Sorry, that menu does not exist.
 

लाम्मेलाका पहिरो पीडितलालाई १ लाख ४८ हजार राहत रकम सहित अन्य राहत सामग्री वितरण !

सुमन सुनार, बुर्तिबाङ २०७६ साउन २४ । तमानखोला गाउँपालिका वडा नं. ४ लाम्मेला सन्तरका पहिरो पिडितहरुलाई १ लाख ४८ हजार राहत रकम सहित अन्य राहत सामाग्री उपलब्ध गराइएको छ ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको विश्वकर्मा समाज, राजनैतिक दलका प्रतिनिधी, तमानखोला गाउँपालिकामा स्थायी घर भई बुर्तिबाङमा अस्थायी रुपमा बसोबास गर्दै आएका समाजसेवी, बुद्धिजिवीहरु, पत्रकारहरुको विशेष सक्रियतामा बुर्तिबाङमा सञ्चालन गरिएको राहत संकलन अभियानबाट संकलन गरिएको राहत रकम र राहत सामाग्री आज गाउँमै पुगेर वितरण गरिएको छ । अभियानबाट संकलित १ लाख ४८ हजार राहत रकम सहित खाद्यन्न, लत्ता कपडा, भाडाँकुडा लगायतका राहत सामाग्री पनि पहिरो पीडित परिवारलाई आजै हस्तान्तरण गरिएको छ ।

राहत संकलन अभियानमा संलग्न रेडियो बुर्तिबाङका संचारकर्मी योगेन्द्र विश्वकर्माका अनुसार, पहिरोमा परी मृत्यू भएका मृतकका परिवारलाई जनही २४ हजार ४ सय ५५ रुपैयाँका दरले ३ घर परिवारलाई ७३ हजार ३ सय ६५ रुपैयाँ राहत रकम हस्तान्तर गरिएको छ । त्यसैगरी पहिरोमा परी गम्भीर घाइते ३ जनाका परिवारलाई प्रति परिवार रु. १२ हजार २ सय २५ का दरले ३६ हजार ६ सय ७५ रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ भने पहिरो प्रभावित ५ परिवारका सामान्य घाईते ४ जनालाई जनही रु. ९ हजार ४५ का दरले ३६ हजार १ सय ८० रुपैयाँ उपलब्ध गराइएको छ ।

यस्तै राहत संकलन अभियानकै क्रममा संकलित साढे ३ क्वीन्टल चामल, ११ केजी दाल, ९ केजी नुन, ७ केजी भुजा, सात प्याकेट चाउचाउ, १ प्याकेट विस्कुट, दुई वटा गाग्री, १ ओटा बाल्टी, ११ ओटा थाल, २० प्याकेट खानेतेल, २ ओटा कराई, ४ ओटा बाँटा, १० ओटा ब्लाङ्केट, ३ थान डसना सहित लत्ता कपडाहरु पनि आजै पहिरो प्रभावितलाई उपलब्ध गराइएको छ ।

उक्त राहत रकम तथा राहत सामाग्री जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी तथा पत्रकारहरुको रोहबरमा वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष उदिम बहादुर छन्त्यालको विशेष उपस्थिति रहेको थियो ।

गत १९ गते आईतबार राती सन्तरमा अविरल वर्षासंगै गाउँ माथिबाट आएको भिषण पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी श्रीपाली, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण श्रीपालीको मृत्यु भएको थियो । करिव १ सय ५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा पुर्ण रुपमा क्षति पु¥याएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments

Leave a Reply