Sorry, that menu does not exist.
 

केसी परिवारद्वारा स्वास्थ्य चौकीको लागि १ करोड २९ लाख मुल्य बराबरको जग्गा नि:शुल्क प्रदान !

थम्मन थापा, गल्कोट २०७६ पुस ४ । अहिले जिल्लाका अधिकांश वडामा आधुनिक स्वास्थ्य चौकी निर्माण भएका छन । स्वास्थ्य चौकी निर्माण भए सँगै जनताले स्वास्थ्य क्षेत्रमा थप सुविधा प्राप्त गरेका छन । आधुनिक स्वास्थ्य चौकीको नयाँ मापदण्डको भवन निर्माण भए सँगै सेवा सुविधा समेत थप भएका छन ।

यता गल्कोट नगरपालिका ७ मल्ममा नयाँ मापदण्ड अनुसार जग्गा नहुँदा आधुनिक स्वास्थ्य चौकी निर्माण हुन सकेको थिएन । अहिले मल्म आँगाखेतमा रहेको स्वास्थ्य चौकीको जग्गा साँघुरो भएपछि नयाँ स्थानमा जग्गा व्यवस्थापन गर्न वडामा गत जेठ महिना देखि गृहकार्य भईरहेको थियो । गृहकार्यबाट आँगाखेतमा जग्गा प्राप्त भएपछि अब भनें गलकोट नगरपालिका ७ मल्ममा आधुनिक किसिमको स्वास्थ्य चौकी निर्माण हुने भएको छ । हाल आगाँखेतमा रहेको स्वास्थ्य चौकीलाई स्तर उन्नति गर्न नयाँ मापदण्ड अनुसारको जग्गा नभएको कारण गत असोजमा वडा भेला मार्फत स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समिति चयन गरिएको थियो । जग्गा व्यवस्थापन समितिले आवश्यक प्रकृया अगाडी बढाएको थियो । आज जग्गाको व्यवस्थापन भए सँगै आगाँखेतमा आधुनिक स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय गरेको जग्गा व्यवस्थापन समितिका उप संयोजक वसन्त क्षेत्रीले जानकारी दिए।

आगाँखेतका केसी परिवारले स्वास्थ्य चौकीको नयाँ मापदण्ड अनुरुप निशुल्क जग्गा प्रदान गरेपछि काम अगाडी बढने भएको उपसंयोजक केसीले बताए । स्वास्थ्य चौकी निर्माण गर्न गल्कोट नगरपालिका ७ मल्म आँगाखेतका होम बहादुर घिमिरेले ८ आना, गजेन्द्र केसीले ८ आना, नारायण केसीले ८ आना, भरत केसीले ८ आना, टिका बहादुर केसीले ८ आना, लाल बहादुर केसीले ८ आना, टोपकली केसीले ८ आना र गजेन्द्र केसी खेतले सडक ट्रयाक सहितको ८ आना गरि झण्डै १ करोड २९ लाख मुल्य बराबरको जम्मा ४ रोपनी ४ आना जग्गा निशुल्क प्रदान गरेको वडा नं ७ का कार्य वाहक वडा अध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।

आजै जग्गादाता सँग वडाको समन्वयमा लिखित कागजी प्रकृया समेत टुङगाईएको मल्म स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिका सचिव राजकुमार दर्जीले जानकारी दिए।
आज जग्गा व्यवस्थापनको अन्तिम टुङगो लागे सँगै अब निर्माण स्थल सम्म सडकको ट्रयाक खोल्ने र मालपोत कार्यालय बागलुङमा गई स्वास्थ्य चौकीको नाममा रजिष्ट्रेशन पास गर्ने सहमति गरिएको छ । आधुनिक स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर ९ प्रसुति गृह ० लगाएत स्वास्थ्य चौकीबाट प्राप्त हुने आधुनिक स्वास्थ्य सुविधा जनताले प्राप्त गर्ने छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !