बुर्तिबाङ, २०७६ पुस १३ । बुर्तिवाङमा रहेको बागलुङ जिल्लाको सुदूर पश्चिम निसीभूजी क्षेत्रको एकमात्र उच्च शिक्षा प्रदान गर्ने निसीभूजी जनता क्याम्पस यतिबेला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । क्याम्पसको आर्थिक स्थिती सुधार्न सरोकारवालाहरुको ध्यानाकृष्ट हुन नसक्नु र आर्थिक कठिनाई कै कारण पठन पाठन प्रभावित हुनु थप चिन्ताको विषय बनेको अभिभावकहरु बताईरहेका छन् ।
क्याम्पसमा शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायहरुमा अध्यापन हुँदै आएकोमा आर्थिक कठिनाई कै कारण यस वर्ष व्यवस्थापन संकायमा बिद्यार्थी भर्ना नलिईएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले जानकारी दिए । व्यवस्थापन संकायमा बिद्यार्थी भर्ना नलिईएको विषयलाई लिएर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालसंग ईबागलुङ जिज्ञासा राख्दा व्यवस्थापन संकायमा विद्यार्थी भर्ना गर्न क्याम्पस प्रशासनलाई निर्देशन दिएको बताए । यहि कुरा क्याम्पस प्रमुखलाई अवगत गराउदा ‘विद्यार्थी भर्ना गर्ने म्याद (समय) नै सकियो, अहिले आएर भर्ना गर्नेृभनेको लगन पछीको पोते… ‘जस्तै भएको बताए ।
वि.सं. २०४८ सालमा स्थापना भएको निसीभुजी जनता क्याम्पसलाई जिल्लाकै सुविधा सम्पन्न स्मार्ट क्याम्पस बनाउने भनी गत वर्ष २०७५ साल मंसिर १५ गते बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव संचालन गरिएको थियो ।
उक्त महोत्सवबाट झण्डै १ करोड ९० लाख जति रकम संकलन भएको महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी त्यतिबेला नै सार्वजनिक गरेको थियो । तर उक्त महोत्सवबाट उठेको केही रकमले क्याम्पसको भवन निर्माणतर्फको पुरानो ऋण भुक्तानी गरिएको र केही रकम शिक्षकहरुको तलबभत्तामा खर्च भए पनि अझसम्म धेरै रकम उठ्न बाँकी रहेको क्याम्पस स्रोतले बताएको छ ।
श्रोत भन्छ, महोत्सवमा क्याम्पसको सहयोगार्थ विभिन्न तप्काका महानुभावहरुबाट बोलिएको रु १ करोड ९० लाख मध्य १ करोड ३० लाख भन्दा बढी रकम संकलन हुन बाँकी रहेको छ । उहाँहरुले बोलेको रकम जम्मा गरिदिन आदर पूर्वक स्मरण गराउनु पर्ने काम क्याम्पसले गर्नुपर्ने टड्कारो आवश्यकता छ ।
महोत्सवको समयमा धेरै चर्काे रकम चन्दा बोल्ने तर नदिनेहरुको संख्या निकै छ । बागलुङ ढोरपाटन शैक्षिक एवं धार्मिक महोत्सवको पहिलो दिनका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आफ्नो र नगरपालिकाका तर्फबाट रु ४१ लाख बढी रकम सहयोग गर्ने उद्घोष गरेका थिए । महोत्सवको चौँथो दिन २०७५ साल मंसिर १८ गते प्रमुख अतिथी रहेका बागलुङ जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद् देवेन्द्र पौडेलले क्याम्पसको भौतिक संरचना निर्माणको लागी सांसद विकास कोषबाट रु ४० लाख छुट्टाएको छु भन्दै आफ्नो व्यक्तिगत तर्फबाट रु ५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । उनले बोलेको उक्त रकमको प्रमाणपत्र तत्कालै प्रदान गरिएको थिया । नगरप्रमुख नेपालीले महोत्सवमा बोलेको रकम रु ४१ लाख ५ हजार, माननीय सांसद पौडेलले बोलेको रु ४५ लाख र व्यवस्थापन समितिका अध्यक्ष अर्यालबाट बोलेको २५ लाख, बडीगाड/ताराखोला गाउपालिकाका अध्यक्षहरुबाट बोलिएको रकम गरी झण्डै डेढ करोड रकम संकलन हुन बाँकी रहेको बुझिएको छ ।
सांंसद् क्षेत्र विकास कोषबाट क्याम्पसलाई दिने भनेको रु. ४० लाख ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसंंगको सल्लाहमा क्याम्पसलाई नदिएर बुर्तिबाङको खानेपानीमा रकमान्तर गरेर रकमको दुरुपयोग गरिएको चर्चा बुर्तिवाङमा छ ।
यसै क्षेत्रका मतदाताहरुको मत लिएर सांसद जस्तो जिम्मेवार र गरिमामय पदमा निर्वाचित भएका पौडेलको गैरजिम्मेवारी पूर्ण कार्यको तीब्र भत्सर्ना भैरह्को छ । आर्थिक अभावले धराशायी बन्ने अवस्थामा पुगेको निसीभूजी जनता क्याम्पसप्रति सांसद पौडेलको कुनै जिम्मेवारी छैन ? महोत्सवमा भेलाभएका हजारौँ जनसमुहको अगाडी सँसद विकास कोषबाट ४० लाख रकम छुट्टाएको छु भनेर भाषण गरेर भ्रमको खेती गर्न सुहाँउछ ? मान्यवार पौडेलज्यू, निसीभूजीका जनताको श्राप लाग्ला भनिरहेका छन स्थानीयबासी ।
उता महोत्सवमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अर्यालले रु १ लाख नगद सहित २४ लाल मुल्य बराबरको जग्गा प्रदान गर्ने घोषणा गरेकोमा जग्गा विक्री नभएर त्यत्तिेकै रहेको क्याम्पस प्रमुख आचार्यले बताए । क्याम्पसको नाममा जगा रजिष्ट्रेशन पास गरिदिन्छु भनेर अध्यक्षले भनिरहनु भएको छ, तर क्याम्पसका नाममा जगा पास गरेर लिएपछी उक्त जग्गा बिक्री वितरण गर्न समस्या पर्ने भएकाले त्यसो नगरिएको क्याम्पस प्रमुख आचार्यको भनाई छ ।
महोत्सवका अवसरमा क्याम्पसका लागी सहयोगको घोषणा गर्नु हुने बडीगाड र ताराखोला गाउपालिका तथा ढोरपाटन नगरपालिकाहरुबट समेत बोल रकम प्राप्त नभएको क्याम्पस प्रशासनले जानकारी दियो ।
ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीले आफु र धर्मपत्नीको नामबाट रु २१ लाख ५ हजार रुपयाँको अक्षय कोष स्थापना गर्ने घोषणा अनुसार उहाँको स्वामित्वमा रहेको ईमेज बचत सहकारीमा खाती खोली राखिदिएको र एक वर्ष पुगेपछी सो रकमको व्याज लिन आउने जानकारी दिनुभएको क्याम्पस प्रमुख आचार्यले बताए ।
ढोरपाटन नगरपालिका लगायत, बिभिन्न पालिकाहरुका विद्यालयहरु, सामाजिक संघसंंस्थाहरु, आमा समुह, दलित दुखी पीडितहरुलाई लाखौँ रकमको अक्षयकोष स्थापना गरिदिने, विद्यालयहरुमा शिक्षकको तलब दिने गरी राखिदिनुका साथै नगद आर्थिक सहयोग गर्दै आउनु हुने शिक्षाप्रेमी नगरप्रमुख नेपालीको आफ्नै घर अगाडीको निसीभूजी जनता क्याम्पसको यो दर्गति प्रति किन ध्यानाकर्षण हुन सकेन ? निसीभूजीबासीले बुझ्न सकेका छैनन् ।
अघिल्लो आर्थिक वर्षमा ढोरपाटन नगरपालिका अन्तरगत वडा नं. १ को विकास बजेटबाट क्याम्पसको लागि भनेर १८ लाख विनियोजन गरिएको थियो । क्याम्पसका तमाम समस्याहरुले गर्दा त्यो रकम पनि हात्तीको मुखमा जीरा जस्तै बन्न पुग्यो । त्यसपछि क्याम्पसका लागि कुनै आर्थिक सहयोग स्थानीय निकायले दिएको छैन ।
यतिबेला क्याम्पसको शैक्षिक अवस्था मात्र नभई आर्थिक अवस्था समेत अत्यन्तै नाजुक बनेको छ । शिक्षक कर्मचारीहरुको तलबभत्ता भुक्तानी गर्ने रकम समेत छैन । क्याम्पस संचालक समितिको लामो समयसम्म पूर्णकालीन बैठक समेत बस्न सकेको छैन । समितिको कुनै चासो र सक्रियता देखिएको छैन । कुनै सामान्य निर्णय गर्नु परेपनि समितिको बैठक पुस्तिका घरघरमै लगेर हस्ताक्षर गराइन्छ ।
उता स्थानीय सरकारले पनि यस क्षेत्रकै एकमात्र उच्च शिक्षा प्रदान गर्ने यस क्याम्पसको व्यवस्थापनमा कुनै चासो र चिन्ता देखाएको छैन । नगर प्रमुख स्वयं पनि क्याम्पस संचालक समितिको पदेन सदस्य रहने व्यवस्था छ । तर उनी अहिलेसम्म क्याम्पसको कुनै बैठकमा सहभागी भएका छैनन्, श्रोत भन्छ ।
महोत्वसवमा विभिन्न पदीय जिम्मेवारी लिएका कतिपय क्याम्पसका पूर्व संस्थापकहरु, संचालक समितिका पदाधिकारीहरु र विभिन्न राजनीतिक दलका नेताहरुले महोत्सवमा बोलेको चन्दा रकम समेत अझै दिएका छैनन् । बोलेको चन्दा नदिनेहरुमा विशेषगरी धेरै चन्दा रकम बोलेर महोत्सवको कार्यक्रममा प्रमुख अतिथि देखि सभानायक र विशिष्ट अतिथिदेखि अतिथिसम्म बनेका र गलाभरि माला पहिरिएर प्रमाणपत्र बुझ्ने व्यक्तिहरु रहेका छन् ।
विगतका दिनहरुमा पनि क्याम्पसले १० महिनासम्म शिक्षकहरुको तलबभत्ता भुक्तानी गर्न नसक्दा शिक्षकहरु आन्दोलित बनेका थिए । महोत्सवबाट उठेको केही रकमबाट जेनतेन गत असोज महिनासम्मको शिक्षक कर्मचारीको तलबभत्ता क्याम्पसले भुक्तानी गरेको छ तर अब भने तलबभत्ता भुक्तानी गर्ने स्रोत समेत देखिदैन ।
क्याम्पसमा अहिले १ सय १५ भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । क्याम्पसमा अध्ययन गर्ने अधिकांशा विद्यार्थीहरु विशेष गरी न्यून आर्थिक आय भएका गरिब परिवारका रहेका छन् । अध्ययनका लागि प्रति विद्यार्थी वार्षिक २५ हजारभन्दा बढी शुल्क क्याम्पसले लिंदै आएको छ । क्याम्पसले विद्यार्थीहरुबाट चर्काे शुल्क लिएको भन्दै विगतदेखि नै विद्यार्थीहरुले विरोध जनाउँदै आएका छन् । अर्काेतर्फ क्याम्पसमा खेलकुद सामाग्री र सामान्य पुस्तकालयको समेत व्यवस्था छैन । क्याम्पसमा अध्यापनका लागि पाठ्यपुस्तक समेत शिक्षक आफैले किन्नु पर्ने बाध्यता रहेको छ ।
उता शिक्षहरुले पनि विगतमा आंशिक शिक्षकले प्रति पिरियड रु. ६ हजारमा अध्यापन गराउँदै आएकोमा पछि संचालक समितिले नै घटाएर ४ हजार गराएको थियो । ५/६ वर्ष वितिसक्दा समेत उक्त तलब मान बढ्न सकेको छैन । यस विषयमा आंशिक शिक्षकहरुले आफ्नो तलब भत्ता न्यूनतम पनि प्रति पिरियड ६ हजार रुपैयाँ हुनुपर्ने भन्दै विगतदेखि नै क्याम्पस संचालक समितिमा आफ्ना मागहरु राख्दै आएपनि त्यसको कुनै सुनुवाई हुन सकेको छैन । आंशिक शिक्षकहरुले नै क्याम्पस धानेको अवस्था छ । अहिले क्याम्पसमा दैनिक ८७ पिरियड पढाइ हुने गरेकोमा क्याम्पसमा जम्मा २ ओटा मात्र शिक्षकको अस्थायी दरबन्दी हुनुले क्याम्पसको शैक्षिक व्यवस्थापन कस्तो होला भन्ने कुराको जोकसैले सहजै अनुमान गर्न सकिन्छ । हाल क्याम्पसमा पूर्णकालीन र आंशिक गरी ३८ जना शिक्षक कर्मचारीहरु कार्यरत छन् भने क्याम्पसको मासिक करिब ५ लाखभन्दा बढी नियमित खर्च रहेको छ ।
बागलुङ पश्चिम क्षेत्रको शैक्षिक इतिहास बोकेको एक मात्र उच्च शिक्षा प्रदान गर्ने निसीभुजी जनता क्याम्पसको शैक्षिक अवस्थाप्रति सरोकारवालाहरु किन मौन छन् ? स्थानीय सरकार, राजनीतिक दल र विद्यार्थी संगठनका नेताहरु कुन गुफाभित्र छन् ? गत वर्ष क्याम्पसले संचालन गरेको शैक्षिक तथा धार्मिक महोत्सवको लक्ष्य अनुसार किन काम हुन सकेन ? ठूलाबडा व्यक्तिहरुले बोलेको चन्दा रकम समयमै भुक्तानी हुनपर्छ कि पर्दैन ? अध्यापन हुँदै आएका क्याम्पसका शैक्षिक संकाय र विषयहरुको पढाइलाई थप व्यवस्थापन नगरी एकाएक संकाय (फ्याकेल्टी) हरु नै हटाउँदै जानु कत्तिको सान्दर्भिक हुन्छ ? यसबारेमा बहस, छलफल र पैरबी हुनुपर्छ कि पर्दैन ? संस्थाको शैक्षिक व्यवस्थापन गर्नु स्थानीय सरकार र सरोकारवालाहरुको दायित्वभित्र पर्छ कि पर्दैन ? आज यी सबै प्रश्नहरुको जवाफ आम सचेत नागरिकले खोजिरहेका छन् । अझै यस्तै अवस्था रहिरहने हो भने क्याम्पस नै धराशायी हुने स्थिति नआउला भन्न सकिदैन । के स्थानीयबासीहरुले आशा र परिकल्पना गरेको सुविधा सम्पन्न स्मार्ट क्याम्पस यही हो ? आम सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।
यी लिंकहरुपनि पढौँँ
निसीभूजी जनता क्याम्पसलाई नगरप्रमुख नेपाली व्दारा रु ४१ लाख सहयोग गर्ने घोषणा !
शैक्षिक तथा धार्मिक महोत्सवमा रु १ करोड ९० लाख बढी रकम संकलन !
क्याम्पसको भौतिक संरचना निर्माणको लागी रु ४० लाख छुट्टाएको छु- सांसद पौडेल
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल अर्याल दम्पतिबाट रु २५ लाख २५ हजार सहयोग दिने घोषणा !