Sorry, that menu does not exist.
 

तमानमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु : चार नाल भरुवा बन्दुक सहित ९ जना प्रकाउ !

छविलाल पाण्डे, बुर्तिवङ २०७६ पुस २५ । तमानखोलामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । तमानखोला गाउँपालिका–१ बोंगादोभानका ४७ बर्षिय ओमबहादुर घर्तीलाई बिहिवार बन्दुकको छर्राले लागेको थियो । बन्दुकको छर्राले लागेर गम्भिर घाईते भएका घर्तीलाई उपचार लागि सदरमुकाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तमानखोला १ को थामडाँडा जँगलमा सिकार खेल्न गएका १० जना मध्ये घर्तिलाई गोली लागेर मृत्यु भएको बताइएको छ । घटना बाँदर लखेट्न जाँदा आफैले चलाएको गालीको छर्राले लागेको भनिएपनी आफनै साथीले चलाएको गोली लागेर घर्तिको ज्यान गएको हुनसक्ने प्रहरीले बताएको छ ।

आज इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक सुरज खड्का सहित खटिएको प्रहरी टोलीले घटनास्थलमै पुगि ४ नाल भरुवा बन्दुक सहित ७ जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेहरुमा पृथि बहादुर घर्ती, मिनबहादुर दमाई, देबबहादुर पुन, प्रेमबहादुर पुन, दुर्गा बहादुर खत्री ,पल्सबहादुर बुढा, खड्के दमाईलाई प्रकाउ गरीएको र घाईते घर्तीलाई लिएर उपचारार्थ धौलागिरी अस्पताल जाने दुईजना लोकबहादुर बुढा र भेषबहादुर बुढा दुई जना जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बताइएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको र प्रकाउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय पठाइने प्रहरी निरीक्षक सुरज खड्काले बताए । प्रकाउ परेका ९ जना तमानखोला वडा नं.१ र ३ का रहेका बताइएको छ । मृतक घर्तीलाई बिहिबार दिउँसो २ बजे बन्दुक पड्केर लाग्दा घाईते भएको स्थानीयले बताएका छन् । उनको बाँयाँ हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो । घटना लगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगेपनी राती पौने नौ बजे अञ्चल अस्पतालले मृत घोषणा गरेको बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले जानकारी दिए । मृतक घर्तीको शव अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । आवश्यक अनुसन्धान र पोष्टर्माम पछि उनको शवलाई परिवारको जिम्मा लगाईने प्रहरीले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !