किरण आचार्य, बागलुङ २०७६ साउन २४ । धौलागिरी अन्चल वस व्यवसायी समिति बागलुङले सन्चालनमा ल्याएको भीआईपी एसी रात्रिबसमा एकजना यात्रु लुटिएका छन् । हिँजो बिहीबार बागलुङ देखि काठमाडौका लागी छुटेको ध १ ज ६१३ नम्बरको भीआईपी एसी रात्रि बस सिट नं ९ मा यात्रा गरेका एक युवकलाई बेहोस बनाएर लुटपाट गरिएको हो ।
भीआईपी रात्रि बसमा बेहोस भएका बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरका किरण आचार्यलाई बसका चालक र सहचालकले सडकमा झारेर अलपत्र छोडेको प्रत्यक्षदर्शीले बताएका छन् । बस भित्र बेहोस अवस्थामा रहेका आचार्यलाई बसका चालक र सहचालकले आवश्यक सोधखोज नगरी बसबाट बसपार्कको सडकमा झारेर छोड्नु अमानवीय एवं रहस्यमय बनेको छ । बसका चालकलाई परिवारले सम्पर्क गर्दा जँड्याहालाई जवरजस्ती निकालेको भनेपछी घटनाको रहस्य खुलेको हो ।
सडकमा बेहोस आचार्यको पटक पटक फोन बजेको देखेपछि बसपार्क सुरक्षाकर्मीले फोन उठाएर परिवारलाई जानकारी दिएको बिरामीका बाबु मुक्तिराम आचार्यले बताए । सडकमा बेहोस आचार्यलाई बसपार्कका प्रहरीले मनमोहन अस्पतालमा लगेको थियो । हाल उनको मनमोहन अस्पतालको सघन कक्षमा उपचार भैरहेको परिवारजनले बताएका छन् । मनमोहन अस्पतालका चिकित्सकका अनुसार कोलोफम नामक लागु पदार्थ सुँघाएर बेहोस बनाएको देखिएको परिवारका सदस्यलाई बताएका छन् । उक्त बिषाक्त लागु पदार्थको गन्धले बेहोस भएकोले कम्तिमा २४ घण्टा सम्म आइसियुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले सुझाव दिएको परिवारले बताएका छन् ।
बागलुङ स्थित प्रभु बैँक शाखा कार्यालयमा कार्यरत आचार्य बिरामी श्रीमतीलाई भेट्न बिहीवार भीआईपी रात्रिबसमा काठमाडौँ हिँडेको बैँकका शाखा प्रवन्धक अर्जुन शर्माले बताएका छन् ।
लिएपछी पीडितका पिता मुक्तिराम आचार्यले जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी गंगबु काठमाण्डौमा उजुरी दिएका छन् । यता धौलागिरी अञ्चल यातायात बस व्यबसायी समितिमा समेत परिवारले उजुरी गरेको छ । बस व्यवसायी समितिका अध्यक्ष उमेश केसी एवं पदाधिकारीले तत्कालका लागी बेहोस आचार्यको उपचारमा सहयोग गर्ने र पूर्ण होसमा आएपछी छलफल गरी घटनाको छानविन गर्ने बताएका छन् । बस चालक र सहचालक समेतको मिलिमतोमा यो घटना घटाईएको आशंका परिवारजनको रहेको छ ।
बेहोस आचार्यले घाँटीमा लगाएको सुनको सिक्री र हातको सुनको औँठी गरी पौने तीन तोला र साथमा रहेको नगद १५ हजार भन्द बढी रकम लुटिएको पारिवारिक श्रोतको अनुमान छ । होसमा आएपछी यथार्थ कुरा थाहा हुने पनि पारिबारिक श्रोत भन्छ ।
19 Comments