शव्द/चित्र : कुसुम थिङ
बागलुङ २०७६ साउन १२ । बागलुङ बजारको मौसम पुस माघ महिनामा जस्तै निर्मल छ । आकाशमा कहिँ कतै पानी बोकेका बादलका पोकाहरु देखिन्नन् । च्वातच्वात्ती पोल्ने सूर्यको ताप क्रमश बढ्दै छ । निर्मल आकाश सँगै पृष्ठभूमिमा कारीकोट तथा पन्चकोट दूरबिन बिना नै छर्लंग देख्न सकिन्छ ।
आकाशे पानीको भरमा खेत रोपाईँ गर्नु पर्ने भूभाग बागलुङमा धेरै छ । कृषकहरुले प्रयाप्त वर्षा नहुनाले अझै खेत रोपेर भ्याई सकेका छैनन ।
झमझम साउने झरी लागेर उछारबाटो नपाईने समय हो यो । दुई चार हल गोरुले खेत जोत्ने र हिलाउने बेला हो यो । खेताल्नीहरुले गीत गाउँदै धानको बीउ काढ्ने र रोप्ने समय हो यो । हिलो छ्याछ्याप गरेर रमाईलो गर्ने मौसम हो यो । बिडम्बना हिलोमा रमाउन मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखी काठेखोलाको अक्षेते सम्मको सडक बाहेक अर्को उपयुक्त स्थल (खेत) कहाँ पाउनु ?
2 Comments