Sorry, that menu does not exist.
 

पर्वतमा कात्तिक महिना देखी स्वास्थ्य बिमा कार्यक्रम सुरु : फलेवासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न !

लक्ष्मण विश्वकर्मा ,फलेवास २०७६ भदौ २४ । सरकारले संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रम पर्वत जिल्लामा आगामी कात्तिक महिना देखि सुरु हुने भएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई नागरिकहरुमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यले संचालन गरिएको कार्यक्रम पर्वतमा पनि सुरु हुने भएको हो । उक्त कार्यक्रम लागु हुनुपुर्व जिल्लाका विभिन्न पालिकाहरुमा सरोकारवालाहरु,जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु बिच अभिमुखिकरण कार्यक्रम संचालन गरिएको स्वास्थ्य बिमा बोर्डका प्रतिनिधि राम कुमार श्रेष्ठले जानकारी दिए ।

७ स्थानीय तह रहेको जिल्लामा मोदिी गाउँपालिका र फलेवास नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भैसकेको र बाँकी अन्य पालिकाहरुमा पनि अभिमुखिकरण कार्यक्रम संचालनको क्रममा रहेको उनले बताए ।

सोमबार नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजनामा फलेवास नगरपालिकामा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुनु गौरवको कुरा भएको बताउदै आर्थिक स्थित कम्जोर भएका नागरिक तथा जटिल रोगका बिरामीहरुले बिमा मार्फत सुलभ र सहज स्वास्थ्य सुबिधा लिन सक्ने विश्वास दिलाए ।

जनतालाई स्वास्थ्य बिमाप्रति आकर्षित गराउन बिमा सम्बन्धि स्पष्ट बुझाउन सक्ने अब्बल व्यक्ति छनोट गरि नगरका हरेक वार्डहरुमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने कुरमा शर्माले जोड दिए । संबिधानमा नै नागरिकको आधारभुत स्वास्थ्यको ग्यारेन्टी सरकारले लिएको उल्लेख गर्दै आधरभुत स्वास्थ्य र सरसफाइमा स्थानीय सरकारले जोड दिएको शर्माको भनाई थियो ।

त्यस्तै नगर उपप्रमुख मन्जु अधिकारीले ग्रामीण भेगका महिलाहरु विभिन्न रोगको चपेटामा परेको उल्लेख गर्दै त्यस्ता महिलाहरूको समस्या समाधान गर्नको लागि यो कार्यक्रम अति महत्त्वपूर्ण हुने बताउदै ती महिलाहरू अझ बढि लाभान्वित हुने बताईन् ।

स्वास्थ्य जोखिम बहन गर्न र भावि दिनमा भैपरी आउने स्वास्थ्य समस्याको सहज,सुलभ उपचारका लागि स्वास्थ्य बिमामा आबद्ध हुन अधिकारीले सबैलाई आग्रह गरिन् ।
कार्यक्रम बोल्दै प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले आर्थिक अभावमा स्वास्थ्य उपचार नपाएका र जटिल रोगका मनिसहरुलाई यो कार्यक्रम अति लाभदायी हुने बताए ।

त्यस्तै नगरपालिकाका प्रवक्ता तथा वार्ड नं. ४ मुडिकुवाका अध्यक्ष टिकाराम गौडेलले नगरका बिपन्न,गरिब तथा आयस्रोत कम भएका घरपरिवारलाई स्वास्थ्य बिमा कार्यक्रम अति महत्वपूर्ण भएको बताएका थिए । नागरिकलाई शिक्षा,स्वास्थ्य रोजगार लगाएतका क्षेत्रमा सरकारले प्रत्याभूत दिलाएको बताउदै नगरका सबै वार्डहरुमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन अग्रसर हुने गौडेलले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य बिमा भनेको के हो ? स्वास्थ्य बिमाका फाइदाहरु लगाएतका बिषयमा छ्लफल गरिएको थियो ।

स्वास्थ्य बिमाका लागि प्रत्येक वार्डमा एक जना बिमा गराउने सहयोगी खटाइने भएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन रेडियो, टेलिभिजन, पत्रपत्रिका, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, तथा सचेत नागरिकहरुले स्वास्थ्य बिमाको बारेमा गाउँगाउँमा चेतना फैलाउनुपर्ने कुरामा जोड दिइएको छ ।

उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य बिमा बोर्डका प्रतिनिधि राम कुमार श्रेष्ठ र सृजना पन्तले गरेका थिए । वि.सं. २०७२ कार्तिक २० गते कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हालसम्म देशका ४७ जिल्लाहरुमा लागु भैसकेको छ । सन २०२० भित्रमा देशका ७७ जिल्लामै कार्यक्रम लागू गरिसक्ने सरकारको उदेश्य रहेको छ ।
अति बिपन्न र ७० बर्ष माथीका बृद्धाबस्थाका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य बिमा गरिनेछ भने अन्यको हकमा एक घरका ५ सदस्यले रु. ३ हजार ५ सयको बिमा गरि बर्षभरी १ लाख बराबरको स्वास्थ्य उपचार गर्न पाउने छन, परिवारमा ५ जनाभन्दा बढी भए प्रति सदस्यको ७ सयका दरले थप रकम तिर्नुपर्ने छ,स्वास्थ्य बिमा बर्ष बर्षमा नवीकरण गर्नुपर्नेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !