Sorry, that menu does not exist.
 

अपडेट : बुर्तिवाङको मतदान केन्द्रमा ९० वर्षिया मतिसरा बिकद्वारा मतदान : बडीगाडमा पनि मतदान सुरु !

किरण आचार्य/छविलाल पाण्डे, बागलुङ २०७६ मंसिर १४ । बागलुङ जिल्ला क्षेत्र नं २ को ख प्रदेशसभा सदस्य तथा बडीगाड गाउपालिका वडा नं २ को वडा अध्यक्षपदको उपनिर्वाचनमा बिहान ७ बजे देखी मतदान सुरुभएको छ । ढोरपाटन नगरपालिका बुर्तिवाङको बुथमा ९० बर्षिया मतिसरा बिकले मतदान गरेकी छन् । मतदाताहरु विहानै देखि नै मतदान केन्द्रहरुमा आउने क्रम जारी छ । मतदान शान्तिपूर्ण रुपमा सन्चालन भैरहेको सहकर्मीहरुले जानकारी दिएका छन् ।

प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको असामयिक निधन तथा बडीगाड गाउपालिका २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समिति बागलुङको उप प्रमुखमा निर्वाचित भएपछी सो पद रिक्त भएको थियो ।

निर्वाचन आयोगले बागलुङ–क्षेत्र नं २ को प्रदेश ख मा ४३ र बडीगाड गाउँपालिका वडा २ मा दुई मतदान केन्द्र तोकेको छ । यो प्रदेशमा पश्चिम बागलुङको निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्दछन् र यि तिन वटै पालिकामा मतदान सुरु भएको हाम्रा संहकर्मी हेम विश्वकर्मालेले जानकारी दिएका छन् ।

यस प्रदेशमा हुने उपनिर्वाचनका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका साझा बाम उम्मेदवारका रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बाट निमबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशन बाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा सन्तोष भण्डारी चुनावी मैदानमा छन् ।

बडीगाडबाट सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार बडीगाड २ को वडाध्यक्ष पदको मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ ।
*

तमानखोला मतदान केन्द्रमा ९० वर्षिय बृद्ध हरिमान घर्तीले मतदान गर्दै ।
तमानखोला गाउँपालिकाको मतदान केन्द्रमा ९० वर्षिय बृद्ध हरिमान घर्तिले मतदान गरेको सहकर्मी बसन्त घर्तीमगरले जानकारी दिएका छन् । सहकर्मी बसन्त घर्तीका अनुसार धनज्योति मावि केन्द्रमा विहान पौने ९ बजेसम्म ८५ जनाले मतदान गरेका छन् । यस केन्द्रमा १ हजार ९७ मतदाता रहेका छन् ।
*

सहकर्मी छविलाल पाण्डेले दिएको जानकारी अनुसार अहिले विहान ९ बजे सम्म ढोरपाटन नगरपालिका २ को जनजागृति आधारभूत केन्द्रमा १ सय मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका छन्, जबकि यहाँ १९ सय मतादाता रहेका छन् ।
*

यसैगरी बडीगाड गाउपालिकाका दुईटा मतदान केन्द्रहरुमा ९ बजेर २५ मिनेट सम्ममा क्रमश ६८ र ५७ पुरुष तथा ४१ र४३ महिला गरी जम्मा २ सय ९ जनाले मतदान गरिसकेको सहकर्मी कमल पौडेलले बताएका छन् । यस वडामा जम्मा १७ सय४२ मतदाताहरु रहेका छन् ।

अपडेट : साढे ११ बजेसम्म मतदान शान्तिपूर्ण, २५ प्रतिशत मतदान

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकासचन्द्र पौडेलका अनुसार ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउपालिकाहरु तथा बडीगाड गाउपालिका २ मा निर्वाचन शान्तिपूर्णरुपमा सन्चालन भैरहेको छ । बागलुङका २५ वटा मतदान स्थलमा ४५ मतदान केन्द्र छन् । विहान साढे ११ बजेसम्म सबै मतदान केन्द्रहरुमा सरदर २५ प्रतिशत मतदान खसेको छ निर्वाचन अधिकारी पौडेलले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !