किरण आचार्य/छविलाल पाण्डे, बागलुङ (बुर्तिवाङ) २०७६ मंसिर १४ । बागलुङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । प्रदेशसभा सदस्य पदको निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ भने स्थानीयतह वडाध्यक्ष पदको मतदानमा ६५ प्रतिशत मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार ३५,१८४ मतदाता रहेको बागलुङ-२ ‘ख’ प्रदेशसभा सदस्य पदमा २१,८९५ मतदाताले मतदान गरेका छन् । जस्मा महिला ११९२२ तथा पुरुष ९९७३ रहेका छन् । प्रदेशसभा सदस्यमा ६१ प्रतिशत मतदान भएको छ । कुल मतदाता संख्या १७४२ रहेको बडीगाड गाउपालिका-२ को वडाध्यक्ष पदमा महिला ६४० पुरुष ४९४ गरी ११३४ मतदाताले मतदान गरेका छन् । वडाध्यक्ष पदमा ६५ प्रतिशत मतदान भएको छ ।
जिल्लाका सबै मतदान केन्द्रहरुमा एकदमै शान्तिपूर्णरुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले ईबागलुङलाई बताए । उता जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले प्रदेश र वडा दुबैमा गरी ६० देखी ६३ प्रतिशत मतदाताहरुले मताधिकार प्रयोग गरेको बताए ।
मतदान सम्पन्न भएसंगै उमेदवारहरुले प्राप्त गर्ने मत प्रतिशतलाई लिएर पूर्वानुमान सुरु भएको छ । प्रदेशसभा सदस्य पदमा उमेदवारी दिने १० जना मध्य बामगठबन्धनबाट मनोनयन दर्ता गराएका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही र नेपाली काँग्रेसबाट उमेदवारी दिएका जीतबहादुर शेरचन वीच नै कडा प्रतिष्पर्धा हुने निश्चित प्राय: भएको बताईएको छ । यसैगरी बडीगाड गाउपालिका २ को वडाध्यक्ष पदमा पनि नेपाली काँग्रेसका उमेदवार डिलबहादुर राना र बामगठबन्धनका उमेदवार ढालेन्द्र शेरचन वीच नै प्रतिष्पर्धा रहने आँकलन गरिएको छ ।
आज सम्पन्न प्रदेशसभा सदस्य पदमा यस अघी बामगठवन्धनबाट राजमोका टेकबहादुर घर्ती विजयी भएका र बडीगाड २ को वडाध्यक्ष पदमा नेकपाका विष्णु भुसाल निर्वाचित भएका थिए । प्रदेशसभा सदस्य घर्तीको असामयिक निधन भएको र वडाध्यक्ष भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएकाले यी पदहरुमा उपनिर्वाचन भएको हो ।
गत निर्वाचनमा बाम शक्तिले विजय प्राप्त गरेका यी पदहरुमा आज सम्पन्न उपनिर्वाचनमा पनि यसै शक्तिले विजयश्री प्राप्त गर्ने संभावन व्यक्त गरिएको छ । गत निर्वाचनमा बामगठवन्धनबाट उठेका स्व.घर्तीसंग पराजीत भऐका नेकाका जीत शेरचन यस पटकको उपनिर्वाचनमा विजयी बन्नेमा नेपाली काँग्रेस ढुक्क देखिन्छ । उता बडीगाड २ को उपनिर्वाचनमा राजमोको समर्थनमा उमेदवार बनेका ढालेन्द्र शेरचनको पक्षमा नतिजा आउने नेकपा निकट श्रोतको दाबी छ ।
मतदानको रुझान अनुसार प्रदेशसभा सदस्य पदमा उमेदवारी दिएका १० जना मध्य शेरचन र शाही बाहेक अरु ८ जना उमेदवारको जमानत जफ्त हुने संभावना औँल्याईएको छ ।