Sorry, that menu does not exist.
 

रायडाँडामा सन्चालित निःशुल्क स्वास्थ्य शिविरमा २ सय २० सेवाग्राही लाभान्वित !

बागलुङ २०७६ पुस १६ । बागलुङ नगरपालिका र ११ नं वडा कार्यालयको संयुक्त आयोजनामा रायडाँडाबासीलाई लक्षित गरी पुस १५ गते आयोजना गरिएको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय २० जनाले सेवा लिएका छन । शिविरमा नाक कान, घाँटी, स्त्रीरोग, र मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ चिकित्सक सहितको टोलीले सेवा प्रदान गरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

शिविरमा ६८ जना महिलाहरुको पाठेघरको स्वास्थ्य जाँच गरिएको थियो । ती मध्ये ३० जनामा पाठेघर खस्ने सम्भावना रहेको र ३ जना पाठेघरको क्यान्सरको शंकास्पद विरामी भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । शिविरमा धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टण्ट डा. शैलेन्द्र वि पोखरेल, स्त्रीरोग विशेषज्ञ डा. सौगात कोईराला, मनोरोग विशेषज्ञ डा. धिरेन्द्र पौडेल, डा नारायण प्रकाश शर्मा, र रविन बाबु पौडेल लगायत चिकित्सकहरुको उपचारमा सहभागिता रहेको थियो ।

शिविरको उदघाट्न बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत डण्डपाणी शर्माले गरेका थिए । उदघाट्न पश्चात बोल्दै शर्माले रायडाँडा बागलुङ नगरपालिकाको पनि दुर्गम क्षेत्रमा पर्ने हुँदा यहाँका जनतालाई लक्षित गरी शिविरको आयोजना गरेको बताए । उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउने योजना अगाडी सारेको बताए ।

कार्यक्रममा निमित्त मेसु डा पोखरेलले शिविरको बारेमा जानकारी गराएका थिए । कार्यक्रम वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता, नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालको स्वागत र सिनियर अहेब डिल्ली प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !