मनु सुनार, गुल्मी २०७६ साउन १ । गुल्मीको ऐतिहासिक तपोभुमि तथा धार्मिक स्थल रेसुङ्गामा साउन महिनाभर एक महिना मेला लाग्दै आएको छ । यस वर्ष पनि विगतका वर्षहरुमा जस्तै विविध धार्मिक कार्यक्रमहरु सञ्चालन गरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।
विगतका वर्षमा भन्दा यस वर्ष साउने मेलालाई व्यवस्थित बनाउन तथा रेसुङ्गामा पुग्ने भक्तजनहरुको यातयात सुविधाका लागि बिशेष व्यवस्था मिलाएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।
धार्मिक स्थल रेसुङ्गामा पुग्ने सर्वसाधारण तथा भक्तजनहरुलाई यातयातको सहज सुविधा तथा व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको संयोजकत्वमा सरोकारवालाहरु बिच आज सदरमुकाम तम्घासमा छलफल गरिएको छ ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल, गुल्मी यातयातका महासचिव हिमाल कुवँर, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका महेश काउछा, रेसुङ्गा संरक्षण समितिका कोषाध्यक्ष नेत्र बहादुर बस्नेत, निर्माण व्यवसायी वीरेन्द्र भुसाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे सहितको छलफलले रेसुङ्गामा पुग्ने भक्तजनहरुलाई यातयातको सुविधा तथा व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।
जसमा रेसुङ्गा महापोखरी सम्मको सडक सुचारु गर्न सडक डिभिजन कार्यालय शिवपुरलाई अनुरोध गर्ने,गुल्मी यातयातले जीप उपलब्ध गराउने र पश्चिमाञ्चल बस व्यवसायी संघले मिनिबस उपलब्ध गराउने निर्णय गरिएको छ ।
साउन २ गतेदेखि रेसुङ्गा नगरपालिका, तम्घास खानीगाउँ चौराह देखि बिहान ७ बजे देखि यातायात सुविधा उपलब्ध गराउने, सर्वसाधारणलाई सर्वसुलभ दरमा यातयातको सुविधाका लागि विगतमा कायम भएको भाडा दरमा २० प्रतिशत छुट गरी बसलाई रु ६० तथा जीपलाई रु ८० भाडा दर लिने निर्णय भएको छ भने भक्तजन, वृद्ध, असक्त नागरिकहरुलाई निःशुल्क रुपमा यातयातको व्यवस्था मिलाईने निर्णय भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले जानकारी दिए । यसले रेसुङ्गामा पुग्ने पर्यटक तथा भक्तजनहरुको संख्या वृद्धि हुने उनको विश्वास थियो ।
साउन महिनाभर रेसुङ्गामा के–के हुन्छ ?
विगतका वर्षहरुमा साउन १ गतेदेखि सञ्चालन गरिएको मेला यस वर्ष भने चन्द्रग्रहणका कारण साउन २ गते देखि शुरु गर्न लागिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताए ।
उनका अनुसार दैनिक पुजाआजा हुनुका साथै ब्राह्मणहरुद्धारा रुद्राभिषेक, अखण्ड जलधार तथा धार्मिक कार्यक्रमहरु नियमित रुपमा सञ्चालन हुने छन् ।
विगतका वर्षमा जस्तै साउन ११ गते भक्तिसंगीत प्रतियोगिता आयोजना गरिएको छ । जसमा रेसुङ्गाको महिमा तथा महत्व झल्किने भक्तिसंगीतका माध्यमबाट प्रतियोगितात्मक रुपमा प्रतिस्पर्धा गराइने छ । उत्कृष्ट हुनेहरुका लागि बिशेष पुरस्कारको पनि व्यवस्था मिलाईए भुसालले जानकारी दिए ।
साउन १८ गते पनि प्रतियोगितात्मक कार्यक्रम राखिएको छ । सहभागीहरुले गीत, गजल, कविताका माध्यमबाट रेसुङ्गाको महिमा र यसको महत्वका बिषयमा चर्चा गर्नुपर्ने छ । यस्ता प्रतियोगिताले पनि यसको प्रचार र महत्व बढ्ने अध्यक्ष भुसाललको ठम्याई रहेको छ । यो सँगै चालिस अध्याय वेद पारायण,भक्तिसंगित लगायतका धार्मिक कार्यक्रम सञ्चाल गरीने भुसालले बताए ।