Sorry, that menu does not exist.
 

स्वच्छ र स्वस्थ गाउॅपालिका निर्माण गर्ने अभियानमा ताराखोला गाउॅपालिका: अध्यक्ष घर्ती

बागलुङ २०७६ असार २४ । ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले आम जनताको स्वास्थ्य स्वस्थ नभए सिङगो समाज स्वस्थ नहुने बताएका छन । ताराखोला गाउॅपालिकाका वडा नं ३ स्थित हिल स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको आम भेलालाई सम्वोधन गर्दै अध्यक्ष घर्तीले यस्तो बताएका हुन ।

नेपालको संविधानमा उल्लेख भएको जनताको स्वास्थ्य सेवा प्रतिको नैसर्गिक अधिकार र जनताले पाउने सेवा सुविधा प्रति ताराखोला गाउॅपालिका प्रतिवद्व रहेको बताए । गाउपालिकाले पालिका भित्रका जनतालाई लक्षित गरि हिल स्वास्थ्य चौकीमा १ जना जनशक्ति थप गरि ल्याव प्रयोगशाला सेवा सुचारु गर्ने तयारी भईरहेको गाउपालिका अध्यक्ष घर्तीले बताए । त्यस्तै उनले आगामी साउन १५ गतेदेखि गाउपालिका भित्रका सबै वडाका गाउॅटोलमा जनप्रतिनिधीहरु पुगेर टोल सरसफाई अभियान, स्वच्छ पिउने पानी र सफा सौचालय निर्माण गर्दै स्वच्छ ताराखोला गाउॅपालिका निर्माण अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

अध्यक्ष घर्तीले गाउॅपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा नियमित औषधी आपुर्ति र व्यवस्थापन गर्न आफुहरु प्रतिवद्व रहेको बताउदै जनतालाई स्वास्थ्य सेवामा सहजता प्रदान गर्न विशेष अनुदान मार्फत गाउॅपालिकामा एम्बुलेन्स सञ्चालन गर्ने तयारी समेत भईरहेको बताए ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा हिल स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो । अभियानको क्रममा ताराखोला गाउॅपालिका वडा नं ३ को हिल स्थित विभिन्न गाउॅ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ ।

आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेकी थिइन । भेलामा उपस्थित स्थानियबासीले स्वास्थ्य चौकीमा नेपाल सरकारले प्रदान गर्ने सेवा सुविधा र अत्यावश्यक औषधीको नियमित व्यवस्थापन, गाउॅपालिकामा गर्भवती र अन्य विरामीलाई लक्षित गरि भिडियो एक्स रे सेवा उपलब्ध गरिदिनको लागि सुझाव दिएका छन ।

त्यस्तै स्वास्थ्य चौकी मार्फत प्रदान गरिने सेवा सुविधाहरुलाई समय सापेक्ष सुधार गर्दै थप प्रभावकारी बनाउनु पर्ने समुदायको भनाई छ । शिक्षाप्रेमी महानुभावले विद्यालयमा प्राथमिक उपचारका सामाग्री र शिक्षकलाई स्वास्थ्य सम्बन्धी तालिमको व्यवस्था गर्न सुझाव दिएका छन । त्यस्तै भेलामा समुदायले स्वास्थ्य चौकीमा जाॅदा स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको, उपलब्ध औषधीहरु सहजै रुपमा पाउने गरेको, शौचालय, खानेपानी र सरसफाईको व्यवस्थापन राम्रो रहेको बताएका थिए । हिल स्वास्थ्य चौकीको नयाॅ आधुनिक सुविधा सहितको भवन निर्माण भईसकेकोले अब छिटै सेवा सुविधा प्रदान गर्न लागिएको हिल स्वास्थ्य चौकीले जनाएको छ । आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको हिल स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष एवं वडा अध्यक्ष डिल बहादुर बस्नेत र हिल स्वास्थ्य चौकीका प्रमुख डिल बहादुर थापाले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पारेका थिए ।

सो अवसरमा जनता प्राथमिक विद्यालय हिलका प्रधानध्यापक लिल बहादुर जिटी, हिल स्वास्थ्य चौकीका सल्लाहकार समितिका सदस्य डम्मर बहादुर थापा र ताराखोला गाउॅपालिका गाउॅ कार्यपालिका सदस्य तेजु माया भण्डारी परियारले शुभकामना मन्तव्य राखेका थिए।

सामाजिक परिक्षण कार्यको आम भेलामा हिल स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उपस्थिती रहेको थियो । आम भेला ताराखोला गाउॅपालिका वडा नं ३ का वडा अध्यक्ष तथा हिल स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर बस्नेतको अध्यक्षता, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष पदम कुमारी गौचनको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply