बुर्तिवाङ २०७६ मंसिर १९ । बामगठबन्धका उमेदवार, राष्ट्रिय जनमोर्चाका खीमबिक्रम शाहीले बागलुङ २ ख प्रदेशसभा सदस्यको उपनिर्वाचनमा विजयश्री प्राप्त गरेपछी बुर्तिवाङ बजारमा बुधबार भव्य विजय जुलुस निकालिएको छ । विजय जुलुसमा राजमोका नेता कार्यकर्ताहरुको उत्साहप्रद सहभागिता त थियो नै नेकपाका नेता कार्यकर्ताहरुको चूरीफुरी चाँही अलि बढीनै देखिएको चर्चा बाहिर आयो । विजयी शाही (जनमोर्चा)को शालीनता उनको बोलिबचन, व्यवहार एवं मित्रभाव बाटै प्रष्टिन्थ्यो त नेकपाका नेता कार्यकर्ताहरुमा स्वयं (नेकपा)ले जितेको बडप्पन बढीनै झल्किएको महसूस धेरैले गरे । त्यसमा अन्यथा सम्झनुु पनि ठीक हुन्न, किनकि नेकपाकै सहयोगमा राजमोको बिरासत जोगिएको हो ।
विजय सभालाई सम्वोधन गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले आफु राष्ट्रिय जनमोर्चा र नेकपाको मतले विजयी बनेको स्वीकार्दै दुबै दलका नेता, कार्यकर्ता तथा मतदाताहरुलाई धन्यवाद दिए । उनले बामदलहरुको एकतालाई सँधै कायम राख्न एकार्काको अस्तित्व स्वीकार गरेर जानुुपर्ने आवश्यकता प्र्रष्ट पारे ।
सोही सभामा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले निर्वाचनमा आफ्नो पार्टी, कार्यकर्ता र नेताहरुका तर्फबाट समेत मत विक्री गर्ने गरेको स्मरण गर्दै आफ्ना कमी कमजोरीलाई सच्याउँदै कम्युनिष्ट पार्टीको जनमत बढाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
विजय जुलुसमा बोल्दै नगरप्रमुख नेपालील,े नेपाली काँग्रेसका नेता गगन थापाले चुनाव प्रचारका क्रममा दिएको अभिव्यक्ति प्रति कडा प्रतिबाद गर्दै, गगन थापाज्यू अब आउने संघीय चुनावमा मेरो क्षेत्रमा लड्न आउनु होला तपाईँ र मेरो भोट कति अन्तर हुन्छ रहेछ त्यहि बेला थाहा पाउनु होला… भनेर आगामी संघीय चुनावमा आफ्नो उमेदवारी रहने संकेत दिए । उनले यस क्षेत्रमा गरेको लगानीले उनको हक बन्छ । नेपाली, क्षेत्र बाहिर देखी आयातीत नेता पनि होईनन् ।
यस उपनिर्वाचनमा नेकपाको सहयोगमा राजमोले विजय प्राप्त गर्नुमा आफ्नो विशेष योगदान रहेको र यसमा आफुले बढी श्रेय पाउनु पर्ने ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीको हकदावी रहेको उनका निकटवर्तीहरु बताउन छन् । कसको कति योगदान र सहयोग चुनाव अघी र पछी मिल्यो नेकपा र राजमोका नेता कार्यकर्ताहरुले देखे बुझेकै कुरा हो ।
विचारणीय कुरा के हुन आउछ भने, आगामी संघीय निर्वाचनमा कसैलाई चुनाव लड्न चुनौती दिनु भन्दा हालै सम्पन्न उपनिर्वाचनमा विजयी एवं पराजीत उमेदवारहरुले प्राप्त गरेको मतको विश्लेषण समय सान्दर्भिक हुने छ ।
ढोरपाटन नगर कमिटिले कात्तिक १७ गते बुर्तिबाङ स्थित दरबार होटेलमा आयोजना गरेको निर्वाचन केन्द्रित प्रशिक्षणात्मक कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा बागलुङ जिल्ला ईन्चार्ज तथा प्रमुख अतिथि बलावती शर्मा, गण्डकी प्रदेश सांसद चन्द्र बहादुर बुढा सागर, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, जिल्ला कमिटि सदस्य टंक पौडेल लगायतले बागलुङ क्षेत्र नं. २ “ख” मा हुने प्रदेश सभाको उप–निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने र विजय हासिल गर्ने दावी गर्दै प्रदेशसभाको उपनिर्वाचनमा राजमोलाई समर्थन गर्ने नेकपा अध्यक्ष ओली र राजमो अध्यक्ष केसी वीच भएको सहमतिलाई अस्वीकार गर्दै विगतको गठबन्धनलाई निरन्तरता दिन तयार छैनौँ भनि नेकपा कै उमेदवार उठाउने जुन अहम् (घमण्ड) व्यक्त गरियो, त्यो के बास्तविकताको निकट रहेछ त ? उपनिर्वाचनमा जुन मत परिणाम आयो त्यस्ले त यसलाई पुष्टि गरेन । नेकपा एक्लै चुनाव लडेको भए उसको हश्र के हुने रहेछ मत परिणामले देखाई हाल्यो । यदि राजमो र नेकपा एक्ला एक्लै (जस्तो नेकपाको दिली ईच्छा थियो) चुनाव लडेको भए कसले जित्ने रहेछ ? समझदारलाई ईशारा काफी छ, यहाँ उल्लेख गरिरहनु नपर्ला ।
उपनिर्वाचनको मत परिणामले नेकपाको होस ठेकानमा आएको छ, नेकपाका नेताहरुलाई धरातल देखाई दिएको छ, उसको घमण्ड चकनाचूर बनाई दिएको छ । राजमो र नेकपा एकार्काको समर्थन बिना चुनाव जित्न सम्भव रहेछ त ? सत्ता र पैसाको ध्वाँसले भन्दापनि बस्तुस्थितिलाई सहि विश्लेषण गरेर निसीभूजी क्षेत्रको चौतर्फी विकासमा एकापसमा मिलेर अघि बढ्नु समय सापेक्ष हुनेछ ।