सुवास गौतम, बागलुङ २०७६ असार १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले वृक्षारोपणका नाममा सल्लो रोपेर समृद्धि नआउने भन्दै धेरै प्रतिफल दिने वृक्ष रोप्न आवश्यक रहेको बताएका छन् ।
जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरका शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले बागलुङ नगरपालिका–८ सिगानामा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै सापकोटाले नेता हुँदैमा, भाषण बाजी गर्दैमा गरिवी नघट्ने भन्दै कृषि उत्पादनलाई बढवा दिनुपर्ने धारणा व्यक्त गरे ।
उनले अव सल्लो रोपेर समृद्धि नआउने भन्दै वृक्षारोपण कार्यक्रमलाई परिमार्जन गरी सुन्तला रोपेर आम जनतालाई सकरात्मक सन्देश दिन खोजेको बताए ।
सिगानामा झण्डै २०० सुन्तलाका विरुवा रोपेर नेकपाले नेपालमै सकरात्मक सन्देश दिन खोजेको बक्ताहरुको भनाई थियो ।
सिगानाको वेसीमा वृक्षारोपण कार्यक्रमको आयोजना गरी झण्डै २०० वढी सुन्तलाको विरुवा लगाईएको छ । सुन्तला जोन अन्र्तगत पर्ने सिगाना सुन्तलाको लागि उर्बर मानिन्छ । कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य श्री प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रमको जिल्ला कमिटि अध्यक्ष सापकोटाको अध्यक्षता, नेकपा वडा कमिटि अध्यक्ष लालबहादुर थापाको स्वागत तथा नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरे अनिलको सञ्चालनमा सम्पन्न भएको थियो ।