नाँच्ने डाँडा संरक्षण समाजलाई रु १ लाख दिने नगरप्रमुख नेपालीको उद्घोष !
कौरव खत्री, गल्कोट २०७६ भदौ १७ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले पढेलेखेका महिलाहरुले आफ्नो सर्टिफिकेट सिरानीमुनी राखेर नबसी देखाएर लोकसेवाको तयारी गर्न आग्रह गरेकी छन् । सोमवार नाँच्ने डाँडा संरक्षण समाज गल्कोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको प्रथम तीज महोत्सवको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश मन्त्री पुनले यस्तो बताएकी हुन ।
प्रदेश मन्त्री पुनले कला र भाषाको प्रज्ञाप्रतिष्ठान बनाउने तयारीमा प्रदेश सरकार लागेको बताउदै विकास निर्माणको लागि वडादेखि नै योजना बनाएर अगाडी बढ्नु पर्ने बताईन् । संविधानले हरेक ठाँउमा समावेशी रुपमा महिलाको व्यवस्था गरेको चर्चा गर्दै प्रमुख अतिथी पुनले महिला दिदीबहिनीहरु सामाजिक शैक्षिक र स्वास्थ्यका हिसावले सक्षम हुनु जरुरी रहेको बताइन ।
सोहि अवसरमा गण्डकी प्रदेश सांसद सावित्रा राना र जिल्ला समन्वय समितिका सदस्य रुपा विक, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा, ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ति, सामुदायिक केन्द्र गल्कोटका अध्यक्ष मञ्जु चालिसे, गल्कोट बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक मिना श्रेष्ठ घुम्टे युवा परिवार गनपा ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देश, बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोहोरी गायिका फुलमाया केसी, चर्चित लोक दोहोरी गायक रेशम निर्दोश सञ्चारकर्मी कौरव खत्री लगायतको सहभागिता रहेको थियो ।
“लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डाँडाको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका आईतवार देखि सुरु भएको तीज महोत्सव अन्तर्गत खुल्ला एकल नृत्य तथा सामुहिक नृत्य र विभिन्न प्रतियोगिताहरु सञ्चालन भएको तीज महोत्सव मुल समारोह समितिका संयोजक कोपिला खड्काले जानकारी दिइन ।
तीजको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनसँगै गल्कोट क्षेत्रकै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थलका रुपमा परिचित नाच्ने डाँडाको संरक्षण गर्दै शिद्वेश्वर शिवालय मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नाच्ने डाककडा तीज महोत्सव आयोजना गरिएको महोत्सव प्रचार प्रसार संयोजक एवं समाजका सह–सचिव थम्मन थापाले ईबागलुङलाई जानकारी दिए ।
तीज महोत्सवका अवसरमा सामुहिक तथा नृत्य, एकल नृत्य, खुल्ला तीज नाचगान, बयोवृद्धा महिलाहरुलाई अभिनन्दन, प्रायोजक तथा सहयोगदाता सम्मान गरिएको थियो भने इबागलुङका गुल्मी संम्वाददाता कौरव खत्री सम्मानित गरिएको थियो ।
महोत्सवमा नाच्ने डाँडा संरक्षण समाजको लागि अक्षयकोषमा रहने गरि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले रु.१ लाख १ हजार दिने घोषणा गरेका थिए ।
सो अवसरमा घुम्टे युवा परिवारको जापान शाखाव्दारा सहयोग प्राप्त गलकोट नगरपालिका ७ मल्म भल्साङ निवासी एकल वृद्धा मनकुमारी थापालाई नगद ३ लाख ५५हजारको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोहोरी गायिका फुलमाया केसी, चर्चित लोक दोहोरी गायक रेशम निर्दोश लगायतका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो ।
नाच्ने डाँडामा परम्परागत रुपमा झण्डै २ सय वर्ष भन्दा अगाडी देखि तीज मेला हुदै आईरहेको पाका पुस्ताहरुको भनाई छ ।
नाच्ने डाँडा तीज महोत्सव नाच्ने डाँडा संरक्षण समाज मल्मका अध्यक्ष कोपिला खड्काको अध्यक्षता,नाच्ने डाँडा तीज महोत्सव नाच्ने डाँडा संरक्षण समाज मल्मका सदस्य सविता मरासिनी स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सचिव कोपिला थापा र कल्पना भण्डारी गरेका थिए ।
6 Comments