कमल पौडेल, बागलुङ २०७६ मंसिर ११ । बागलुङ जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा सदस्य र बडीगाड गाउपालिका २ को वडाध्यक्ष पदपूर्तिका लागी मंसिर १४ गते हुने उपनिर्वाचनको आज मध्यरात्रिबाट मौन समय लागु हुने भएपछी प्रचार प्रसार अभियानले तीब्रता पाएको छ ।
बडीगाड गाउपालिकाको खर्वाङ बजारमा अहिले नेकपा, नेपाली काँग्रेस, समाजबादी पार्टीका उमेदवार एवं कार्यकर्ताहरु जुलुस सहित माईकिङ गर्दै प्रचारमा हिँडिरहेका छन् । खर्वाङ बजार चुनावमय बनेको छ । खर्वाङ यताउता चुनावी माहौलले तातेको छ ।
आज अन्तिम दिनको विहानै राष्ट्रिय जनमोर्चाको साथ पाएको नेपाल कम्यूनिष्ट पार्टीको एक र्याली खर्वाङ बजारबाट सुरु भई खारपानी, दनिया, सिमलचौर हाडिखोला, डुडेवाचौर हुँदै पुनः खर्वाङमा पुगी कोण सभामा परिणत भएको छ। सो सभाको सम्बोधन गर्दै नेकपाका प्रदेश कमिटि सदस्य सुनिल शेरचनले प्रतिपक्ष काँग्रेसलाई वेइमानी गरेको आरोप लगाए ।
हाल राष्ट्रिय सहमति सहित नेपालको भुमि फर्काउन कुटनितिक पहल भैरहेको सन्दर्भमा सो भुमि हाल मिचिएको भनि अनर्गल प्रचार गरेको भन्दै शेरचनले काँग्रेसलाई बेइमानीको संंज्ञा दिएका हुन् । वर्तमान सरकारको वचाउ गरेका शेरचनले उपयुक्त उमेद्वार ढालेन्द्र शेरचनलाई विजयी गराउन अपिल गरे ।
हाँडीखोलामा भएको कोण सभामा राजमोका बोमबहादुर थापाले मतदातालाई भ्रममा नपर्न आग्रह गरे। दनियामा भएको कोण सभामा नेकपाका जिल्ला कार्यदल सदस्य विष्णु भुसालले वडा नंंं. २ मा आफु निर्वाचित भएपछि गरेको कामको फेहरिस्त जानकारी गराए ।
उता नेपाली काग्रेसले मंगलवार साविकका प्रत्येक वडामा छुट्टा छुट्टै टोली वनाएर प्रचार गरेको छ। जिल्लाका अधिकांश नेता निर्वाचन क्षेत्रमा देखिएका छन्। सकुन्तला शर्मा, गण्डकी थापा, गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिका ५ का अध्यक्ष अर्जुन शर्मा, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ लगाएतको टोली वडा नं. २ कै निर्वाचनमा केन्द्रित छ।
समाजवादी पार्टीको पनि प्रचार चलिरहेको छ। तिनै दलले गाडीमा निर्वाचन चिन्ह सहित माइकिङ गरि मत मागिरहेका छन्। यस वडामा ३ जना विच प्रतिस्पर्धा हुनेछ। वाम गठवन्धनको तर्फवाट ढालेन्द्र शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल राना विच प्रतिष्पर्धा हुन लागेको हो। यद्यपी मुख्य प्रतिस्पर्धा ढालेन्द्र शेरचन र डिल बहादुर राना विच नै हुने आकलन गरिएको छ।
बडीगाड गाउपालिका २ बाट वडाध्यक्षमा निर्वाचित विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखका निर्वाचित भएपछी रिक्त पदमा हुन गैरहेको उपनिर्वाचनमा नेकपा बाट ढालेन्द्र शेरचन, नेपाली काँग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट उमेदवारी दिएर हरिलाल राना चुनावी मैदानमा उत्रिएका छन् । नेकपाका उमेदवार शेरचनलाई राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।