Sorry, that menu does not exist.
 

सागमा पदक विजेता खेलाडीहरु सम्मानित : रसाईली बन्धुले बागलुङको मात्र नभएर राष्ट्रकै इज्जत बढाए !

बुर्तिवाङ २०७६ पुस २ । १३ औं दक्षिण एशियाली खेलकुल (साग) प्रतियोगितामा स्वर्ण र कास्य पदक विजेता बागलुङ तमानखोला गाउँपालिकाका २ का खेलाडीलाई बुधवार बुर्तिबाङमा सम्मान गरिएको छ ।

क्षेत्रिय दलित संजाल क्षेत्र नं. २ बागलुङले आज ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा एक कार्यक्रमका विच नगद सहित सम्मान गरेको हो । गत मंसिर १५ देखि २४ सम्म काठमाडौमा सम्पन्न सागमा नेपालका तर्फबाट कराँते प्रतियोगितामा सहभागी भै स्वर्ण पदक विजेता तमानखोलाका नविन सराइली र कास्य पदक हासिल गर्न सफल उनका सहोदर भाई राजकुमार सराइलीलाई नगद रु. ५÷५ हजार, सम्मान–पत्र सहित दोसल्ला र अविर लगाएर भव्य सम्मान गरिएको थियो ।

तमानखोला गाउँपालिकाको वडा नं. २ भयरबोंगा घर भएका स्वर्ण र कास्य पदक विजेता सराईली बन्धुहरुलाई ढोरपाटन नगरपालिकाका नगर उप–प्रमुख करमती पुनले सम्मान गरेकी हुन् । पदक विजेता खेलाडी सहित बुर्तिबाङमा रहेका कराँते, तेक्वान्दो खेलाडी, स्थानिय समाजसेवी, बुद्धिजिवी, दलित अधिकारकर्मीहरुले बुर्तिबाङ बजार परिक्रमा गरी बसपार्कमा सम्मान तथा अभिनन्दन गरिएको थियो ।

यस्तै सोही अवसरमा विश्वकर्मा समाज बुर्तिबाङले पनि नगद रु. ५ हजार सहित खादा अविर लगाएर सम्मान गरेको थियो । त्यसैगरी सुनचाँदी व्यवसायी संघ बुर्तिबाङले पनि नगद सहित सम्मान गरेको थियो भने बुर्तिबाङमा रहेका आमा समुहले पनि खादा अविरले सम्मान गरेको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्दै ढोरपाटन नगर उप–प्रमख करमती पुनले पश्चिम बागलुङको विकट क्षेत्र तमानखोलाबाट प्रतिनिधित्व गरेर पदक जित्ने खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसूस भएको बताईन् । उनले रसाईली बन्धुहरुले बागलुङको पहिचान खेलमा स्थापित गरेको मात्र नभै सिंगो राष्ट्रको इज्जत बढाएको बताईन । विभिन्न अभाव र चुनौतीका बिचमा पनि राम्रो खेलेर मेडल दिलाएको भन्दै यसले गर्व महसूस भएको उनको भनाई थियो ।

उप–प्रमुख पुनले आगामी दिनमा खेलकुदको विकासका लागि ढोरपाटन नगरपालिकाले पनि विशेष योजना बनाएर अगाडी बढ्ने जानकारी दिईन् । उनले ढोरपाटन नगरपालिकाले पनि विशेष कार्यक्रम गरी केहि दिन भित्रै पदक विजेता खेलाडीलाई सम्मान गर्ने समेत खुलासा गरिन् ।

यस्तै सम्मानित भएपछि स्वर्ण पदक विजेता नविन रसाईली र कास्य पदक विजेता राज कुमार रसाईलीले, खेलकुदमा राजनीति र भ्रष्टाचारले प्रवेश पाउन नहुने बताए । खेल क्षेत्रमा अगाडी बढ्ने क्रममा विभिन्न ठाँउमा राजनीती छिरेको आभास भएको भन्दै उनीहरुले खेलकुदको विकासका लागि राजनीती र भ्रष्टाचार घातक भएको बताए ।

आफूलाई खेल क्षेत्रमा आफ्ना बुबा आमाले सहयोग र उत्साह भर्दै गर्दा आज साग प्रतियोगीताको गोल्ड मेडल विजेता बन्न सफल भएको बताउँदै सबै अभिभावकले आफ्ना बालबच्चाहरुलाई खेलकुद क्षेत्र तर्फ लाग्न प्रोत्साहन गर्नुपर्ने सल्लाह दिए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका युवा नेता वीर बहादुर विश्वकर्मा, नेपाली कांग्रेसका युवा नेता जित शेरचन, दलित अधिकारकर्मी रिम विश्वकर्मा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

बुर्तिबाङ राईजिङ युवा क्लवका अध्यक्ष तथा कार्यक्रम संयोजक यामु पौवीको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ४ र ८ का वडा सचिव विराज विश्वकर्माको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन संचारकर्मी योगेन्द्र विश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !