सुमन जि.सी. बागलुङ, २०७६ भदौ १७ । बहुचर्चित नेपाली रियालीटी शो नेपाल आईडलका फस्ट रनरअप विक्रम बरालले आईताबार जिल्लाको काठेखोला गाउँपालीका वडा नं. ७ रेशको तीजी मेलामा आफ्नो बेजोड प्रस्तुती दिएका छन् ।
कला संस्कृती तथा खेलकुद संरक्षणमा हाम्रो सहभागिता भन्ने मुल नाराका साथ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि स्टार युथ क्लव रेशले, रेश नुन्थला माध्यामिक विद्यालयको प्राङगणमा आयोजना गरेको तिजी मेलाको प्रमुख आकर्षणको रुपमा विक्रम बराललाई निम्ता गरिएको थियो ।
मेलाका क्रममा आयोजना भएका अन्य विविध कार्यक्रमहरु समापन गरी आईतबार दिनको ४ बजेपश्चात मेलालाई सांगीतीक माहोल तर्फ रुपान्तरण गर्न विक्रमलाई स्टेज प्रदान गरिएको थियो । विक्रमले स्टेजबाट एलबोर्टस ब्याण्डको चर्चीत गीत “निश्चल” सुरुवात गर्दा तन्नेरी दर्शकहरु मैदानमा उफ्रिरहेका थिए भने अन्य उमेर समुहका दर्शकहरुलाई उक्त गितले झुमाउन नसकेको देखिन्थ्यो । त्यस पश्चात विक्रमले एउटा सालैजो गित मार्फत सबै खालका दर्शकहरुलाई आफुसंगै झुमाउन सफल भए । त्यसपछि विक्रमले बराबर मात्रमा एक पछि अर्को गर्दै दुई चरणमा करिब ७ वटा गितहरु बेजोड रुपमा प्रस्तुत गरेका थिए । चर्चीत व्याण्ड नेपथ्यको “तालको पानी” र नाईन्टीन सेभेन्टी फोर एडीको “साझाको बेला” गित सुनाईरहँदा दर्शकहरु रमाई रमाई गीतमा उफ्रिरहेको थिए ।
सांगीतिक माहोललाई विक्रमसंगसंगै चर्चित गायिका निता पुन, गायक ईश्व सिंह, सिंगर वि.वि. लगाएतले पनि दर्शकहरुलाई मज्जाले नचाउन सफल भए ।
भदौ १३ गतेबाट शुरुवात भएको तीजी मेलामा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, शोलो वाईक रेस, रस्साकस्सी लगाएतका विविध खेलकुद तथा सांस्कृतीक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
मेलाको अन्तिम दिन हिजो सम्पन्न औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी काठेखोला गाउपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछानेले तीजी मेला रेशको पहिचान भएको बताएका थिए । उनले यस्ता किसीमका मेलाहरुले वडाको पर्यटन प्रवर्धन र पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्टार युथ क्लवलाई मेला आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै वडा कार्यालयले खेलकुद तथा साँसकृतीक विकासमा सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।
काठेखोला गाउँपालीका स्तरमै क्रियाशिल र आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको स्टार युथ क्लव रेशले आगामि वर्षहरुमा यस्ता खालका कार्यक्रम तथा मेलाहरु आयोजना गर्नका लागि छुट्टै खेल मैदान निर्माण गर्न लागिरहेको छ । केन्द्रिय सरकार, गण्डकी प्रदेश, काठेखोला गाउँपालीका, वडा कार्यालय र विभिन्न चन्दादाताहरुबाट चन्दा संकलन गरी करिब २० लाखको लागतमा काठेखोला गाउँपालीका स्तरीय खेलकुद मैदान निर्माणको पहिलो चरण सम्पन्न भएको तिजी मेला समापनका क्रममा क्लवका अध्यक्ष एवं तिजी मेलाका संयोजक डिलवहादुर कार्कीले बताए । उनले क्लवले आगामी दिनमा मेलाहरु मात्र आयोजना गर्ने नभएर समाजमा हुने हरेक खालका क्रियाकलापहरुमा विभिन्न क्षेत्रसंग सहकार्य गरी विकास निर्माण र समाजसेवाका कार्यहरुमा समेत संलग्न हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।