कुस्मीसेरा २०७६ असार १४ । बागलुङ जैमिनी नगरपालिकाका नगर उप प्मुख लिला रानाले स्वस्थ जीवन दीर्घ जीवन आम जनताको नैसर्गिक अधिकार भएको बताएका छन । राङखानी स्वास्थ्य चौकी जैमिनी नगरपालिका वडा नं १० को सामाजिक परिक्षण कार्यको आम भेलालाई सम्वोधन गर्दै नगर उपप्रमुख रानाले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रानाले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरेकोले त्यसको उपभोग गर्न आफनो नियमित स्वास्थय चेकजाँचको निम्ति स्वास्थ्य संस्थामा जाने बानीको विकास गर्न आग्रह गरे ।
राङखानी स्वास्थ्य चौकी पहिले ईलाका हुँदा पायकमा रहेता पनि अहिले वडा विभाजन पछि भौगोलिक हिसाबले जनता सुविधाबाट बञ्चित नहुन भनि राङखानीमा सहरी सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्नको निम्ति नगरको निती तथा कार्यक्रम मार्फत आवश्यक प्रकृया अगाडी बढाई गृहकार्य भईरहेको नगर उपप्रमुख रानाले बताए । उनले आम नगरबासीलाई समृद्ध नगर निर्माणमा आवश्यक सुझाव सल्लाह, प्रतिकृया र गुनासा राखी सहयोग गर्न अपिल समेत गरे ।
सामाजिक परिक्षण कार्यको पहिलो चरणमा राङखानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।
अभियानको क्रममा जैमिनी नगरपालिका वडा नं १० राङखानी स्थित विभिन्न गाउॅ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेका थिए ।
सो अवसरमा भेलामा उपस्थित राङखानीबासी समुदायले स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा भौगोलिक विकटता कारण छिमेकी वडामा सेवा लिन जानु पर्ने वाध्यता रहेको भन्दै वडाको पायक पर्ने स्थान डाँडाखानीमा सहरी स्वास्थ्य केन्द्र स्थापनाको लागि माग गरेका छन । भौगोलिक विकटता र सहज यातायातको पहुँच नभएको भन्दै साविकका वडाहरुमा स्ट्रेचरहरु व्यवस्था माग गरेका छन । त्यस्तै स्वास्थ्य चौकी मार्फत प्रदान गरिने सेवा सुविधाहरुलाई समय सापेक्ष सुधार गर्दै औषधी व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन ।
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सुविधा भएर पनि लामो समय देखि एस बि ए तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा प्रसुति सेवा पुर्ण रुपमा प्रभावित भएको भन्दै तत्काल यसको व्यवस्थापन हुनु पर्ने, सुरक्षित गर्भपतनको लागि स्वास्थ्य चौकी नेपाल सरकारबाट सुचिकृत भएता पनि सुचिकृत स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाह नभएको हुॅदा व्यवस्थापन गर्न सम्वन्धित निकायलाई सुझाएका छन ।
त्यस्तै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको उपलब्ध औषधीहरु सहजै रुपमा प्राप्त गर्ने गरेको, शौचालय, खानेपानी र सरसफाईको व्यवस्थापन राम्रो रहेको समुदायको भनाई रहेको छ । त्यस्तै विद्यालयहरुमा प्राथमिक उपचारका सामाग्री र समय समयमा स्वास्थ्य शिक्षा उपलब्ध गराईदिन शिक्षाप्रेमीहरुले माग गरेका छन । राङखानी स्वास्थ्य चौकीमा भौतिक रुपमा व्यवस्थापकिय पक्ष राम्रो रहेको, जैमिनी नगरपालिका र स्वान नामक संस्थाले स्वास्थ्य चौकीमा आवश्यक उपकरण व्यवस्थापन गरेको प्रति खुसी व्यक्त गरे ।
आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको राङखानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नर बहादुर थापा, जैमिनी नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द प्रसाद आचार्य र राङखानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव ईन्द्र आचार्यले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पारेका थिए । सो अवसरमा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, वडा सदस्य छविलाल श्रीस र राष्ट्रिय जनमोर्चा राङखानीका वडा कमिटी अध्यक्ष टिकाराम शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
सामाजिक परिक्षण कार्यको आम भेलामा राङखानी स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । आम भेला जैमिनी नगरपालिका वडा नं १० का वडा अध्यक्ष एवं राङखानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नर नर बहादुर थापाको अध्यक्षता, जैमिनी नगर कार्यपालिका सदस्य एवं स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष डिल कुमारी श्रीसको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।