केशबराज क्षेत्री,बरेङ २०७६ पुस १५ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर बागलुङले हुग्दिशिरका असल बुहारी,जेष्ठ नागरिक र सुत्केरीमहिलालाई सम्मान गरेको छ ।
सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक संघ सस्थामा आवद्ध, पारिवारिक मेलमिलाप , परिवारका सदस्यको उचित रेखदेख, सफा घर परियार, शैक्षिक योग्यता, अतिथि सत्कार, बालबालिका शिक्षा सबैमा सक्षम महिलालाई पालिकाले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
एक कार्यक्रमकाबीच मङगलबार वडा नम्बर २ हुग्दिशिरका ९ असल बुहारीलाई सम्मान पत्र र एक्एक वटा थर्मस द्धारा पालिकाले सम्मान गरेको हो ।
हुग्दिशिर वडाबाट असल बुहारीका रुपमा टिकाकुमारी खत्री(काफलबोट),पृया आले(दलेङ),टिकाकुमारी थापा(बरेङ),देवि विक(सिग्धारा),देवि शर्मा(भेडिखोर),हरिमाया श्रीस(बराहकोट),उजेली विक(बराहकोट),सम्झना थापा(गुरुङ्धारा),रेमकला शर्मा(काल्ने) पालिकाद्धारा सम्मानित भएका छन् ।
त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्ष माथिका ६० जना जेष्ठ नागरिकलाई पनि उपहार सामाग्री सँगै नि:शुल्क स्वास्थ्य परीक्षण सहित आर्युवेद औषधी समेत वितरण गरि सम्मान गरेको छ ।
१० जना सुत्केरी महिलालाई भने रातो भाले वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले बताए । बुधबार वडा नम्बर ३ बाटाकाचौरमा सोही कार्यक्रम गरिने गाउँपालिकाको कार्यालयले जानकारी गराएको छ ।