राम सुवेदी, बागलुङ २०७६ साउन १० । बागलुङका दुई विद्यालयमा यस वर्षदेखि प्राविधिक धारतर्फको पशुविज्ञान पढाई सुरु भएको छ । जिल्लाको निसीखोला गाउँपालिकाको निसी स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालय र ताराखोला गाउँपालिकाको नेपाल मावि तारामा पशु विज्ञान पढाइ सुरु गरिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी भक्तपुरले बागलुङका दुई विद्यालयलाई कक्षा ९ मा पशु विज्ञान अध्यापनका लागि यस शैक्षिक शत्रमा अनुमति दिएको हो ।
नेपाल मावि तारा,ताराखोला गाउँपालिका ।
व्यावहारिक तथा प्रयोगात्मक शैक्षिक विकासले जनशक्ति प्रविधिमुखी बन्ने र रोजगारका लागि समेत सहज हुनेभएकाले यस तर्फ विद्यार्थीको आकर्षण बढेको नेपाल माविका व्यवस्थापन समिति अध्यक्ष दिवस खत्री (पदम)ले बताए । साधारण तर्फ २५÷२६ जना विद्यार्थी रहेको तर पशु विज्ञान तर्फ ४२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक थम प्रसाद रोकाले जानकारी दिए । पहिलो वर्ष कक्षा ९ं बाट प्राविधिक धार तर्फको पशु विज्ञान सुरु गरिएको छ, विद्यार्थीको आकर्षण पनि राम्रो छ, यसलाई आगामी दिनमा निरन्तर सञ्चालन गर्दै कक्षा १२ सम्मको अनुमति लिएर कक्षा सञ्चालन गर्दै जाने योजना रहेको अध्यक्ष खत्रीको भनाई छ ।
यता बागलुङको पश्चिम निसीमा रहेको ज्ञानेन्द्र माविका सञ्चालन भएको पशु विज्ञान तर्फको कक्षामा अहिले ४५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रत्रानाध्यापक अमृता बुढा मगरले ईबागलुङलाई बताईन । आसपासका विद्यालयबाटमात्र नभई ढोरपाटन नगरपालिकाको अर्नाकोट र निसीखोलाकै देविस्थान वायखोलादेखि निसीमा पशु विज्ञान कक्षाको पढाइमा विद्यार्थी आएको प्रधानाध्यापक बुढामगरको भनाई छ ।
प्राविधिक शिक्षा भएकाले पठनपाठनको व्यवस्थापन मिलाउन केही कठिन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्ती मगरले बताए । निसीको ज्ञानेन्द्र माविमा भैरहवाबाट डा. सुवास वेलवासे र दाङबाट आइ एस ए (एग्री) सुजाता शर्माले अध्यापन गरारहेको प्रधानाध्यापक अमृता बुढाको भनाई छ ।
ताराखोलाको नेपाल माविमा पनि विराटनगरबाट डा.आवास श्रेष्ठ र आए. एसए. एजी. पुजा घिमिरेले अध्यापन गराइरहेको नेपाल माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीले जानाकारी दिए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहँदा ताराखोलाको नेपाल माविमा ४ सय ९१ जना विद्यार्थी छन भने निसीखोलाको ज्ञानेन्द्र माविमा ७ सय १५ विद्यार्थी संख्या अहिले अध्यनरत रहेको विद्यालयले जनाएको छ ।
ताराखोलाको नेपाल माविले गत फागुनमा स्वर्ण महोत्सवका अवसरमा प्राविधिक सञ्चालनका लागि सञ्चालन गर्न भन्दै आर्थिक सहयोग अभियानबाट डेढ करोड रुपैयाँ सङ्कलन गरेको छ । भने निसीको ज्ञानेन्द्र माविले प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्दै देउसी भैलो अभियान र चन्दा सहयोग जुटाएको छ ।
त्रिपक्षीय पहलबाट मात्र सरकारी विद्यालयको शैक्षिक स्तर सुधार्न सकिन्छ : प्रअ बुढामगर