Sorry, that menu does not exist.
 

पर्यटकको आकर्षक गन्तव्य बन्दै सिग्दी सामुदायिक होमस्टे !

केशबराज क्षेत्री, बरेङ २०७६ साउन २८ । बागलुङ सदरमुकाम देखि दक्षिण भेग र गुल्मीको उत्तरी भेगको संगम स्थल बरेङ बजारबाट निकट रहेको सिग्दी सामुदायिक होमस्टे पर्यटकको गन्तव्यको रुपमा परिचित रहेको छ ।

बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दीमा अवस्थित होमस्टे शहरी कोलाहल र धुलो धुँवाबाट टाढा र प्राकृतिक सौन्दर्यतामा रमाउँदै पारिवारिक वातावरणमा आरामदायी बिस्तारा तथा सुखद बसाइँ रहेकोले पर्यटकको रोजाइमा परेको हो ।

स्थानीय रुपमा उत्पादित अर्गानिक खानाका परिकारहरुको स्वादका साथ स्थानीय लोक संस्कृति, सालैजो, सोरठी, मारुनी नृत्यमा रमाउन पाइने हुनाले होमस्टेमा आउने पाहुनाहरु हर्षित भएको होमस्टे सञ्चालन समितिका अध्यक्ष हिरा पुनले ईबागलुङलाई बताए ।

समुद्री सतहबाट करिब २१०० मिटरको उचाईमा रहेको सुन्दर र रमणीय सिग्दी गाउँमा रहेको सिग्दी सामुदायिक होमस्टे बरेङ गाउँपालिकाको पर्यटन क्षेत्रको लागि र पर्यटक भित्रयाउनको लागि महत्वपूर्ण स्थल रहनुका साथै होमस्टेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षहरुको संरक्षण र प्रवर्धन गर्दै आर्थिक स्तर उन्नती गर्ने उद्देश्य रहेको बताइएको छ ।

होमस्टेमा प्रवेश गरिसकेपछि पर्यटकहरु पैदल यात्रा गरि मनोरम दृश्य अवलोकन गर्दै स्थानीयहरुको न्यानो आतिथ्यताको अनुभव गर्न पाउने होमस्टे सञ्चालन समितिका अध्यक्ष पुनको भनाई छ । उनले भने, होमस्टेमा आएका पाहुनाहरु पदमार्ग हुँदै विभिन्न ठाउँहरु समेत अवलोकन गर्न सक्ने छन् ।

गत जेष्ठ पहिलो हप्ता सम्पन्न होमस्टेको भवन बरेङ गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो भने पदमार्ग निर्माणमा गण्डकी प्रदेशले सहयोग गरेको होमस्टे गत जेष्ठ १५ गतेबाट सञ्चालनमा आएको हो । होमस्टे सञ्चालन भएदेखि पाहुनाहरुको उल्लेख्य उपस्थिति रहेकाले पर्यटकको गन्तव्यको रुपमा सिग्दी सामुदायिक होमस्टे रहेको आयोजकले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply