थम्मन थापा, गल्कोट २०७६ साउन १ । गण्डकी प्रदेश सांसद दिलमायाँ रोका दीपाले संघियता सम्पूर्ण जनताको समृद्धि स्थापित गर्ने मार्ग भएको बताएकी छन्। साउने संक्रान्ति मेला व्यवस्थापन समिति ताराखोला गाउॅपालिका वडा नं ३ हिलको २८ औं वार्षिकोत्सव तथा परम्परागत साउने संक्रान्ति मेलालाई सम्बोधन गर्दै यो कुरा बताएकी हुन् ।
तीन तहको सरकारले जनताका समस्या, सम्भावना र चुनौतीलाई उजागर गर्न सहज हुने र कार्यन्वयनमा जान संघियताले सहजता प्रदान गरेको सांसद रोकाले बताईन् । बजेटले मात्रै विकास र समृद्धि नहुने भन्दै त्यसको लागि सुशासन, पारदर्शिता र व्यवस्थापकीय पक्ष बलियो र प्रभावकारी हुनुपर्छ भन्दै उनले जनताले हरेक योजना र विकास निर्माणमा निगरानी राख्दै सहभागी हुनुपर्ने धारणा राखिन । ताराखोला गाउॅपालिका धेरै सम्भावनाले भरिएको हुॅदा त्यसको लागि गण्डकी प्रदेश सरकारले हातेमालो गरिरहेको उनको भनाई थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति बागलुङका सदस्य फुलमाया पुन, नेपाल कम्युनिष्ट पार्टी नेकपा ताराखोला गाउॅपालिका अध्यक्ष पदम खत्री दिवसले शुभकामना मन्तव्य राखेका थिए ।
भोलि सम्म सञ्चालन हुने मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, सामुहिक लोक नृत्य, एकल नृत्य प्रतियोगिता आयोजना गरिएको साउने सक्रान्ति मेला व्यवस्थापन समितिका सचिव गमिन नाउसाले ईबागलुङलाई बताए ।
मेलामा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री, लोक दोहोरी गायिका कल्पना दाहाल, मोडल विमल केसी लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । मेला साउने संक्रान्ति मेला व्यवस्थापन समिति हिलका अध्यक्ष जग बहादुर घर्तीको अध्यक्षता समितिका सदस्य छबि जेम्सको स्वागत र सदस्य हिरा बहादुर बगालेको सञ्चालनमा सम्पन्न भएको थियो ।
One Comment