Sorry, that menu does not exist.
 

बडीगाड नदीको लक्ष्मीकुण्डघाट मोटरेबल पुल एक महिनाभित्र सन्चालनमा आउने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ पुस १४ । बुर्तिबाङ बजार नजिकै निर्माण सुरु भएको बडीगाड नदीको लक्ष्मीकुण्ड घाट मोटरेवल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मोटरेबल पुल निर्माण नहुँदा बडीगाड नदी वारपार गर्न समस्या झेली रहेका निसीभूजी क्षेत्रका जनताले यो पुल निर्माण भएपछी यस समस्याबाट उन्मुक्ति पाउने छन् ।

बडीगाड नदीको लक्ष्मीकुण्ड घाटमा मोटरेबल पुल निर्माणार्थ २०७२ सालमा टेण्डर आव्हान गरिएको भएतापनी २०७३ साउन १० / ११ गतेको भीषण बाढीका कारण बडीगाड नदीले रुट परिवर्तन गरेपछि उक्त आयोजनालाई थप परिमार्जन गरी २०७४ माघ ९ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।

निर्माणाधीन सो मोटरेवल पुल एक महिना भित्र (माघ १५ सम्म) निर्माण सम्पन्न गरी सवारीका साधन सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको दिवा निर्माण सेवा प्रालिका साईड इन्चार्ज सुरेश वजगाँईले जानकारी दिए । कुल ६० मिटर लम्बाई रहेको उक्त पुलको विचमा स्पाम निर्माण गरिएको छ । बुर्तिवाङ बजार खण्डमा ४० मिटर र पारी तारीखेत खण्डमा २० मिटर गरी ६० मिटर लामो उक्त पुल साढे ६ करोड लागतमा निर्माण भइरहेको छ । यो पुल निर्माण भएपछी बागलुङको निसी ,भुजी तथा रुकुम क्षेत्रमा सञ्चालन हुने सवारीका साधन सिधै आवत जावत गर्ने छन् ।

सो निर्माणाधीन मोटरेबल पुलको तारिखेत बजार पारीको भागमा ४ मिटर ढलान र साईडमा ग्याविन भर्ने काम बाँकी रहेको हुँदा अबको एक महिनामा काम सम्पन्न भएर सवारी साधनहरु सिधा सञ्चालनमा आउने इन्जिनीयर सुरेश भट्टराईले बताए ।

साईड इन्चार्ज बजगाँइका अनुसार असोज महिना सम्ममा सवारी सञ्चालनमा आउने गरी काम हुने बताईएपनी बर्षातका कारण केहि ढिलाई भएको बताए ।

उता मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत सेरामा निर्माण भइरहेको मोटरेवलको काम भने यसबर्ष नसकिने देखिएको छ । डिवा निर्माण सेवाले नै जिम्मा पाएको उक्त पुलको दुई तर्फको विम (पिल्लर) निर्माण भइसकेको अवस्था छ तर एकै कम्पनीले दुबै पुलको जिम्मा लिएका कारण पहिलो प्राथमिकता बजारको पुललाई दिएकाले सेराघाटको पुल निर्माणमा केहि ढिलाई भएको बताईएको छ । माथिल्लो पुल निर्माणको सबै काम सकेर मात्र तल्लो ४० मिटर लामो पुलको काम हुने इन्जिनीयर भट्टराईको भनाई छ ।

बडीगाड नदीमा मोटरेबल पुल निर्माण नहुँदा वर्षातको समयमा झण्डै ६ महिना सवारी साधनहरु नदी वारपार गर्न नसक्दा यस भेगका जनताले निकै सास्ती खेप्दै आएका छन् । वर्षातको समय आउनु पूर्व नै केहि साना ठुला सवारी साधनहरु बडीगाड नदी पारी लगेर राख्ने र यात्रुहरु बडीगाड नदीको झोलुंगे पुल तरेर नदी पारी राखिएका सवारी साधन प्रयोग गर्दै गन्तव्यमा जाने आउने गर्दै आईरहेका छन् ।

सेराघाटको निर्माणाधीन मोटरेबल पुल ।
बडीगाड नदीको जलस्तर घटेपछी मात्र सवारी साधनहरु नदीबाटै ओहोर दोहोर गर्ने गर्छन् । हिँउदको समयमा समेत नदीको पानीबाटै घाक बनाएर जोखिम मोलेर सवारी साधन नदी वारपार गर्दै आएका छन् । लक्ष्मीकुण्ड घाटमा निर्माणाधीन मोटरेबल पुल सम्पन्न भएपछी निसीभुजीवासीलाई ठुलो राहत मिल्छ नै बडीगाड नदीको सेराघाट (मध्यपहाडी लोकमार्ग) को मोटरेबल पुल निर्माण नहुँदा सम्म लोकमार्गमा चल्ने सवारी साधनहरुका लागीपनि राहत पुग्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !