भरत सापकोटा, बागलुङ २०७६ असार १५ । मध्यपहाडी लोकमार्गको काठेखोला १ सिम्लेखोलामा एक मालबाहक ट्रक फसेपछि काठमाण्डौ लगायत बिभिन्न ठाउँबाट गल्कोट, खर्वाङ, बुर्तिवाङ, निसी, तमानका लागि छुटेका रात्रि बससंगै मालबाहक ट्रकहरु रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् भने साना गाडि मात्रै एकतर्फि रुपमा छिरेको प्रत्यक्षदर्शीले बताए ।
मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखी बिहुँ सम्मको खण्डमा बर्षौ बित्दा समेत द्रुत गतिमा काम हुन नसक्दा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाको प्रमुख र ठेकदार कम्पनि विचको मिलोमतोले गर्दा लोकमार्ग निर्माणमा हेलचक्राँई भएको जिल्लाबासीको आरोप छ । स्थानीयहरुका अनुसार देखावटी काम गरेर आयोजनाको रकम हिनामिना गर्ने बाहेक कुनै उपलब्धि देखिदैन । हरेक क्षेत्रमा बनाएका वाल पर्खालहरु गुणस्तरहीन भएर पल्टिरहेका छन् सामान्य बर्षाले पनि ठाउं ठाउँमा पहिरो झरिरहेका छन् । लोकमार्ग ठाउँठाउँमा बिग्रएकाले यात्रुहरु समयमा गन्तब्यमा पुग्न सकेका छैनन् ।
गल्कोट नगरपालिकाको बाँसखोलामा शाखा सडकबाट झरेको लेदो सहितको पहिरोले २१ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको थियो भने अस्ति मात्रै बडीगाड गाउपालिकाको राक्सेमा लेदो सहितको पहिरो खस्नाले र पर्खाल भत्किएर ८ घण्टा मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको थियो ।