ्नो देशमा भाडामा सन्तान जन्माउन निकै महंगो पर्ने भएकोले भारत, बंगलादेश जस्ता देशका गरिब महिलालाई प्रयोग गर्ने गरेको र सन् २०१५ सम्म भारतमा आएर यो सेवा लिने गरेकोमा भारतमा यसमा प्रतिबन्ध लागेपछि उनीहरूको गन्तव्य नेपाल बनेको देखिन्छ ।
पछिल्लो समयमा इजरायलीहरूको गन्तव्य नेपाल बनेको छ, जहाँ भारत र बंगलादेशबाट गरिब तथा विपन्न महिलाहरू ल्याएर उनीहरूको कोखबाट सन्तान जन्माएर लैजाने गरेको खुलासा भएको छ । २०७२ वैशाख १२ गते महाभुकम्प नगएको भए शायद यो कुरा बाहिर आउन अझै कति समय लाग्थ्यो होला भन्न सकिन्न ।
हालै इजरायलमा नेपाली महिलाको लागि खुलेको कामदार कोटा पनि हतारमा इजरायल लगिएका सरोगेट सन्तानहरूको स्याहारका लागि हो भन्ने हल्ला पनि सुन्नमा आएको छ ।
सुन्नमा आए अनुसार नेपालमा आएर भाडाका सन्तान जन्माउनका लागि सम्बन्धित पक्षले सन्तानको लागि करोड तिर्दा कोख भाडामा लगाउने आमाले जम्माजम्मी ६ लाख पाउने गरेको कुरा केही दिनअघि प्रसारित एक टेलिभिजन कार्यक्रम मार्फत् जानकारीमा आयो । कुनै पनि अपराध खुला रुपमा हुन्छ भन्नु मुर्खता हुन जान्छ ।
कानुनी मान्यता पाएपछि नेपालका अस्पतालहरू व्यापारिक केन्द्र बन्न जानेछन् र गरिब परिवारका नेपाली आमाहरूको कोख पनि भित्रभित्रै बिक्रीमा जानेछ ।
यस्तो अवस्थामा कानुनतः स्वेच्छाले कोख बिक्री गर्नु आमाहरूको शरीरमाथिको अधिकार हुन जानेछ ९लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित ऐन अनुसार वैवाहिक बलात्कारको कानुन बनिसकेको अवस्थाले महिलाको शरीरमाथिको अधिकारलाई स्थापित गरेको बुझ्न सकिन्छ ।० भने बाध्यात्मक रुपमा झनै बढी आमाका कोखहरू बिक्री हुनेछन् ।
एकातिर नेपाल जस्तो गरिब देशका आमाहरू अभाव र गरिबीका कारण कोख बेच्न तयार हुनेछन् भने अर्कोतिर लोभीपापी लोग्नेहरू पैसाको लालचमा आफ्नै श्रीमतीलाई अर्काको सन्तान जन्माउन बाध्य पार्नेछन् ।
हाम्रो समाजमा त्यस्ता श्रीमान पनि छन् जसले पैसाको लागि श्रीमतीलाई बम्बईको कोठीमा पु¥याएका उदाहरण छन् । खाडी र कुवेतमा कमाउन भनि पठाएर चरम यौनशोषण र घरेलु हिंसामा परेका उदाहरण छन् ।
यस्तो अवस्थामा नेपालका अस्पतालहरूलाई दिन लागिएको सरोगेसी सेवाको अनुमति र यस सम्बन्धी नियामक निर्देशिकाको बारेमा राज्यले गम्भीर भएर सोच्नैपर्छ । यसले सिर्जना गर्ने विकृतिका कारण थाइल्याण्ड र भारतमा जस्तै यसलाई बन्द गर्न र यसको औचित्यमाथि बहस गरिनुपर्छ ।
गरिबीकै कुरा गर्नुपर्दा नेपालमा भाडाका सन्तान जन्माउने केही महिलासँग गरेको कुराकानी सुन्दा उनीहरूलाई लोग्नेले नै पैसाका लागि भाडाका सन्तान जन्माउन बाध्य पारेको देखियो ।
कानुन बनाउनै पर्ने भए विदेशी ९दुई पक्ष० का लागि मात्र लागु हुने गरी कडा कानुन बन्नुपर्छ, जसमा नेपाली आमाका कोखहरूको प्रयोगमा कडा प्रतिबन्ध लगाउनु पर्छ र सेवा पुरै पारदर्शी बन्नुपर्छ ।
गरिबीकै कुरा गर्नुपर्दा नेपालमा भाडाका सन्तान जन्माउने केही महिलासँग गरेको कुराकानी सुन्दा उनीहरूलाई लोग्नेले नै पैसाका लागि भाडाका सन्तान जन्माउन बाध्य पारेको देखियो ।
यो अवस्था भोलि नेपाली महिलाहरूको हकमा ठूलो चुनौतीका रुपमा नआउला भन्न सकिदैंन । अतः सेवाको नाममा महिलामाथि हुने शोषणको यो पाटो तर्फ सरोकारवालाहरूको ध्यान पनि समयमै पुग्नु आवश्यक छ । यसका साथै भोली भाडामा कोख बिक्रीलाई पनि महिला अधिकार तथा शरीरमाथिको परिभाषाभित्र नपारियोस् ।
गरिबी, अभाव र पैसाको कारण मानिस जे गर्न पनि तयार हुन्छ । गरिबीकै कारण नेपाली आमाहरू अर्काको भ्रुण गर्भमा हुर्काई अर्काको सन्तानलाई जन्म दिन तयार हुनुलाई सेवा नभनेर बिडम्बना भन्दा फरक पर्दैन त ?
हरिवन नगरपालिका-१० सर्लाही
२०७६ असार ९ ।