किरण आचार्य, २०७६ मंसिर १६ । बागलुङ- २ ख प्रदेशसभा सदस्यको उपनिर्वाचनको परिणाम घोषणा भएको छ । अबेर राति सकिएको मतगणनाको परिणाम अनुसार बामगठवन्धनका उमेदवार राष्ट्रिय जनमोर्चाका खीमबिक्रम शाही बिजयी भएका छन् । उनले ११,२३५ मत प्राप्त गरेर ९,१३८ मत प्राप्त गरेका निकटतम प्रतिव्दन्दी नेपाली काँग्रेसका जीतबहादुर शेरचनलाई २०९७ मतान्तरले पराजीत गर्दै बामगठवन्धनको बर्चस्व कायम राख्न सफल भए ।
प्रथम प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा राजमो बामगठवन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११,८८४ मत ल्याएर निर्वाचित भएका थिए । त्यस निर्वाचनमा पनि नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन नै निकटतम प्रतिव्दन्दी थिए भने उनले ८,६२४ मत ल्याएका थिए । यस उपनिर्वाचनको मतपरिणाम अनुसार अघिल्लो प्रदेशसभा सदस्य निर्वाचनमा राजमोका घर्तीले प्राप्त गरेको मत भन्दा ६४९ कम छ भने काँग्रेसका शेरचनले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत भन्दा ५२६ बढी हो ।
यस उपनिर्वाचनमा राजनीतिक दलबाट ८ र स्वतन्त्र २ गरी १० जना उमेदवार चुनावी मैदानमा थिए । अन्य उमेदवारहरुमा समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत ल्याएर तृतीय स्थान प्राप्त गरे । बागी उमेदवार बनेका शेरमान घर्तीले ९५ मत ल्याएर चौथो बने । अन्य बाँकी उमेदवारहरु मित्र बहादुर मगर ४५, निमबहादुर भण्डारी ३७, गणेश बहादुर कुँवर ३६, याम बहादुर आले ३३, सन्तोष भण्डारी (स्वतन्त्र) २८ र अनिल कुमार राईले ८ मत प्राप्त गरेका छन् ।
अघिल्लो प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता संख्या ३३ २४० रहेकोमा २२०६९ मत खसेको थियो । यस उपनिर्वाचनमा कुल मतदाता संख्या ३५,१८४ रहेकोमा महिला मतदाता ११,९ २२ तथा पुरुष मतदाता ९,९७३ गरी जम्मा २१,८९५ मतदाता (६१ प्रतिशत)ले मतदान गरेका थिए ।