Sorry, that menu does not exist.
 

मल्लाज सहकारीका सदस्यलाई सहकारी सचेतना : सदस्यहरु नाफामुखी भएका कारण अस्वस्थ प्रतिस्पर्धामा !

पर्वत, २०७६ मंसिर २२ । मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जलजला गाउँपालिका–३, पर्वतको आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तालिम शुक्रवार सम्पन्न भएको छ ।

संस्थाका शेयर सदस्यहरुलाई सक्रिय बनाई सहकारी अभियान मार्फत समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा योगदान बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सदस्यहरुको सक्रिय सहभागिता बिना सहकारी संस्था सवल र सक्षम नहुने बताउदै सहकारीलाई सदस्य केन्द्रीत व्यवसायका रुपमा लिएर सदस्यहरुको आर्थिक रुपान्तरण, नेतृत्व विकास, सामाजिक पहिचान लगायतका क्षेत्रमा सहकारीले काम गर्नु पर्नेमा जोड दिए ।

सहकारीका सदस्यहरु नाफामुखी भएका कारण सहकारीहरु अस्वस्थ प्रतिस्पर्धामा गएको भन्दै जिसीले सहकारी ऐन तथा नियमावलीले व्यवस्था गरेर अनुसार शेयर लगानीमा बढी १८ प्रतिशत र संरक्षित पूँजि फिर्ता कोषको रकम कारोबारका आधारमा दिन सकेमा मात्रै सदस्यहरुको हित हुने जीसीले बताए । सक्रिय र निष्क्रिय सदस्यलाई समान फाइदा हुने अवस्थाको अन्त्यका लागि संरक्षित पूँजि फिर्ताकोषलाई प्रभावकारी रुपमा परिचालन गर्नु पर्नेमा जिसीको जोड थियो ।

कार्यक्रममा संस्थाका १ सय जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम संस्थाका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिराबहादुर जिसीको स्वागत र सचिव रघुनाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सुविधा सम्पन्न आफ्नै भवनबाट कारोबार सञ्चालन गरेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थामा गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड ५९ लाख शेयर रकम, ९ करोड २२ लाख बचत, ८ करोड ७५ लाख कर्जा लगानी, २ करोड ७३ लाख बराबरको स्थीर सम्पत्ती रहेको प्रवन्धक प्रेम बहादुर भण्डारीले जानकारी दिए ।

संस्थाले इटा उद्योग लगायत बहुउद्देश्यीय काम गर्दै आइरहेको र चालु आर्थिक वर्षदेखि सदस्यहरुका उत्पादनहरुको संकलन र सदस्यहरुका लागि आवश्यक उपभोग्य वस्तुको विक्री वितरण गर्ने योजना रहेको अध्यक्ष लालबहादुर अधिकारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !