प्रेम सुनार, गुल्मी २०७६ कात्तिक ७ । अहिले अलि तल खोलाको बालुवा पनि भनेको बेला ट्याक्टर नपाउँदा निर्माण कार्यमा ढिलाई भएको निर्माण समितिले बताउँ छन । तर कुनै समयको अत्यन्तै दुर्गम गाउँ गुल्मीको मुसिकोटमा विद्यालय निर्माण गर्दा भैरहवा देखि मानिसले बोकेर ल्याएको निर्माण सामग्रीले पनि समय मै निर्माण कार्य सम्पन्न गरेका हुन्थ्यो भन्ने ज्वलन्त उदाहरण अहिले पनि देख्न सकिन्छ ।
कुरो २०३० साल तिरको थियो । हालको मुसिकोट नगरपालिका वडा नम्वर ३, मैदानमा रहेको पृथ्वी मावि र तत्कालीन खड्गदय प्रावि संगै पृथ्वी मिडिल स्कुलले त्यो बेला दिएको उदाहरण अहिले पनि प्रेरणादायी छ ।
हालको पृथ्वी माविका अवकास प्राप्त संस्थापक प्रधानाध्यापक पृथ्वीबहादुर थापा त्यस बेलाको कुरा यसरी स्मरण गर्छन –‘ त्यति बेला ८ कोठे ढुगाले छाएको अर्धपक्की भवन बनाउन सुरु गरेका थियाँैं । फलामे झ्याल , ग्रिल र रेलिङ्गहरु त्यति बेला यहाँ पाउने कुरै थिएन । बुझ्दै जाँदा भैरहवा पाईन्छ भन्ने सुनेपछि शंकर सर संग २० जना भरिया पठाएर ल्याउन लगाईएको थियो ।
शंकर सर अर्थात तत्कालीन सहायक प्रधानध्यापक पद्म शंकर जिसी । जसलाई शंकर सरका नामले चिनिथ्यो । पुर्व प्रधानध्यापक स्मरण गर्दै थप्छन– २० जना अरु मानिस र शंकर सरले समेत झ्याल ढोका र रेलिङ्ग बोकेर त्यस्तै आठ देखि १० दिनका दिन स्कुलमा ल्याई पुयाएका थिए । उनी ती दुख गरेर ल्याएका ती रेलिङ्गहरु अहिले विद्यालयले संरक्षण नगरेको प्रति दुखेसो पोख्छन ।
५ हजार अनुदान पाउँदा धन्य ठानिन्थ्यो
थापा थप्छन –त्यति बेला त्यो भवन बनाउँदा बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष चुराबहादुर घिमिरे हुनुहुन्थ्यो । पुरै गाउँवासीले झारा लगाएर ( जनश्रमदान गराएर ) बनाएका हुन । सामान किन्नका लागि चन्दा उठाएका थियौं । देउँसी भैलो पनि खेलेर रकम जुटाएका थियौं । त्यति बेला म जिल्ला शिक्षा समितिमा शिक्षक प्रतिनिधी थिएँ । त्यस्तै २०२२ देखि २०२४ साल अघि सम्म जिल्ला शिक्षा कार्यालय थिएन । एक जना नायव सुब्बा सरहका कर्मचारी जिल्ला शिक्षा प्रतिनीधीका रुपमा खट्थे । लुम्विनी अञ्चल शिक्षा कार्यालय तौलिहवामा थियो ।
मलाई लाग्छ २०२४ साल तिर जिल्ला शिक्षा कार्यालय गुल्मीमा स्थापना भएको थियो । गुल्मीको पहिलो जिल्ला शिक्षाा अधिकारीका रुपमा वामीटक्सारका भिष्मप्रसाद शर्मा आउनु भएको थियो । उहाँको एकदमै सहयोग रहेको थियो । जिल्ला शिक्षा कार्यालयमा रिभल्वीङ फण्ड भन्ने हुन्थ्यो ।
त्यस फण्डबाट सापटी स्वरुम भवन निर्माण वा अन्य कार्याका लागि पैसा पाईन्थ्यो । २०३० सालमा ५ हजार रकम त्यस फण्डबाट ऋण लिएर भवन बनाउन सुरु गरेका थियौं । २०३१ सालमा नयाँ शिक्षा ऐन लागु भएपछि जिल्ला शिक्षा समिति गठन भयो । त्यस समितिमा म पहिलो शिक्षक प्रतिनिधीका रुपमा परेको थिएँ ।
जसले गर्दा उनै पहिलो जिल्ला शिक्षा अधिकारी भिष्मप्रसाद शर्माबाट उक्त पाँच हजार रुपैया मिनाह गराएको थिएँ । त्यो रकम अनुदानका रुपमा मिनाह हुँदा धन्य लाग्थ्यो । अहिलेको हकमा त्यो पाँच हजार रुपैयाँ कम्तीमा १० लाख बराबर थियो । २०२८ साल पछि राजा विरेन्द्रको राज्यरोहणको अवसर पारेर भवनको शिलान्यास गरिएको थियो ।
२२ हजारमा पुरै निर्माण सामग्री
थापाले थप सुनाए –त्यस्तै बिसबाईस हजार रुपैयाँ जुटाएर शंकर सरलाई झ्याल, रेलिङ्घ किला काँटी लगायतका चाहिने सामग्री लिन पठाएका थियौं । उक्त रकमले ढुङ्घाले छाएको आठकोठे भवन बन्यो । अहिले आरसीसी भवनमा बनेको थियो त्यो भवन ।
२०१४ सालमा खड्गदय प्रा. वि एकातिर अर्को तिर पृथ्वी मिडिल स्कुलका रुपमा स्थापन भएको थियो । पृथ्वी मिडिल स्कुल स्थानिय श्रोतमा चलेको थियो भने खड्गदय प्राृवि सरकारी अनुदानमा चलाईएको थियो ।
त्यति वेला माविले बर्षको ३६ सय अनुदान पाउँथे , निमाविले बर्षको १८ सय र प्राविले बर्षको ११ सय अनुदान पाउँथ्यो । त्यही बर्षको ११ सयले चलाउन हम्मेहम्मे परेपछि चन्दा माग्नु र देउँसी भैलो खेलेर रकम जुटाउनु शिवाय अरु विकल्प थिएन ।
जो जसको योगदान भुल्नु हुँदैन
उनी स्मरण गर्छन– २०१४ साल तिर खिदिमबाट जिल्ला शिक्षा निरिक्षक रामजी प्रसाद गौतम केही बिद्यार्थी लिएर आउनु भएको थियो । ति विद्यार्थीहरु थिए कलेज अफ एजुकेशन काठमाण्डौले अध्ययन गराएका । त्यति बेला शिक्षक उत्पादन त्यसै कलेजले मात्रै गर्दथ्यो ।
जुन काठमाण्डौमा मात्रै थियो । उनै विद्यार्थीहरुले नै गाउँका पढालेखाहरुलाई तालिम दिएर शिक्षक बनाउँथे । उनै रामजीप्रसादले हामीलाई एउटा बिद्यालय भवन र एउटा शिक्षकको कोटा दिनु भयो । उहाँ कै माध्यमबाट काठमाण्डौबाट पहिलो शिक्षकका रुपमा रामजीप्रसाद ढुगाना आउनु भएको थियो ।
उहाँ आठ नौ महिना पछि जानु भयो । त्यस पछि हामीले केहि शिक्षकहरु बाहिरबाट मगायौं । एक जना बडागाउँको बारुखामा हालको मुसिकोट मावि र तत्कालिन प्राविका लागि पाल्पाका हिरालाल गुबाजु आउनु भयो । जुन २०२१ सालको कुरा थियो ।
रिडीबाट गंगालाल शाक्य आउनु भयो र तल हालको खस्थोक माविमा पढाउन थाल्नु भयो । यस पृथ्वी माविमा तानसेनका प्रख्यात कवि माधवप्रसाद देवकोटाका छोरा कृष्णचन्द्र देवकोटा आएर दोश्रो शिक्षक हुनुहुन्थ्यो ।
बुढाथोक देउरालीमा रहेको हालको श्री नेरा त्रिभुवन माविमा भने पहिलो शिक्षक तिलबहाद खत्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । ती पात्रहरुलाई सम्वन्धित विद्यालयहरुले कहिल्लै भुल्न नहुने सुझाव थापाले थिए ।
त्यस्तै थापाले तत्कालिन खड्गदय प्रावि र पृथ्वी मिडिल स्कुल स्थापना गर्ने तत्कालिन प्रधानपञ्च तथा त्यस विद्यालयका ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष नरिनारायण घिमिरे , डाँडाथोकका सुवेदार विष्णुबहादुर सिंह , मुसिकोट दलुङ्घका रणबहादुर सिहं लगायतका योगदानकर्ताहरु त्यस विद्यालयका प्रातः स्मरणीय पात्र रहेको बताए ।
हालका प्रधानध्यापक चन्द्रबहादुर पाण्डेका अनुसार चिनबहादुर सिंहले पनि एक कार्यकाल अध्यक्ष भएको हुन सक्ने बताए । उनका अनुसार बहुदलिय ब्यवस्थापछि हालका वडाध्यक्ष कर्णध्वज जिसी (कर्णबहादुर घर्ति क्षेत्री ) तीन कार्यकाल अध्यक्ष चलाएका थिए । विचमा खुमबहादुर थापाले ३ महिना जति अध्यक्ष भएको र उनी पछि फेरी कर्णध्वज जिसी ९ महिना जति अध्यक्ष भएका थिए ।
अरुको योगदान संग दाँज्न मिल्दैन
प्रधानध्यापक पाण्डेले संस्थापक प्रधानध्यापक पृथ्वीबहादुर थापा र पृथ्वी मावि नाम र संस्था विगतमा स्थानियले एउटै जस्तै ठान्नेगरेको बताए । हुन त समाजका सवै अगुवा र शिक्षक कर्मचारीहरुको योगदान छँदैछ, तर मेरा समेत गुरु रहनु भएका पृथ्बी बहादुर सरको योगदान अरु संग दाँजेर हुँदैन र शब्दमा ब्यक्त गरेर पनि सकिन्न उहाँ उच्च सम्मानका पात्र हुनुहुन्छ ।
जसले अवकास लिई सकेपछि पनि विद्यालयको अध्यक्ष भएर अभिभाकत्व दिनु भयो , पछि भने म बुँढो भएँ भनेर छाड्नु भएको हो प्रधानध्यापक– पाण्डेले भने । सोही विद्यालयमा पढेर २०५२ साल देखि पढाउँदै आएका पाण्डेका अनुसार त्यस पृथ्वी मावि र त्यस भेगका अन्य विद्यालयमा बाहिरबाट आएका शिक्षक बाहेक स्थानिय शिक्षकहरु प्राय सबै थापाले पढाएका एक समयका विद्यार्थी हुन ।
धेरैका अर्का गुरु हुन शंकर सर
पृथ्वी माध्यामिक विद्यालयका पुर्व विद्यार्थी र उनका अभिभावकहरुका लागि जति अविष्मरणीय र सम्मानित पात्र पृथ्वीबहादुर थापा छन त्यति नै सम्मानित पात्र हुन त्यस विद्यालयका पुर्व शिक्षक स्वर्गिय प्द्यमशंकर जिसी ।
६० बर्षको उमेरमा २०६० साल पुस १६ गते निधन भएका जिसीलाई स्थानियले शंकर सरका नामले पुकार्थे । २०५६ सालमा त्यस विद्यालयबाट अवकास लिएका जिसीले २०१८ साल देखि मुसिकोट अमराईको तत्कालिन खस्थोक प्राविबाट प्रधानध्यापक रहि पढाउन सुरु गरेको पृथ्वी माविका उनै संस्थापक अध्यक्ष थापाले बताए ।
उनका अनुसार जिसीले त्यहाँ त्यस्तै तीन बर्ष सम्म प्रधानध्यापक चलाएर माथी देउरालीको श्री नेरा त्रिभुवन माविमा डेढ बर्ष जति पढाएर २०२३ साल देखि पृथ्वी माविमा पढाउन थालेका थिए ।
पृथ्वीबहादुर थापा भन्छन –म पछिको पुरानो शिक्षक शंकर सर नै हो , उहाँ र मैले पढाएकाहरु यहाँका धेरै शिक्षक मात्रै छैनन विभिन्न क्षेत्रका उच्च ओहदामा समेत पुगेका छन । उनका अनुसार त्यस विद्यालय प्रशासन चलाउनमा संस्थापक अध्यक्ष थापाका पुर्व शिक्षक जिसी दाहिने हात नै थिए ।
मेरो हर कुरामा काँध थाप्ने उहाँ नै हुनुहुन्थ्यो , म पछि त्यस विद्यालयमा उहाँको पनि ठुलो योगदान छ संस्थापक प्रधानध्याक थापाले भने । थापाका अनुसार विद्यालयको अतिरिक्त क्रियाकलाप र सांस्कृतिक फाँटका उनी झन बढि गुरु थिए । हामुर्नियम देखि सबै खालो बाजा आफै बजाउने , नृत्य गर्न र गीत गाउन सिकाउने जिसीमा अद्भुत कला थियो ।
थापा सुनाउँछन उहाँ शिक्षा दिनमा मात्र नभई विद्यार्थीलाई अनुशासित रहन आफु जस्तै सधैब हंशमुख , फरासीलो र सबै संग मिलनसार रहन पनि प्रेरक ब्यक्ति हुनुहुन्थ्यो । पुर्व शिक्षक जिसीका माईला छोरा महेन्द्र जिसी भन्छन बुवाले भैरहवा देखि बोकेर ल्याएका ती रेलिङ्घहरु संरक्षण नगरि अलपत्र छरपष्ट पारेको देख्दा हाम्रो परिवारको मुटु चस्कीन्छ ।
गुरुका पनि गुरु
साविक बडागाउँ गाविस वडा नम्वर ७ भराह कालिमाटी घर भई केहि बर्ष अघि रुपन्देहीमा बसाई सराई गरेर हाल तिलोत्तममा नगरपालिकाका मेयर वाशुदेव घिमिरेले पृथ्वीबहादुर थापाले आफुलाई पनि पढाएका गुरु भएको बताए ।
मैले मैदानको पृथ्वी मावि मै पढेको हुँ मेरा दाजु ( टिकाराम घिमिरे ) र पृथ्वीबहादुरसरले मलाई पढाउनु भएको हो, म उहाँलाई स–सम्मान सम्झीरहन्छु – मेयर घिमिरेले भने । मेयर घिमिरेका जेठा दाजु टिकाराम घिमिरे नेपाल सरकारको सिडियो पदबाट अबकास लिएका ब्यक्ती हुन ।
उनलाई पनि आफुले नै पठाएको संस्थापक प्रधानाध्यापक थापाले बताए । उहाँलाई मैले पढाएको थिएँ र उहाँले पछि यहि विद्यालय मै पढाएर प्रशासनिक सेवामा जानु भएको हो , आफुले पढाएको विद्यार्थी उहाँ पाल्पामा सिडियो भएर आएको बेला म अतन्तै हर्षित र गर्वित भएको थिएँ –थापाले भने ।
गुल्मीको रेसुङ्घा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख एवं कार्यरत उपप्रध्यापक ढुण्डिराज पोखरेल भन्छन– पृथ्वीबहादुर सरले मलाई पनि कक्षा सात सम्म पढाउनु भएको थियो । पछि म शिक्षक भएर त्यसै विद्यालयमा उहाँ संगै पढाउन पाउँदा गर्व लागेको थियो ।
उहाँ एउटा शिक्षक मात्रै नभएर समाज सेवामा कुशल, कुटिल र नीतिगत ब्यत्तित्वका धनी पनि हो । सबैलाई शिक्षा र प्रेरणा दिने उहाँ वरिष्ठ ब्यक्ति हुँदाहुँदै पनि सबै संग मिजासीलोे फरासिलो रहिरहँदै आउनु भएको छ । बास्तव मै उहाँ पृथ्वीबहादुर सर शैक्षिक क्षेत्रमा त्यस भेग मै वरिष्ठ र सम्मानित ब्यक्ति हो– पोखरेलले भने ।
उपप्राध्यापक पोखरेलको पुर्खेयौली घर साविक बडागाउँ गाविस वडा नम्वर ७ चौर हो । पोखरेलका पिता दुर्गादत्त पोखरेलले पनि थापा संगै पृथ्वी माविमा केहि बर्ष पढाएका थिए । केहि बर्ष अघि रुपन्देहीको तिलोत्तमा नगरपालिका डाईभरटोलमा बसाई सराई गरेका पोखरेल परिवार साविक बडागाउँका एक समयमा चर्चित भलाद्मी हुन ।
पञ्चायतका कालका अन्तिम उपप्रधानपञ्च दुर्गादत्त पोखरेल गाउँमा छँदा धेरैका आँखामा नबिझाउने पात्र थिए । तिलोत्तममा पुगेर पनि उनी सामाजिक क्षेत्र मै रहेको बताईन्छ ।
जो जसलाई आफैले पढाए आफैले शिक्षक बनाए
केहि बर्ष अघि त्यसै पृथ्वी माविबाट प्रधानध्यापकबाट अवकास लिएका दुर्गाबहादुर सुर्यवंशी भन्छन पृथ्वीबहादुर सर मेरा पनि गुरु हुनु हुन्छ । मलाई २०२८ सालमा कक्षा ७ मा एक बर्ष उहाँले पढाउनु भएको थियो ।
२०३० साल देखि मुसिकोट अमराईको तत्कालिन खस्थोक प्राविबाट अध्यापन पेशा सुरु गरेका सुर्यबंशी २०४२ साल सम्म त्यहाँ पढाएर हस्तीर्चाैर मल्दीको जुकेपानी प्राविमा प्रधानध्यापक सम्हाल्न पुगेका थिए ।
त्यस पछि उनी आफैले पढेको पृथ्वी माविमा २०५२ साल देखि पढाउन सुरु गरि २०६९ सालमा प्रधानध्यापक भई २०७१ सालमा अवकास लिएका थिए । उनले आफ्ना अर्का गुरु टिकाराम घिमिरे रहेको बताए ।
उनले टिकाराम घिमिरेले २०२६ साल देखि २०३२ साल सम्म पृथ्वी माविमा पढाएको र त्यस पछि वामीको शारादा मन्दिरमा सरुवा भई त्यहाँ एक बर्ष पढाएर सरकारी सेवामा लागेको आफुमा हेक्का रहेको बताए ।
त्यस्तै हाल सबै भन्दा पुराना त्यस बिद्यालयका शिक्षक गुप्तबहादुर कार्कीलाई पनि उनै पृथ्वीबहादुर थापाले नै पढाएका थिए र प्रधानध्यापकको हैसियतले उनै एक समयका विद्यार्थीलाई २०४५ सालमा कार्कीलाई शिक्षकमा नियुक्ति सिफारिस गरेका थिए ।
सो मिति देखि हाल सम्म पढाएका कार्कीले पनि थापा प्रति सम्मान प्रकट गर्दै आएका छन । २०२९ साल देखि २०३१ साल सम्म तत्कालिन मुसिकोट मैदान गाउँपञ्चायतको उपप्रधानपञ्च रहेका थापा त्यस यता भने राजनीतिमा खासै सक्रिय भएनन ।
साविक बडागाउँ गाविसको वडा नम्वर ८ मैदानस्थित पिता कृष्णबहादुर थापा र माता जमुनाकुमारी थापकाको कोखबाट २००३ साल चैत्र १२ गते जन्मिएका थापाले आफुले गाउँ मै गुरुकुल शिक्षा प्राणाली मार्फत प्रारिम्भक शिक्षा लिएको बताए ।
सोही विद्यालयमा २०१८ साल भदौ १ गते देखि पढाउन सुरु गरेका थापाले २०५७ साल चैत्र २६ गते अवकास लिएका थिए । ८ भाई र ६ वहिनी सहित बाबुका १४ सन्तानका उनी जेठा छोरा हुन ।
उनका बाबु कृष्णबहादुर थापा पञ्चायतकालमा त्यस भेगमै कहलाएका मुखिया थिए । चार छोरा र तीन छोरीका बाबु थापा ढल्कीँदो उमेर भए पनि समाज सेवामा अहिले पनि सक्रिय छन । स्थापनाकालमा झण्डै तीन सय जना विद्यार्थी जम्मा एक जना शिक्षकले पढाउने त्यस विद्यालयमा अहिले ५ सय ९८ जना बिद्यार्थी र २२ जना शिक्षक कर्मचारी रहेको त्यस विद्यालयका प्रध्यानाध्यापक चन्द्र बहादुर पाण्डेले बताए । स्थानीयका अनुसार वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले विद्यालयलाई नयाँ ढंगले सञ्चालन गरेका छन ।
तस्वीरः उनै पृथबहादुर थापा, उनका दाहिने हात मनिएका उनै शंकर सर र २०३० सालमा भैरहवाबाट बोकेर ल्याएका रेलिङ्ग