थम्मन थापा सन्देश, गल्कोट २०७६ असार १३ । गल्कोट नगरपालिका ७ मल्म घर भएका ६३ वर्षिय लोक बहादुर केसी असार ३ गतेदेखि वेपत्ता भएका छन् । केसी बुटवलको ट्राफिक चोकदेखि हराई परिवार सॅग सम्पर्क बिहिन बनेको बताईएको छ । घरबाट उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल जान्छु भनि हिडेका केसी असार ३ गते दिउॅसो ३ बजेसम्म परिवारको सम्पर्कमा रहेको र त्यस पश्चात सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको मोवाईलमा फोन गर्दा स्विच अफ गरेको बुहारी रिता खत्रीले जानकारी दिईन ।
बेपत्ता केसीको अहिले रुपन्देही प्रहरी, आफन्तजन र गल्कोटबाट बसाई सराई गरि बुटवल तथा भैरहवामा बस्दै आईरहेका गल्कोटेहरुले खोजी कार्य तिव्र पारिएको बुटवल निवासी महिला समाजसेवी हरि साहानीले जानकारी दिईन । यतिका दिन बित्दा समेत उनको कुनै अत्तोपत्तो नभएपछि परिवारजनले खोजीकार्यमा सहयोग गरिदिनको निम्ति प्रहरी प्रशासन, आफन्तजन, पत्रकारहरुलाई अपिल गरेको छ । हामीले बुटवल, भैरहवामा रहेका सबै गल्कोटे दाजुभाई दिदीबहिनीहरु, उनका आफन्तजन सॅग निरन्तर सम्पर्क गरिरहेका छौ तर उनी सम्पर्कमा नहुँदा समस्या भईरहेको समाजसेवी साहानीको भनाई छ । उनको खोजीको लागि रुपन्देही प्रहरीले नेपाल भारत सीमामा रहेको सिसिटिभी फुटेज समेतको अवलोकन गरिरहेको बताएको छ । २ हप्ता देखि सम्पर्क बिहिन हुँदा परिवार र आफन्तजन चिन्तित बनेका छन । बेपत्ता केसीको परिवारमा श्रीमती, छोरा, बुहारी, ३ छोरी र नाती नातिनीहरु रहेका छन ।