सिर्जनशील समाजव्दारा गल्कोट–२ का ३० बालबालिकालाई २ लाखको शैक्षिक सामाग्री वितरण !
सुमन सुनार, गल्कोट २०७६ भदौ १० । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले कानूनमा जातीय विभेद गर्न नपाइने प्रावधान राखिए पनि व्यवहारमा लागु नगरिँदा दलितहरु दोस्रो दर्जाका नागरिक भएर बाँच्नु परेको बताएका छन् । गल्कोट नगरपालिका २ नरेठाँटीमा आयोजित तीज विशेष कार्यक्रमा बोल्दै नगरप्रमुख नेपालीले जातिय विभेद विरुद्ध बनेका ऐन कानुनहरुको सहि कार्यान्वयन नहुनुका साथै दलितका मुद्दा चुनावी नारामा मात्रै सीमित हुँदा दलित समुदायका नागरिकहरु सधैँ भोट बैंकका रुपमा प्रयोग भएको बताए । उनले धेरै पटक उम्मेदवार बनेर विजयी हुँदै आएकाहरुले दलित समुदायका लागि गतिलो कार्य गर्न नसक्दा दलित समुदायका समस्या जस्ताको तस्तै रहेको भन्दै आगामी दिनमा कुनै पनि प्रलोभनमा नपरी सहि नेतृत्व छनौट गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख नेपालीले सोहि तीज विशेष कार्यक्रमका आवसरमा गल्कोटमा क्रियाशील सृजनशील समुदाय समाजले गल्कोट नगरपालिका वडा नं. २ मा रहेका गरिव तथा विपन्न परिवारका बालबालिकालाई उपलब्ध गराएक शैक्षिक सामाग्री वितरण गरेका छन् ।
नगरपालिकाको वडा नं. २ स्थित ५ विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई करिव २ लाख बराबरको शैक्षिक सामाग्री उपलब्ध गराइएको समाजकी महासचिव विष्णु सुनारले जानकारी दिईन । नवयुवक आधारभूत विद्यालय ठानका ५ जना, रामकृष्ण प्राथमिक विद्यालय बयली तोरीखोलाका ६ जना, सितलपाती आधारभूत विद्यालय घसघसाका ५ जना, पैँयुडाँडा प्राथमिक विद्यालयका ३ जना र महेन्द्र आधारभूत विद्यालय नरेठाँटीका ११ जना गरी ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तारन्तरण गरिएको हो ।
बालबालिकालाई स्कुल ड्रेस, स्कुल व्याग, जुत्ता, मोजा सहित कपी, कलम, इरेजर, कटर, क्यालकुलेटर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको महासचिव सुनारले बताईन् । गल्कोट नगरपालिकामा स्थायी घर भई बैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुव्दारा संकलित रकमबाट शैक्षिक सामाग्री खरिद गरी बालबालिकालाई उपलब्ध गराइएको उनले बताईन् ।
मुधुमेह रोगबाट पीडित अस्मिता विक बचाउ अभियान, मृगौला रोग पीडित देवी विक बचाउ अभियान, मुटुरोगी सर्वजित विक बचाउ अभियान जस्ता विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको समाजले सोमबार गल्कोटको नरेठाँटीमा आयोजना गरेको तीज विशेष सामुहिक दर खाने कार्यक्रमको अवसर पारेर बालकालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको जनाएको छ ।
कार्यक्रमकै अवसरमा नगर प्रमुख नेपालीले स्थानिय कलाकार, आमा समुहहरुलाई नगद रकम सहित सम्मान समेत गरेका थिए ।
यस्तै कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र गल्कोटकी अध्यक्ष मुञ्जु शर्मा चालिसे, नेकपाका नेता केशर छन्तयाल, नेपाली कांग्रेस गल्कोट नगर सभापती यम श्रीष, दलित अधिकारकर्मी धिरेन विश्वकर्मा, महिला नेतृ कौसिला घर्ति मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष कृष्ण बहादुर सुनारको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिती बागलुङकी सदस्य रुपा विक, ढोरपाटन नगरपालिका वडा नं. २का वडा अध्यक्ष चित्र बहादुर भण्डारी लगायत स्थानिय समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष प्रेम विकको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव चन्द्रकला सुनारले गरेकी थिईन् ।
One Comment