गल्कोट २०७६ पुस ७ । गल्कोट हटिया स्थित स्वास्थ्य चौकीको नयाँ भवनमा एक दिने नि:शुल्क शारीरिक अपांगता शिविर सुरु भएको छ । फेयरमेड फाउन्डेशन नेपाल, भिमपोखरा युवाक्लव बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजना, आइएनएफ हरियो खर्क अस्पताल र आसिआरसिको समन्वयमा अपांगता भएका नागरिकहरुका लागि शिविरको आयोजना गरिएको प्रोजेक्ट म्यानेजर गणेश बरुवालले ईबागलुङलाई बताए ।
गल्कोट नगरपालिका र बरेङ गाउपालिकालाई लक्षित गरी संचालित शिविरमा यो समाचार लेख्दा सम्म ४३ जना सेवाग्राहीको चेकजाँच भएको छ । शिविरमा अर्थोपेडिक सर्जन डा. सुदिन व्यजन्कारको नेतृत्वको टोलीले अपांगता भएकाहरुको परीक्षण गरिरहेको छ ।
शिविरमा खासगरी हातखुट्टा नचल्ने लुला लंगडाहरु बढीमात्रामा आउने गरेको प्रोजेक्ट म्यानेजर बरुवालले जानकारी दिए । शिविरको खर्च फेयरमेडले बहन गरेको पनि बरुवालको भनाई थियो ।
उनले हातखुट्टा नभएकालाई कृत्रिम हातखुट्टा राख्नुपर्ने भए वा सर्जरी गर्नुपर्ने अवस्था रहेकाहरुलाई हरियोखर्क हस्पत्ताल रेफर गरिने बताए ।
यस अघि शरीरिक अपांगता सम्वन्धी दुई दिने नि:शुल्क शिविर बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सन्चालन गरिएको थियो जस्मा विभिन्न प्रकारका ३ सय १९ जना अपांगता भएकाहरु लाभान्वित भएका थिए ।
तस्वीर सौजन्य : शिशिरबम मल्ल, गल्कोट ।