प्रकाश छन्त्याल, बरेङ बागलुङ २०७६ साउन ८ । मंगलबार साँझ देखि परेको अबिरल बर्षाका कारण बरेङ गाँउपालिका लगायत जिल्लाको दक्षिण भेगका सडक खण्ड अवरुद्ध भएका छन । स्थानिय सरकारको बाटो बिकासको क्रममा बनेका नयाँ संरचनाका बाटोहरुले गोरेटो बाटो समेत नहुँदा पैडल यात्रीहरुलाई समेत सास्ती परेको छ ।
बरेङ बजार ग्यालथुङगा देखि गाँउपालिकाको कार्यालय सुडाला हुदैं नयाँ बजारसम्मको प्रदेश सरकारको योजनाको मोटर बाटो पनि निर्माणधिन अवस्थामा रहेकोले गाडी आवतजावतमा समस्या भएको करिब २ हप्ता भैसकेको छ । बरेङ देखि धुल्लुबाँस्कोट छाप उर्लेनीको मोटर बाटो काउलेचौरमा अवरुद्ध भएको छ भने बरेङ गाँउपालिकाको कार्यालय देखि गुल्मीको शान्तिपुर सडकखण्डको बाटो दाउन्ने,काल्चे र घट्टेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ ।
त्यसै गरि बरेङ हुदैं गुल्मीको छापचौर, पुर्तिघाट सडकखण्ड पनि कालीगण्डकी कोरिडोर खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको गुल्मी छापचौर प्रहरी चौकीले जानकारी दिएको छ । बर्षातको कारण बरेङ गाँउपालिका अन्तरगत संचालित सामुदायीक बिधुत पनि अवरुद्ध हँुदा संचार, बैंक, बिधालयमा समेत ठुलो बाधा परेको छ ।
यसैगरि जैमिनी नगरपालिका वडा नं ९ पैंयुथन्थापको बिभिन्न ठाँउहरुमा पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको छ । वडा नं १० राङखानी कुस्मीसेरा सडकखण्डमा रुम्टाखोला बढेका कारण बाटो अवरुद्ध भएको छ ।