बागलुङ, २०७६ भदौ १२ । विद्यामन्दिर पुस्तकालय बागलुङले १२ औँ राष्ट्रिय पुस्तकालय दिवस साताव्यापी कार्यक्रम गरी मनाइरहेको छ । दिवसका अवसरमा बिहीबार ‘पठन संस्कृतिको पूर्वाधार, पुस्तकालयको विकास र विस्तार’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगीतामा रुद्रेपिपल मावि कक्षा ९ मा अध्ययनरत अपेक्षा पौडेल प्रथम र यूयस एकेडेमी कक्षा १० मा अध्ययनरत समीक्षा भुषाल द्वितिय भएकी छिन् । चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कूल कक्षा १२ मा अध्ययनरत अनिल गौतम तृतिय र यूयस एकेडेमी कक्षा १० मा अध्ययनरत निशा कुँवरले सान्त्वना स्थान प्राप्त गरेको जनाइएको छ ।
प्रतियोगितामा बागलुङ नगरभित्रका १५ विद्यालयबाट २४ जना विद्यार्थीले भाग लिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी दिए । पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले स्थापना गरेको गङ्गाप्रसाद स्मृति कोषबाट प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।
भदौ १५ गते दिवस पर्ने भएपनि सोमबारदेखि नै मनाउन शुरु गरिएको पुस्तकालयका अध्यक्ष शर्माले बताए । पहिलो दिन प्रचारप्रचार, दोस्रो दिन पुस्तकालय प्रवद्र्धन कार्यक्रम र बुधबार पुस्तकालयमा रहेको बालविकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
शुक्रबार १५४ औँ मोती जयन्तीका अवसरमा धवलागिरि साहित्य प्रतिष्ठानसँग मिलेर कवि गोष्ठी लगायतका कार्यक्रम गरिने जनाइएको छ । शनिबार पुस्तकालय परिसर सरसफाइ र आइतबार पुरस्कार वितरणसहित पुस्तकालय दिवसको मूल समारोह आयोजना गरिने अध्यक्ष शर्माले बताए ।
विसं २००३ सालमा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै जेठो पुस्तकालय मध्येमा एक पर्छ । पुस्तकालयमा पाठक बढाउन पछिल्लो समय विद्युतीय पुस्तकालय ‘ई–लाइब्रेरी’ पनि सञ्चालनमा ल्याइएको छ । पुस्तकालयमा विभिन्न विधाका गरी १५ हजार बढी पुस्तक सङ्ग्रहित छन् ।