Sorry, that menu does not exist.
 

खुँगामा नवनिर्मित स्वास्थ्य चौकी तथा विद्यालय भवनको उद्घाटन !
राज्य सत्तामा बस्नेहरुबाटै गणतन्त्र प्रति नागरिकमा वितृष्णा पैदा भएको प्रमुख ढुंगानाको आरोप !

राम सुवेदी, बुर्तिवाङ २०७६ भदौ २७ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढँुगानाले ढोरपाटन नगरपालिकाको वडा नं. ४ खुँगामा नवनिर्मित स्वास्थ्य चौकी भवन तथा हुन्द्रफेदी स्थित प्रकाश माध्यमिक विद्यालय भवनको उद्घाटन गरेका छन् ।

शहरी विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा, निर्माण सम्पन्न खुँगाको छोरेगाउँ स्थित स्वास्थ्य चैकी तथा जिल्ला शिक्षा समन्वय इकाई बागलुङको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न प्रकाश माध्यमिक विद्यालय हुन्द्रफेंदीको विद्यालय भवनको शिलालेख अनावरण गरेर जिसस प्रमुख ढुँगानाले विहिबार एकैदिन उद्घाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथि ढुँगानाले, ‘राज्यले भौतिक पूर्वाधारसँगै जनतामा प्रवाह गर्ने सेवा सुविधालाई समेत व्यवस्थित गर्न ध्यान दिनुपर्नेमा जोड दिए । देशमा संघीयता आयो भने सबै विकास हुन्छ भनेर चुनाव जितेका दलहरुप्रति लक्षित गर्दै जिसस प्रमुख ढुँगानाले, ‘व्यवस्था फेरिएर गणतन्त्र त आयो, तर जनताको मुहार फेर्ने नीती कार्यक्रम र योजनाहरु आउन नसक्नु दुर्भाग्य भएको टिप्पणी गरे । जनतालाई ढँटेर, छलेर, भोट किनेर राज्य सत्तामा बस्नेहरुबाटै गणतन्त्र जस्तो मर्यादित व्यवस्थाप्रति नागरिकमा वितृष्णा पैदा भएको भन्दै उनले, व्यवस्थाको व्यवस्थापन हुन नसक्नु राम्रो पक्ष नभएको बताए ।

‘जनमत लिएर निर्वाचित भएका जनप्रतिनिधिहरु जनताको सेवा र उनीहरुको समस्या बुझ्न सक्ने हुनुपर्ने बताउँदै ढुँगानाले, जनप्रतिनिधिहरु हिजोका जस्ता सामन्ती परम्पराका देखिनु मतदातालाई वास्ता नगर्ने, जनभावना विपरित कामगर्ने हुनुले नै यो व्यवस्था प्रति खतरा बढेको उनको भनाई थियो ।

गणतन्त्र आएपनि देशमा शु—सासन आउने, भ्रष्टाचार नहुने, जनताकोबीचबाट योजना बन्ने र जनताकै सहभागीतामा विकास हुने अपेक्षा थियो तर त्यस्को सही सदुपयोग गर्न नजान्नु राज्य व्यवस्थापककै कमजोरी भएको संयोजक ढुँगानाले बताए ।

स्थानीय जनताको सहयोग, सक्रियता र चासोका कारण छोटो समयमै स्वास्थ्य चौकी भवन निर्माण गर्न सफल भएको बताउँदै वडा नं. ४ का वडा अध्यक्ष तिलक पुनले, ‘भौतिक संरचना निर्माण सम्पन्न भएपनि स्वास्थ्य सेवा प्रवाहमा अझै मेहनत गर्न आवश्यक रहेको बताए । स्वास्थ्य चौकीलाई आवश्यम दरबन्दी छ तर त्यसको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न स्थानीयको अझै बढी सक्रियता चाहिने अध्यक्ष पुनले बताए । आगामी दिनमा एम्बुलेन्स ल्याउन पहल गर्ने, ल्याव सेवा सहितको स्वास्थ्य सेवा प्रवाह र प्रसुति गृहको थप व्यवस्थापनमा वडा समितिले योजना बनाउँदै जाने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष युवराज महत, नयाँ सहरी आयोजना बुर्तिबाङका ईञ्जिनियर कोमल शाह, छोरेगाउँ माविका प्रधानाध्यापक ताराप्रसाद कँडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा कार्यपालिका सदस्य कमला छवि विक, स्वास्थ्य कार्यालय बागलुङका प्रतिनिधि चुडामणी कँडेल, रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, स्थानीय राजनैतिक पार्टी प्रतिनिधि, आमा समुह, संघ संस्थाका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको आतिथ्यता रहेको थियो ।

६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा १ जना सिनियर अहेव, १ जना अहेव, २ जना अनमी र १ जना कार्यालय सहयोगीले सेवा दिएको स्वास्थ्यचौकी ईञ्चार्ज रामेश्वर ठाकुरले बताए । खुँगा स्वास्थ्यचौकीको दरबन्दीमा आएका डा चन्द्र बहादुर विकलाई नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमै काजमा खटाएको छ । वडा नं. ४ को खुँगामा नयाँ सुविधा सम्पन्न स्वास्थ्य भवन बनेपछि सेवा दिन सहज भएको ईञ्चार्ज ठाकुरको भनाई छ । तर जिल्ला स्वास्थ्य कार्यालय हुँदाको समयमा स्वास्थ्य चौकीमा औषधि अभाव कहिल्यै हुँदैन्थ्यो, नगरपालिका स्थापना भएर औषधिको व्यवस्थापन गर्न थालेपनि स्वास्थ्य संस्थामा औषधि अभाव खड्किदै गएको उनले गुनासो गरे । नगरपालिकाले समुचित व्यवस्थापन गर्न सक्नु पर्दथ्यो, अहिले स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ । जस्ले जनतालाई सेवा दिन कठिनाई भएको उनको भनाई छ ।

यसैबीच वडा नं. ४ को लुकुरबनमा समेत शहरी स्वास्थ्य केन्द्र स्थापना गरि १ जना एच ए र १ जना अनमीबाट सेवा विस्तार गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !