दिलमाया अदै, ढोरपाटन, २०७६ साउन २१ । ढोरपाटनका किसानहरु यस वर्ष (सिजन) आलुको उत्पादन सन्तोषजनक नहुने आशंकाले पिरोलिएका छन् । चैतमा लगाएको आलु यतिबेला स्थानीयहरुले खान थालेका छन् । यसपालि आलुको जरामा त्यति धेरै दाना नलागेकोले उत्पादन कम हुने पिरोलो लागेको उनिहरु बताउछन् ।
असाद्धै मीठो, स्वादिष्ट र पोषिलो खानाको रुपमा मानिने ढोरपाटनको आलुको माग उच्च छ । व्यापारीहरु ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समितीले किसानहरु कहाँ गएर आलु खरीद गर्ने (बुक गर्ने) गर्छन र बुर्तिवाङ बजारमा ल्याएर थोक र खुद्रामा बिक्री गर्ने गर्छन् । बजारको समस्या नभएपनि ढोरपाटनका किसानहरु आलुको उत्पादन कम हुनेमा चिन्तित देखिन्छन् ।
ढोरपाटन पाखाथरकी हिमकुमारी मगर्नी आलुको बोट देखाउदै भन्छिन्- ‘यस पाली आलुको बोट हर्लक्कै अग्लो भएको र जरामा दानापनि थोरै लागेकोले गतवर्षहरु भन्दा उत्पादनमा कमी आउछ कि । यसपाली अत्याधिक हिमपातका कारण आलु रोप्न केहि ढीला भयो, त्यसैले हो कि भन्ने तर्क गर्छिन् ।’
आलु ढोरपाटनका किसानहरुको मुख्य बाली हो, सहकर्मी अस्मिता कायत भन्छिन्- ‘आलु हाम्रो बिहान र बेलुकाको मुख्य खाना र दिउसो खाजामात्र नभएर यसको विक्रीबाट घरखर्च चल्छ । उत्पादन कम भयो भने त समस्या नै पर्छ नि ।’
ढोरपाटनमा गत २०७४ सालमा ६० मुरी आलु उत्पादन (फल्ने) जग्गामा जम्मा १५ मुरी फलेकोे स्मरण गर्दै ढोरपाटनका किसानहरु यस वर्ष त्यति बिघ्न उत्पादनमा कमी त नआउला भन्ने आशामा देखिन्छन् ।
तस्वीर- हिमकुमारी मगर्नी, ढोरपाटन ।