Sorry, that menu does not exist.
 

यसपाली पनि गल्कोटको ऐतिहासिक स्थल नाच्ने डाँडामा तीज महोत्सव आयोजना गरिदे !

थम्मन थापा सन्देश गल्कोट २०७६ साउन १७ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गल्कोटकै ऐतिहासिक स्थल नाँच्ने डाँडामा यसपाली पनि तीज महोत्सव गरिने भएको छ । नाँच्ने डाँडा संरक्षण समाज गल्कोट नगरपालिका ७ मल्मले तीज महोत्सव आयोजना गरेको समाजका अध्यक्ष कोपीला खडकाले जानकारी दिईन् । अध्यक्ष खडकाका अनुसार आगामी भदौ १५ गते देखि १६ गते सम्म महोत्सव सञ्चालन हुनेछ र महोत्सवमा सामुहिक दर खाने कार्यक्रम समेत तय गरिएको छ । ऐतिहासिक स्थल नाच्ने डाँडामा परापूर्वकाल देखि नै प्रत्येक वर्ष तीज मेलाको सञ्चालन हुँदै आईरहेको अध्यक्ष खडकाले बताईन् ।

लोपोन्मुख कला संस्कृति हाम्रो शान भन्ने मुल उद्देश्यका साथ स्थापना भएको समाजले परम्परागत तीज मेलालाई निरन्तरता दिदै आएको छ । तीज महोत्सव सफल पार्न ज्ञान बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन समिति चयन गरिएको छ । त्यस्तै पत्राचार, मञ्च व्यवस्थापन, महोत्सव स्थल सफाई, प्रचार प्रसार, आन्तरिक व्यवस्थापन लगायतका विषयमा समेत अन्तरकृया गरिएको छ । समाजले मल्मको ऐतिहासिक नाच्ने डॉडाको संरक्षण सम्वर्दन गर्दै परम्परागत तीज विशेष कार्यक्रमलाई जीवन्त राख्न प्रत्येक वर्ष तीज मेला गर्दै आईरहेको छ । महोत्सवमा बृहत खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता, ज्येष्ठ महिला, सकृय महिला समाजसेवी, आगन्तुक चेली अभिनन्दन, खुल्ला सामुहिक नाचगान सॅगै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको जमघट हुने समाजका सचिव कोपिला थापाले जानकारी दिएकी छन् ।

महोत्सव सफल पार्न विभिन्न शिषर्कमा उपसमिति समेत चयन गरिएको छ । महोत्सवले परम्परागत तीज भाकाहरुको संरक्षण गर्दै नयाँ पुस्तालाई परम्परागत कला संस्कृति प्रति आकर्षण गर्न महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । नाँच्ने डाँडामा झण्डै २ सय वर्ष पुरानो ईतिहास बोकेको धार्मिक स्थल सिद्धेश्वर धार्मिक स्थल समेत रहेको छ । महोत्सवमा मन्दिरमा ब्रतालु महिला दिदीबहिनीहरुको लागि पूजाआजाको समेत प्रवन्ध मिलाईने सिद्धेश्वर शिवालय सेवा समितिले जनाएको छ ।

फाईल तस्वीर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply