Sorry, that menu does not exist.
 

वामी टक्सारमा संविधान दिवस सम्पन्न : स्थानिय तह संविधान कार्यान्वयन गर्ने आधारभुत तह – नगरप्रमुख सापकोटा

कमल पौडेल, वामीटक्सार, गुल्मी २०७६ असोज ३ । संविधान दिवसको अवसरमा मुसिकोट नगरपालिकाले आयोजना गरेको नेपालको संविधानको प्रभावकारी कार्यान्वयनको लागी स्थानिय तहको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिका नीतिगत ढंगले चलिरहेको बताएका छन् । ।

स्थानिय तह संविधान कार्यान्वयन गर्ने आधारभुत तह भएको भन्दै नगरप्रमुख सापकोटाले नगरपालिकाले इमान्दारीपूर्वक काम गरेको बताए । उनले आफुहरु जनताको सेवा गर्न निर्वाचित भएको भन्दै नीति र विधिमा रहेर काम गरिरहेको दावी गरे ।

मुसिकोट नगरपालिकाले ५३ ओटा कानुन निर्माण गरेको जानकारी गराउँदै नगरप्रमुख सापकोटाले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभुत विषयलाई पूर्ण निशुल्क गराउन केहि समय लाग्ने बताएका थिए । ३/४ महिना भित्रमा ४२ प्रतिशत घर धुरीमा एक घर एक धारा पुर्याइने बताउँदै नगरप्रमुख सापकोटाले नगरपालिका भौतिक पूर्वाधार निर्माणमा निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका नगर इन्चार्ज जीवन खरेलले लोकतान्त्रिक गणतन्त्र जनताको आर्थिक तथा श्रमको सकारात्मक सहभागिता विना हुन नसक्ने बताउँदै पद्धति, प्रणाली सहज हुनुपर्ने बताएका थिए । कार्यक्रममा नेकपाका अध्यक्ष खुम वहादुर थापाले स्थानिय सरकारले साधन श्रोतको सहि सदुपयोग गर्नुपर्ने बताए भने नेपाली काग्रेसका मुसिकोट सभापति सुदर्शन शाक्यले संविधानको अक्षरस पालना हुनुपर्ने भन्दै राज्य संयन्त्रकै कारण वाह्य चलखेल वढेको र संविधान माथि चुनौती थपिएको बताए ।

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, नगरपालिकाका कानुनी सल्लाहकार अनन्तलाल भण्डारी, नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक सुरेन्द्र नेपाली, नेपाल शिक्षक संघका नगर सचिव भिमसेन केसि, मुसिकोट युनेस्कोका अध्यक्ष मोहन घिमिरे, मुसिकोट नगरपालिकाका गोविन्द कँडेल, नेरासमाविका इन्द्रमणि खनाल लगाएतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार निलम कुमार शर्मा, वुद्धि प्रसाद भण्डारीले कविता तथा सागर भट्टराईले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम पूर्व पञ्चैवाजा, झाँकी, भजन, सोरठी सहितको र्यालीले वामीटक्सार वजार परिक्रमा गरेको थियो।

कार्यक्रम नगरपालिकाका उपप्रमुख कमला शर्माको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, शिक्षक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment