Sorry, that menu does not exist.
 

त्रिवेणी वचत तथा रिण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न !

बुर्तिवाङ २०७६ असोज १३ । त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसधा आज बुर्तिबाङमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नेत्रलाल उपाध्यायको अध्यक्षता रहेकाको उक्त कार्यक्रममा जेष्ठ शेयर सदस्य प्रेम बहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो । उनले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

साधारणसभाको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि कुँवरले थोपाथोपा मिलेर सागर बनेजस्तै छरिएर रहेको पुँजीलाई एकीकृत गरी सहकारीको माध्यमबाट संस्थामा आवद्ध शेयर सदस्यहरुको आर्थिक जीवनस्तर वृद्धि गर्नमा संस्थाको महत्वपूर्ण भूमिका रहेको र अहिलेसम्म आईपुग्दा संस्थागत विकासमा क्षेत्रकै उत्कृष्ट सहकारी बन्न सफल भएको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष नेत्रलाल उपाध्यायले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुको जागरुकता, कार्यसमिति, उपसमितिहरु, कर्मचारी लगायतको सक्रियताका कारण संस्थाले छोंटो समयमा नै गुणात्मक प्रगति गरेको बताए । संस्थाको विकासका लागि योगदान पुराउनुहुने शेयर सदस्य एवं कार्यक्रममा उपस्थित सबैलाई उनले धन्यवाद दिएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं ऋण लगानी उपसमितिका संयोजक उत्तम बहादुर महतले संस्थाको वर्तमान अवस्थाको बारेमा जानाकारी गराउँदै देशको समृद्धि र विकासको लागि देशमा सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका थिए । उनले निम्न वर्गका शेयर सदस्यहरुको जीवनस्तर वृद्धि गरी सामाजिक आर्थिक विकासमा त्रिवेणीको भूमिका उल्लेखनीय रहेको बताउँदै संस्था आफ्नो स्थापना कालदेखि नै सामाजिक सेवाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले आगामी दिनहरुमा पनि अझै सक्रिय भूमिका रहने विश्वास दिलाए ।

कार्यक्रममा संस्थाका संरक्षक घनश्याम शर्मा, लेखा समितिका संयोजक ढालेन्द्र छन्त्याल, सल्लाहकार समितिका संयोजक नवीन जी.सी., शेयर सदस्यहरुको तर्फबाट गण्डकी थापा अधिकारी, जनप्रतिनिधिहरुको तर्फबाट युवराज महत, संघसंस्थाको तर्फबाट नेपाल पत्रकार महासंघ बागलुङका सदस्य लोकेन्द्र सुनार, त्यसैगरी ऋण असुली समितिका संयोजक राम प्रसाद आचार्य, शिक्षा उपसमितिका संयोजक थमनाथ पौडेल, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाकी सचिव कृष्ण कुमारी आचार्यले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष हिरालाल खनालले संस्थाको आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रमकै अवसरमा २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा लिने हिमशीला कुँवर र कक्षा ११ मा उत्कृष्ट नतिजा लिने सागर कँडेललाई मायाको चिनो र सम्मानपत्रले सम्मान गरिएको थियो । संस्थाले विगतका वर्षहरुदेखि नै शेयर सदस्यहरुबाट उत्कृष्ट नतिजा लिने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गर्दै आएको छ ।

बागलुङ पश्चिम क्षेत्रमा वि.सं. २०६४ सालमा स्थापना भएको त्रिवेणी वचत तथा रिण सहकारी संस्थामा हाल ५ सय ४५ जना शेयर सदस्यहरु रहेका छन् भने ३ हजार ६ सय ७ जना वचतकर्ताहरु रहेका छन् । आर्थिक वर्ष २०७५÷०७६ सम्ममा संस्थाको कुल शेयर पुँजी ५ करोड ४ लाख ८३ हजार ९ सय पुगेको छ भने उक्त आर्थिक वर्षमा मात्र संस्थाले कुल ५७ करोड भन्दा वढीको नगद कारोवार गरेको बताइएको छ ।

संस्थाका अध्यक्ष नेत्रलाल उपाध्यायको अध्यक्षता र शेयर सदस्य ज्ञान प्रसाद कँडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाकी सचिव कृष्ण कुमारी आचार्य र सहसचिव रितुवर्ण पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !