बागलुङ २०७६ कात्तिक २० । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था पहिले देखी नै आर्थिक अनियमिताका कारण गन्हाउदै आएको छ । पछिल्लो समय संस्थाका कोषाध्यक्ष रामप्रसाद शर्माले २०७६ साल असोज २ गते जुन कारणहरु खुलाएर पदबाट राजिनामा दिए त्यस्ले नगर खानेपानी तथा उपभोक्ता संस्थामा कति सम्म भ्रष्टाचार गरिँदो रहेछ भन्ने छताछुल्ल हुन पुगेको छ ।
कोषाध्यक्ष शर्माले, “छहराधारा कैलामपोखरी खानेपानी आयोजनाको वाल (पर्खाल) निर्माण कार्यहरु कमजोर अवस्थामा बनाईएकोले विज्ञ ईन्जिनियर झिकाई नापजाँच गरी भुक्तानी दिनु पर्छ भन्दा नापजाँच नै नगरी रकम भुक्तानी समेत दिईसकेको र हाल उक्त निर्माण भएका वाल पुरै भत्किई क्षतविक्षत अवस्थामा रहेको र भुक्तानी दिने बखत नापजाँच नै नगरी भुक्तानी दिनु भयो भनी समितिमा कुरा राख्दा समिति भित्रका केहि पदाधिकारीहरुले म माथी नै चाहिँदा नचाहिँदा लान्छना लगाईएको हुँदा कोषाध्यक्ष पदमा रही काम गर्न नसक्ने भन्दै राजिनामा दिएको” उल्लेख गरेका छन् ।
उनले संस्थामा हुने गरेका अनियमित कार्यलाई आत्मसात गर्न नसकी यस अघी २०७५ साल पुस १२ गते पनि पदबाट राजिनामा दिएको र तत्पश्चान कुनैपनि आर्थिक कारोबारमा आफ्नो दस्तखत नभएको समेत जनाएका छन् ।
श्रोतका अनुसार छहराधारा कैलाम पोखरी खानेपानी आयोजनाको पर्खाल निर्माणको ठेक्का जयमाता कन्काई जेभी काठमाडौँलाई रु ६८ लाखमा दिईएको थियो । यस आयोजनामा प्रदेशको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत बजेट रहेको छ ।
प्रदेशबाट अनुगमनका लागी आएको प्राविधिक टोली स्थलगत अध्ययन गदैँ ।
छहराधारा कैलाम पोखरीको पर्खालको निर्माण गर्दाकै बेला ठेकदार कम्पनिले मापदण्ड अनुसार निर्माण नगरी कामचलाउ रुपमा गरियो भनी बिरोध गर्दा समेत बेवास्ता गरी कम्पनिका गौतम भुसाललाई २०७६ असारको अन्तिम हप्ता रकम भुक्तानी दिईएको थियो । सो पर्खाल निरीक्षण अनुगमन गर्न २०७६ साल भदौ २७ गते तदनुसार सन २०१९ सेप्टेम्वर १३ तारीखका दिन प्रदेशबाट इन्जिनियर सहितको प्राविधिक टोलीे आएको थियो । सो टोलीले यो पर्खाल भत्किन्छ अर्को निर्माण गर्नु पर्छ भनेर गएको तीन दिनपछी पर्खाल भत्किएको संस्था निकट व्यक्तिहरुले बताएका छन् ।
मध्यपहाडी लोकमार्गले खानेपानी पाईप व्यवस्थापन गर्न दिएको रु ३३ लाख कता गयो ?
मध्यपहाडी लोकमार्गले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई लोकमार्गमा रहेको खानेपानीको पाईप व्यवस्थित गर्न दिएको रु ३३ लाख रुपयाँ हिनामिना भएको छ । समितिका एकजना पदाधिकारीलाई संयोजक बनाई सो कार्यगर्ने भनिएपनि समिति भित्रैबाट बिरोध आएपछी सो रकम समितिको खातामा जम्मा गरिएको थियो । तर सो रकमलाई तोकिएको काममा खर्च अन्य काममा खर्च गरेर रकमको दुरुपयोग गरिएको छ । पाईप व्यवस्थित गर्ने काम हाल सम्म गरिएको छैन ।
यस सम्वन्धमा तत्कालीन प्रजिअ बेदप्रसाद खरेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा समेत चर्चा भएको तर संस्थाले न खानेपानीको पाईप व्यवस्थापन गयो न त्यो ३३ लाख रकम नै मध्यपहाडी लोकमार्गलाई फर्कायो ।
२०७४।४।३ मा तोदी कन्सट्रक्सन कम्पनिका यादव सुवेदीलाई संस्थाले सापटी स्वरुप रु २० लाख रुपया दिएको चर्चा बाहिर आएको छ । यस सम्वन्धमा संस्थाका पदाधिकारीको मौनता रहस्यमय छ । व्यक्ति वा कुनै कम्पनिलाई संस्थाको यति ठुलो रकम सापट दिन मिल्छ मिल्दैन ? यो आर्थिक नियम विपरीत भएन र ? संस्थाको रकम आफु खुसी सापट दिन मिल्छ ? आदित्यादि प्रश्न गम्भीर रुपमा उठेको छ ।
संस्थाका पदाधिकारीहरुले नितान्त व्यक्तिगत काममा जिल्ला बाहिर जानुपर्दा एकजना पदाधिकारीले एक पटकमा रु ६० हजार भन्दा बढी रकम भ्रमणभत्ता बापत बुझेको बताईएको छ । आफ्नो निजी गाडीमा ईन्धन राख्ने र त्यस्को भुक्तानी संस्थाबाट दिने त साधारण कुरा भएको संस्थाका कर्मचारीहरुले बताउदै आएका छन् ।
संस्थाको बर्तमान समितिले निर्वाचित भएको तीनवर्ष सम्म साधारणसभा नगरी जथाभावी निर्णय गरेर काम गर्ने गलत प्रबृत्तिलाई निरन्तरता दिएपछी उपभोक्ताहरुको बिरोधका कारण गत २०७५ साल चैत २३ गते अधिवेशन भयो । १ हजार भन्दा बढी सदस्य भएको संस्थाको अधिवेशनमा जम्मा २४४ जना सदस्यहरुको उपस्थितिमा साधारणसभा सम्पन्न गरियो । साधारणसभामा गणपूरक संख्या (कोरम) नपुगेको भनेर फ्लोरबाट कुरा उठ्यो, बिरोध भयो, होहल्ला भयो तर साधारणसभा सम्पन्न भयो भन्दै संस्थाका पदाधिकारीहरु ईलाम र भारतको सिक्किम भ्रमण गरेर खुशियाली मनाए ।
साधारसभामा उपस्थित नै नभएका सदस्यहरुको मात्र नभएर मृत्यु भएकाहरुको नाम समेतमा कीर्ते हस्ताक्षर गरेर साधारण सभा अधिवेशन सम्पन्न गर्ने देखी माईन्यूट बुक (निर्णय पुस्तिका) च्यात्ने सम्मका घटनाहरु घटे । यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालय बागलुङमा कार्बाहीका लागी २०७६ साल असार २७ गते निवेदन परेको छ । त्यस निवेदन उपर कहिले सम्ममा के कार्बाही होला ? भन्ने प्रतिक्षामा उपभोक्ताहरु छन् ।
खानेपानी धारा जडानगर्ने ठेकदारले तोकिए अनुसारका धाराहरु जडान गरेको छैन, जो गरेको छ त्यस्मा एकदमै कमसल खाले सामाग्री प्रयोग भएको छ । तर संस्थाले त्यस्को भुक्तानी भने पुरै दिईसकेको छ ।
केहि दिन यता खानेपानी धारामा पानी नआएपनि पानीको महशुल भने ५/६ गुना बढेर आउने गरेको उपभोक्ताहरुले बताई रहेका छन् । साधारणत महिनामा २ सय महशुल तिरि रहेका उपभोक्ताहरुले रु १२ सय सम्म तिर्न बाध्य भएका छन् । कुनै कुनै उपभोक्ताहरुको धारामा ५ हजार सम्मा महशुल उठेको गुनासो बाहिर आएको छ । उता संस्थाका कुनै पदाधिकारीले रु २५ हजार महशुल पुग्दा समेत तिरेका छैनन् । यस्तो बिडम्वना छ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था भित्र । तर कहिँ कतैबाट भ्रष्टहरुलाई कार्बाही नहुँदा उपभोक्ताहरु आश्चर्य चकित छन ।
आवरण तस्वीर – छहराधारा कैलाम पोखरी पर्खाल निर्माणाधीन अवस्थामा, जुन अहिले भत्किएको छ ।
यो लिंकपनि पढौँ:
नगर खानेपानी भित्रको अनियमितता छताछुल्ल : विधिको शासन भएको मुलुकका भलाद्मीको यस्तो कर्तूत ?
बागलुङ नगर खानेपानीमा ब्रह्मलुट, माईन्यूट बुक च्याताच्यात : खान पल्केकाहरुलाई कसले गर्ने कार्बाही ?
2 Comments