कमल पौडेल, बागलुङ (बडीगाड) २०७६ पुस १७ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले बडीगाड गाउपालिका ५ भीरकटेरी जंगलमा रहेको चमेरे गुफा (करुणा चमेरे गुफा) अन्य गुफाहरु भन्दा फरक र ऐतिहासिक भएको चर्चा गर्दै एक पटक घुम्न आउन सवैलाई आग्रह गरेका छन् ।
बुधवार चमेरे गुफाको अवलोकन प्रवर्धन तथा प्रचारको लागी यहाँ आयोजित नेपाल भ्रमण वर्ष २०२० को स्वागत कार्यक्रममा बोल्दै उपप्रमुख भुसालले बागलुङ जिल्लाको पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रहरु नयाँ स्वादको हुने बताए ।
गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले चमेरे गुफा बडिगाडको निकै ठूलो सम्पत्ति भएको भन्दै कुनै पनि पर्यटकीय स्थलले सवैभन्दा वढि फाइदा स्थानियलाई पुरयाउने दावि गरे । स्थानीय ऐतिहासिक स्थल, संस्कृतिको संरक्षण स्थानियले गर्नुपर्ने भन्दै पाईजाले राज्यले सवै गरिदिन्छ भन्ने आशा र भ्रममा नपर्न आग्रह गर्दै सवै एक जुट भएर लाग्नुपर्ने बताए । उनले चमेरे गुफामा ठूलो लगानी गरिसकेको भन्दै त्यसको संरक्षणको जिम्मा स्थानियको भएको बताए ।
पर्यटन विकास समिति गण्डकी प्रदेशका सदस्य इन्जिनियर खिमानन्द कँडेलले चमेरे गुफा आफुले कल्पना गरेभन्दै धेरै राम्रो रहेको उल्लेख गर्दै ठुलो पर्यटकीय सम्भावना रहको स्थल (गुफा)बताए ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले चमेरे करुणा सहित अन्य धेरै गन्तव्य बडीगाडमा रहेको भन्दै सवैको ध्यानाकर्षण हुनेपर्ने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा बडीगाड गाउँसभाका सवै सदस्यहरु सहित, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, पत्रकार, विभिन्न सामाजिक अगुवाहरुको समेत सहभागिता रहेको थियो। सो औपचारिक कार्यक्रम अध्यक्ष पाईजाको अध्यक्षता, वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
बडीगाड गाउँपालिकाका वडा नं. १ मा दगाकोत सहित धार्मिक पर्यटन, सोरठी, वडा नं. २ मा आकाशे पुल, दरम र बडीगाडको संगम स्थल लगाएत क्षेत्र, हेम्फै नाच, वडा नं. ३ मा देवी ढोका, गरङ्चौर, घाटु नाच, वडा नं. ४ मा वौद्ध गुम्वा, लोङ्गा लेक, वडा नं. ५ मा चमेरे गुफा, थानापति मन्दिर, केश पोखरी, भजन, वडा नं. ६ मा सुरकुँडेको शिर, छिस फाँट, सोरठी भैलो, वडा नं. ७ मा थामचौर, गुरुङ संस्कृति, वडा नं. ८ मा ढुंगा खानी, फलाम खानी, भेँडी गोठ, शिवधुरी, वडा नं. ९ मा पञ्चेवाजा, मालारानी, वडा नं. १० मा गंगरे, सालैजो आदि, हुन् भने मह शिकारको ठुलो सम्भावना रहेको क्षेत्र हो । बडीगाड नदीको तटमा अवस्थित खार, खर्वाङ, खौलार, भिङगिठे सुन्दर क्षेत्रहरु हुन्।
यस्तो छ, चमेरे गुफा बारे किम्बदन्ती
केहि सय बर्ष अगाडि उक्त गुफामा दामोदर नाम गरेका एक तपस्वीले गुफा भित्र अनवरत रुपमा तपस्या गर्ने गर्दथे त्यस्तो भिर र अनकन्टार जङ्गल भित्र एक्लै बस्ने र तपस्या गर्ने भएको हुदा उनलाइ स्थानियहरु ‘भूत’को संज्ञा दिन्थे, जसको कारण अहिले सम्मपनि केही मानिसहरु गुफालाई ‘भूतको गुफा’ भन्ने गर्दछन ।उक्त तपस्वी ऋषीले धेरै लामो समयपछी तपस्याको माध्यमबाट अदभूत शक्ति हासिल गरे र उनले नजिक रहेको ठाडो खोलाको नाम गोपिनी खोला राखे, जुन अहिले पनि सोही नामले परिचित छ। शक्ति हासिल गरेपछी उनी कहिले देखा पर्ने त कहिले गुप्त बासमा जाने गर्दथे केही समय पछि स्थानियले तपस्वी सङ्गबाट सुनको पनिउ मागेर ल्याइ फिर्ता नगरी लुकाइदिए पश्चात् उनी मानव जाति प्रती रुष्ट भइ त्यही गुफामा अन्तर्ध्यान भइ बिलीन भएको श्रुति स्मृति रहेको छ । तपस्वी अन्तर्ध्यान भएको करिब ६०/७० बर्ष पश्चात् गुफा भन्दा करिब १० किलोमिटर माथी केशरपोखरी भन्ने ठाउबाट पदम घिमिरे ११ दिन सम्म अन्तर्ध्यान भइ हराएपछी खोज्दा त्यही चमेरे गुफामा भेटिएको र उनका सन्तान हालसम्म पनि सोही भिरकटेरामा रहेको र उनका शाखालाई बराहको सन्तान भन्ने गरिएको स्थानियको दाबी छ।