Sorry, that menu does not exist.
 

देविस्थानमा फलेवास भूपू सैनिक मञ्चको कार्यालय उदघाट्न तथा भूपू सैनिक सम्मान कार्यक्रम सम्पन्न !

लक्ष्मण विश्वकर्मा, फलेवास २०७६ भदौ २१ । फलेवास नगरपालिका वार्ड नं. ६ देविस्थानमा फलेवास भुपु सैनिक मञ्चको कार्यालय उदघाट्न तथा भुपु सैनिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । फलेवास भुपु सैनिक मञ्चको आयोजनामा उक्त कार्यक्रम शनिवार देविस्थान राहालेमा सम्पन्न भएको हो ।

कार्यालय उदघाट्न तथा भुपु सैनिक सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा केबुल जंग गुल्म पर्वतका गुल्मपती आर्जन दुलालले फलेवासमा गठित मंचले निस्वार्थ र निश्पक्ष रुपमा सामाजिक कार्यमा अग्रसर हुँदै तारिफयोग्य कार्य सम्पादन गर्न आग्रह गरे ।

कुनै पनि राजनीतिक दल,तथा व्यक्तिको आग्रह पुर्वाग्रहमा नलागी समाजलाई हित हुने खालका उल्लेखनीय कार्य संचालन गर्दै संस्थालाई दिगो र प्रभावकारी बनाउन सबैसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा दुलालले जोड दिए ।

फलेवासमा भुपु सैनिक मञ्च स्थापना भएकोप्रति खुसी व्यक्त गर्दै सेना कल्याणकारी कार्यक्रमबाट यस सैनिक मञ्चलाई सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै फलेवास नगरपालिका वार्ड नं.६ देविस्थानका वार्ड अध्यक्ष भोलानाथ भुसालले नगरको समृद्धि र विकासका लागि भुपु सैनिक मञ्चले रचनात्मक कार्य संचालन गर्नुपर्ने बताए ।

उनले नेपाली सैनिकहरुले देश तथा विदेशमा आफ्नो ज्यानको बाजी राखेर सुरक्षार्थ अनवरत रुपमा खटेको बताउदै सेनाको कार्यशैलीको प्रसंशा गरे ।

सेनाहरु आफ्नो कर्मप्रती निष्ठवान रहदै इमानदारिता, लगनशीलता र अनुशासनमा जोड दिने भएकाले सभ्य समाज निर्माणका लागि भुपु सैनिकको अहम भुमिका रहने कुरामा विश्वस्त रहेको उनको भनाई थियो । भुसालले अवकाशपछि पनि फलेवासका भुपु सैनिकहरुले सामाजिक कार्यमा रुचि राख्दै मञ्च गठन गरेकोमा खुसी व्यक्त गर्दै मंचलाई सबैको साथ र सहयोग रहने प्रष्ट पारे ।

वडाध्यक्ष भुसालले देश तथा विदेशमा सैनिकहरुको महत्त्वपूर्ण योगदान रहेको बताउदै उनिहरुलाई नगरले सधैं सम्मान गर्ने बताउदै मंचलाई सामाजिक तथा नगरको विकास निर्माणका कार्यमा संगै हातेमालो गरेर अगाडि बढ्न अनुरोध गरे ।

सकारात्मक ढगंबाट सबै पक्षसंग सहकार्य गर्दै निस्वार्थ रुपमा सामाजिक कार्यमा अग्रसर हुने उदेश्यले फलेवास नगरपालिकाका सबै भुपु सैनिकहरुको साझा संस्थाको रुपमा २०७६ बैशाख ११ गते बैधानिक तरिकाले ११ सदस्य तदर्थ कार्य समिति गठन गरि फलेवास भुपु सैनिक मञ्च स्थापना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम अधिकारीले सो अवसरमा बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ जिल्ला कार्य समिति पर्वतका अध्यक्ष युवराज सुवेदी, नेपाली काग्रेस फलेवास नगर संयोजक हिरामणी सापकोटा, फलेवास नगर प्रवक्ता नारायण रखाल, नेकपाका नेता तथा समाजसेवी बलाराम भुसाल, राप्रपा नेपाल प्रदेश कमिटी सदस्य ठाकुर प्रसाद भुसाल, नेपाल शिक्षक संघ फलेवास नगर कमिटी अध्यक्ष पुर्ण कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै फलेवास भुपु सैनिक मञ्चको कार्यालय संचालनका लागि देविस्थान राहाले निवासी समाजसेवी किरण श्रेष्ठले निशुल्क कोठा उपलब्ध गराउनुभएको छ ।
साथै सोही कार्यक्रममा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ जिल्ला कार्य समिति पर्वतका अध्यक्ष युवराज सुवेदीले सामाजिक उत्तरदायित्व बहन गर्न सहज होस भनेर उक्त मञ्चलाई ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा फलेवास नगरपालिका ६ देविस्थान निबासी बिटिस आर्मिबाट अवकाश प्राप्त समाजसेवी १०३ बर्षिय रत्न बहादुर थापा, मञ्चको कार्यालय संचालनको लागि निशुल्क कोठा प्रदान गरेका नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी किरण श्रेष्ठ तथा धर्मपत्नी दुर्गा श्रेष्ठ र नेपाल प्रहरीबाट अवकाश प्राप्त स्वर्गीय हर्ष बहादुर नेपालीको श्रीमती पार्वती नेपालीलाई सम्मान गरिएको थियो ।

फलेवास भुपु सैनिक मञ्चका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्व सैनिक तथा समाजसेवि राम बहादुर थापाको स्वागत मन्तव्य र कार्यक्रमको संचालन अहिंसावादी रेडियो पर्वतका कार्यक्रम संयोजक लक्ष्मण विश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !